१५ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार राति उड्ने क्रममा मलेसियाली विमान मालिन्दो एअर चिप्लिएर धावनमार्गबाट चहुरमा पुगेपछि अवरुद्ध हवाई यातायात मुलुकका निम्ति एउटा ध्यान दिनुपर्ने पाठ हो । र, यस किसिमको घटना यही नै पहिलो होइन।

२०७१ फागुन २० मा टर्किस एयरलाइन्सको जहाज दुर्घटना हुँदा केही दिन विमानस्थल यसैगरी रोकिएको थियो । यसपटक १३ घन्टाभन्दा बढी समय मालिन्दो चहुरतिर गएपछि विमानस्थल अवरुद्ध भएको छ । विमानस्थल खुलाउन टर्किस जहाज दुर्घटना हुँदा भन्दा कम समय लागे पनि यतिका लामो समय अन्तर्राष्ट्रिय आवागमन अवरुद्ध हुनु आफैंमा असहज परिस्थिति हो।

हवाई उडान अवरुद्ध हुँदा जरुरी कामले गन्तव्यमा जान र आउन लागेका व्यक्तिलाई असजिलो त तुल्याउँछ नै त्यो भन्दा खतरनाक एकमात्र विमानस्थलमा लामो समय अवरुद्ध हुनुलाई सामान्य अवस्थाका रुपमा चित्रण गर्न सकिँदैन । यही बेला मुलुकमा अन्य प्राकृतिक विपत्ति पर्यो वा अन्य कुनै भवितव्यको अवस्था आयो भने झन् ठूलो क्षति हुन्छ।

२०७२ वैशाख १२ मा भूकम्प आउँदा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु हुँदा उद्धार कार्यमा अन्तर्राष्ट्रिय सहयोगीहरूलाई आइपुग्न सहज भएको थियो । घटनाको केही घन्टामै भारतीय उद्धारकर्ताहरू त्रिभुवन विमानस्थलमा आइपुगको सुखद स्थिति त्यो बेला अनुभव भएको पनि हो।   

त्रिभुवन विमानस्थलको सुधारमा भइरहेको ढिलाइ चिन्ताको विषय हो। मालिन्दो विमानले धावनमार्ग छोडेर चहुरमा जाँदा उत्पन्न भएको अहिलेको परिस्थितिबाट पाठ सिकेर वैकल्पिक विमानस्थल निर्माण र विस्तारलाई तीव्रता दिन सरकार गम्भीरतापूर्वक लाग्नु आवश्यक छ।

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा वा अन्य विषम परिस्थितिमा मुलुकसँग अन्तर्राष्ट्रिय सम्पर्कको जीवनरेखा टुट्ने गरेको छ । टर्किस विमान दुर्घटना हुँदा त्यसलाई सार्न नपाएका कारण केही दिनसम्म त्यसले हाम्रो हवाई उड्डयन क्षेत्रलाई नकारात्मक प्रभाव पारेको थियो । मालिन्दोका कारण यात्रु सकुशल रहे पनि यसले हाम्रो उड्डयन क्षेत्रलाई भने अवश्यै नकारात्मक प्रभाव पारेको छ।

हवाई यातायात अवरुद्ध भएको १३ घन्टामा आउने र जाने करिब एक हजारको यात्रा प्रभावित हुन पुगेको छ । यस्तो अवस्था आउँदा चाँडोभन्दा चाँडो आवागमन खुलाउन आकस्मिक कामको तयारी पनि विमानस्थल व्यवस्थापनले गर्नुपर्ने देखिएको छ । त्यो तयारी नहुँदा १३ घन्टा लगाएर विमानस्थल खोल्दासमेत राम्रै काम गरेको भनेर गर्व गर्नुपर्ने अवस्था आउँछ । यथार्थमा यसलाई त्यसरी सहज रुपमा लिनु उचित हुन्न । पक्कै पनि हाम्रो स्रोतसाधनका आधारमा यसलाई चाँडै खुलाएको मानिएला पनि । तर, यस्ता विषम परिस्थितिको सामना कसरी गर्ने भन्ने तयारी गरेको देखिएन।

एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदा यस्तो असजिलो अवस्था आउन सक्छ भनेर थप केही अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र विस्तारमा मुलुक लागे पनि अपेक्षित परिणाम आउन सकेको देखिएको छैन । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल विस्तार कार्यमा अनियमितता भएका समाचार सार्वजनिक भइरहेका छन् । त्यसैगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल विस्तारले पनि तीव्रता पाउन सकेको छैन । बाराको निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमास्थल पनि उस्तै अलमल छ । हामीभन्दा पनि धेरै साना मुलुकले वैकल्पिक विमानस्थल व्यवस्थापन गरेको अनुभव छ । सिंगापुरजस्तो एउटा सहरमै सीमित ‘सिटी स्टेट’ ले समेत वैकल्पिक विमानस्थल राखेको छ।

हामीले भने सम्भावित आकस्मिकताका बारेमा खासै ध्यान पुर्याउन सकेको देखिएको छैन । त्रिभुवन विमानस्थलको सञ्चालनबाट नागरिक उड्डयन प्राधिकरणले कमाई गर्ने र त्यसैबाट कर्मचारीलाई लाभांश ख्वाउनसमेत खोजेका समाचार बेलाबेलामा सार्वजनिक हुन्छन् । वास्तवमा नियामक निकाय र सेवा प्रदायकको भेद नहुँदा अहिलेसम्म त्यसले अपेक्षित परिणाम दिन सकेको छैन । नागरिक उड्डयनसँग विमानस्थल व्यवस्थापनलाई छुट्याउनु र तदनुकूल सञ्चालन गर्नु आवश्यक छ।

विमानस्थल व्यवस्थापनको कामसमेत नियामक नागरिक उड्डयनकै मातहत राख्दासमेत त्यसको काममा व्यवसायिकता आउन नसकेको देखिएको छ । त्रिभुवन विमानस्थलको सुधारमा भइरहेको ढिलाइ आफैंमा चिन्ताको विषय बन्ने गरेको छ । मालिन्दो विमानले धावनमार्ग छोडेर चहुरमा जाँदा सिर्जना भएको अहिलेको परिस्थितिबाट पाठ सिकेर वैकल्पिक विमानस्थल निर्माण र विस्तारलाई तीव्रता दिन सरकार गम्भीरतापूर्वक लाग्नु आवश्यक छ।

प्रकाशित: ९ वैशाख २०७५ ०६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App