१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

हेर्न बाँकी ओली युग

सामाजिक सञ्जालदेखि हरेक मिडिया मोदीमय भए। मोदीको आगमन, जनकपुरदेखि मुक्तिनाथसम्मको यात्रा, पशुपतिनाथको दर्शन, यी सबै कुराले नेपालीलाई कुनै उत्साहित बनाएन ।पहिलेजस्तो मोदीको नेपाल भ्रमणलाई अधिकांश जनताले कुनै चासोकारूपमा पनि लिएनन्। 

भूकम्पका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो मात्रामा पत्रकारसहित आएका विमान होल्ड गरेर अन्य ठाउँबाट सहयोग बोकेर आएका विमानहरूलाई अवतरण गर्ने अवसर नदिनु, समय गुज्रेका सामान वितरण गर्नुले एक प्रकारको नकारात्मक छाप परिसकेको थियो भने तत्कालै गरिएको नाकाबन्दीले झनै नेपालीलाई भारत विरोधी बनायो । नेपाल र भारतबीचको सम्बन्ध कहिल्यै पनि त्यति राम्रो रहेन । भारतले कुनै न कुनै बहानामा नेपालमाथि हस्तक्षेप गर्‍यो र त्यसको अवसर प्रदान गरे हाम्रा सत्तासीनहरूले। भारतको अगाडि पटकपटक झुक्ने प्रवृत्तिले नेपाललाई प्रत्यक्ष रूपमा असर पर्‍यो जुन स्वाभिमानी नेपाली जनताले चाहेका थिएनन् र चाहेका छैनन्।

अहिले पनि नेपाल आउँदा मोदीले ल्याएको ठूलो संख्याका सुरक्षाकर्मीका कारण नेपाली सुरक्षाप्रतिको अविश्वास कायम नै देखियो । मुक्तिनाथमा नेपाली सेनालाई अनुमति नभएको स्थानमा भारतीय सेना खुलेआम घुम्नु, मन्दिर अगाडि निषेधित क्षेत्रमा फोटो खिच्नु र नेपाली पत्रकारलाई रोक लगाइको ठाउँमा भारतीय पत्रकारले प्रत्यक्ष प्रसारण गर्नु, यी सब कुराहरूले नेपालीलाई झनै आक्रोशित बनाइदियो । मोदीको राजकीय भ्रमण भने तापनि धार्मिक भ्रमणभन्दा बढी केही देखिएन। उनले जे गरे, जे बोले उनको व्यवहारले पहिलाभन्दा मोदी फरक रूपमा प्रस्तुत भए, धेरै नरम देखिए उनी । उनलाई थाहा थियो, नेपाली जनता उनीप्रति आक्रोशित छन् । 
अघिल्लो पटक ओली सरकार नाकाबन्दीको समयमा पनि भारतसँग नझुकेर अडिग भयो । भारत भ्रमणमा जाँदा कुनै पनि त्यस्तो काम भएन, जसले नेपालीजनताले उनलाई नराम्रो भन्ने ठाउँ पाऊन्। उनी सच्चा नेपाली नेताको छवि बनाउन सफल भए । उनलाई देश विदेशमा रहेका हरेक नेपालीले साथ दिए । त्यही उनको बलियोपनले अहिले ओली पुनः सरकारमा आउन सफल भए। जनताले ओलीमाथि विश्वास गरेकै हुन् । जनताका नजरमा ओली विकासका पक्षधर बनिसकेका थिए, राजनेता बनिसकेका थिए, त्यसैले पनि उनीमाथिको विश्वासकै कारण एमालेले चुनावी जित हात पार्‍यो ।केही गर्न चाहनेलाई जनतालेसाथ दिन्छन् भन्ने उदहारण पनि हो । जनताले मात्र होइन, विभिन्न पार्टीहरूले पनि ओलीको पक्षमा बोले। अरूविकल्प पनि थिएन। 

तर अहिले मोदीको आगमन र उनको स्वागतमा गरिएका कुराहरूले ओली सरकारको गरिमा बढेको छैन। यसलाई नकारात्मक बनाउने काममा भने अन्य पार्टीका कार्यकर्ताहरू नै बढी सक्रिय रहे । सामाजिक सञ्जाल या मिडियामार्फत यस्ता विरोध आउनु स्वाभाविक पनि हो, हाम्रो परम्परा नै बनिसकेको छ, सकारात्मकलाई भन्दा नकारात्मक कुरालाई बढी प्राथमिकता दिने । कांग्रेस नेता गगन थापाले ओलीसरकारको घुँडा च्यातियो भन्ने जस्ता अभिव्यक्ति पनि दिन भ्याए । नाकाबन्दीका बेला नाकाबन्दी होइन भन्ने कांग्रेसले पनि अहिले आएर भारतले नाकाबन्दी लगाएको थियो भन्ने कुरा स्वीकारेको छ । एकातर्फ हेर्दा पाहुनालाई सत्कार गर्दैमा घुँडा च्यातिने भन्ने कुरा पक्कै होइन तर अर्काले गरेको काम गलत र आफूले गरेको सही भन्ने प्रवृत्ति भने ओलीसरकारमा होस् या अन्य कुनै पनि नेताले छोड्न नसकेको देखियो। 

नेपाली समाज अहिले धेरै विकसित बनिसकेको छ, अब जनताले पार्टी होइन, सक्षम व्यक्तिको चाहना राखेका हुन्, त्यो चाहनामा कत्तिको खरो उत्रन सक्छन् ओली,त्यो हेर्न भने बाँकी नै छ । अहिले त ओली युगको सुरुवात मात्रै भएको छ, केही सानातिना गल्ती औँल्याएर त्यसैलाई लिएर अगाडि बढ्दा विकासको गति धिमा हुनजान्छ । अर्को कुरा, अहिले सरकारले सबै पक्षलाई मिलाएर अगाडि बढ्नु छ र हरेक निकायलाई बलियो बनाउनु छ, नीति–नियम बनाउनु नै बाँकी छ, यी सबै कुरामा सरकारलाई पनि चुनौती छ । सबै कुराहरू त बाँकी नै छन्, यति छोटो समयबाट नै सरकारको विरोध गर्न थाल्ने हो भने हामीले सुन्दर र सक्षम नेपाल देख्ने सपना केवल सपना नै रहन्छ । हामी नौ महिने सरकारबाट दिक्क भइसकेका थियाैँ । स्थायी सरकार बनेमा देशले गतिलिने हाम्रो विश्वास थियो र अन्ततः हामीले स्थायी सरकार पनि पायौँ। 

सरकारलाई काम गर्न समय चाहिन्छ र समयसँगै जनता र अन्य राजनीतिक पार्टीको पनि साथ चाहिन्छ । अहिलेको अवस्थामाओली सरकारबाट भएका गल्ती सच्याउने अवसर दिएर, सुझाव दिएर भएपनि निरन्तर रूपमा काम गर्ने अवसर भने नेपाली जनताले मात्र होइन,विकास चाहने अन्य पार्टीहरूले पनि ओलीलाई मौका दिन आवश्यक छ । 

 

प्रकाशित: १३ जेष्ठ २०७५ ०५:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App