१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

आखिर जीवन के हो ?

एकजना साथीले कुरैकुरामा प्रश्न तेर्‍स्याए– ‘जीवन के हो ?’ मैले पनि तुरुन्तै जवाफ फर्काएँ– ‘एक सम्झौता हो।’ जीवन जिउने सम्झौता। जो नवीकरण पनि नहुने, सच्याउन पनि नमिल्ने। जतिसक्दो लामो समय जिउनका लागि आफैँ प्रयत्न गर्नुपर्ने। आफ्नो जीवनलाई आफैँ तन्काउन सक्नुपर्ने। नभए परमधामको यात्रा, यमलोकको स्थायी बसोबास।

धेरै समयपछि त्यो कुरा सम्झदैछु आज। मानिसले जिउनका लागि आफैँ प्रयत्न गर्नुपर्छ। नभए एउटा नवजात शिशुलाई भोक प्यास लाग्दा अनि शरीरका कुनै अंगमा पीडा हुँदा रुनुका साथै अन्य प्रतिक्रिया व्यक्त गर्न कसले सिकाउँछ ? यस्ता प्रारम्भिक ज्ञान साथै लिएर आएका हुन्छन् नवजात शिशुले जन्मँदै। लाग्छ सृष्टिकर्ताले सबथोक मिलाएका छन् यो लोकमा। आफ्नो अस्तित्वको रक्षा पूरापुर आफैँ गर्नुपर्ने। कसैले नसिकाए पनि। आफ्नो जीवन कति वर्ष लामो हुन्छ भन्ने कसैलाई थाहा हुँदैन। तर पनि निर्धक्क बाँचिरहेका हुन्छौँ हामी सामान्य अवस्थामा। सामान्य दिनचर्या चलिरहेकै हुन्छ। एउटा कुरा,जीवन कसरी जिउने भन्ने जानेका मानिस दीर्घायु हुन्छन्। जुन हामीले देखेकै कुरा हो।

दीर्घ जीवनको मान्यतालाई बेवास्ता गर्दै क्षणिक मोजमस्तीमा डुबेका दुव्र्यसनी मानिसको जीवनलीला चाँडै सकिएको पनि नदेखेको होइन। दुश्चरित्र, दुव्र्यसन खराब आचरणले मानिसको स्वास्थ्यमा पनि नकारात्मक असर गर्छ। शुद्ध आचरण, स्वच्छ आनीबानी, सकारात्मक सोच अनि व्यवस्थित जीवनयापन दीर्घायुका लागि अपरिहार्य कुरा हुन्। जुन कुरा एक व्यक्तिले आफ्नो जीवनमा स्वयं निर्धारण गरेको हुन्छ।

आफ्नो जिउने तौरतरिका आफैँले बनाउने हो। कतिपय मानिसले भिन्नभिन्न आचरण र आनीबानी अरूबाट सिकिरहेको हुन्छ। चाहे त्यो राम्रो होस् वा नराम्रो। राम्रो शिक्षादीक्षा, सत्संगले राम्रै सिकाउँछ, नराम्रो संगतले नराम्रै। जीवन जिउनु पनि एक कला हो। यसमा विभिन्न रसरंग हुन्छन्। सबै रसरंगमा भिज्दै जीवन सुखमय बनाउनु नै सफल जीवन हो। एक मानिसले आफ्नो जीवनकालको पूरा समय सुखदरूपमा व्यतीत गर्न पाउनु नै उसकोे जीवनको सफलता हो भन्ने लाग्छ। त्यो नै उसका लागि परम सुख हो।

सुखको परिभाषा व्यक्तिपिच्छे फरक हुन सक्छ। मानिस मात्र हैन, आयु त एउटा राष्ट्र वा मुलुकको पनि हुने रहेछ। यो संसारमा कति नयाँ मुलुक जन्मेका अनि कति मुलुक विलुप्त भएका पनि देखेका छौँ। ती राष्ट्र जो विलुप्त भए के कारण तिनीहरूले आफ्नो अस्तित्व गुमाउनुपर्‍यो यो संसारको मानचित्रबाट ? प्रश्न जटिल छ। एउटा राष्ट्र वा मुलुकको जनता, नेतृत्व, त्यहाँको राजनीति, विचार र सिद्धान्तले त्यस मुलुकको भविष्य निर्धारण गरिरहेको हुन्छ। कताकता एउटा मुलुकको कार्यशैली गतिविधिले पनि त्यस मुलुकको आयु निर्धारण हुन्छ जस्तो लाग्छ।

जनता मिलेर दल बनाउँछन्। दलको नेतृत्व चयन गर्छन्। देशलाई अघि बढाउन, गतिशील बनाउन पनि तिनै नेतृत्वकर्ता अघि सर्छन्। अनि नेतृत्व तहमा ती देशका जनताको विचार प्रवृत्ति प्रतिबिम्बित हुनुलाई अस्वाभाविक मान्न पनि सकिँदैन। तर एउटा कुशल नेतृत्वकर्ताले जनतालाई सही दिशानिर्देश पनि गरिरहेको हुन्छ। यस्ता उदाहरण पनि प्रशस्तै भेटिन्छन्। नभएका होइनन्। नेतृत्वकर्ता शुद्ध आचरण भएको, सत्चरित्रवान, बुद्धिमान भएमा त्यो मुलुकको भविष्य उज्ज्वल हुन्छ। अक्षम नेतृत्वले मुलुकलाई असफल बनाउँछ, अराजक बनाउँछ अनि देशलाई नै भड्खालोमा पार्न बेर लाउँदैनन्। देशको पनि आफ्नै स्वास्थ्य हुन्छ।

राजनीतिक, भौगोलिक, आर्थिक, सामाजिक क्षेत्र भनेका देश चलाउन आवश्यक अवयव हुन् जुन कमजोर र अस्वस्थ भए भने देश स्वयं अस्वस्थ बन्छ। रोगी बन्छ। थला पर्छ। यी संयन्त्र चलाउने व्यक्ति पनि उत्तिकै सक्षम, अनुभवी, इमानदार र चनाखो हुनुपर्छ। समस्याको पहिचान गरी समयमै निराकरण गर्ने कौशल हुनुपर्छ उनीहरूमा। प्राकृतिक प्रकोप, कमजोर आर्थिक अवस्था, अकर्मण्य सरकारी संयन्त्र अभिशाप बन्न सक्छ एउटा उज्ज्वल भविष्यको सपना हेरिरहेको देशका लागि। गएको असोज १२ गते शनिबारको अवस्था। न विपद् व्यवस्थापन गर्न सकेको न त कुनै पूर्वतयारी नै भएको। न जनताको ज्यानै बचाउन सक्ने। न पर्याप्त सूचना नै दिन सक्ने न त कुनै प्रभावकारी उद्धार नै हुन सकेको।

देश बगिरह्यो। जिम्मेवार व्यक्तिहरू मस्त निद्रामा थिए। जनता छतबाट गुहार मागिरहे। बाढी घर–घरमै लिन पुग्यो। कति पुल बगाए, कति बाटो भत्किए, कमजोर जनता कति बगे, कति पुरिए। लेखाजोखा नै हुन सकेन। कतिले यात्रामै गन्तव्य परिवर्तन गरे। हालसम्म दुई सयको हाराहारीमा नेपालीले ज्यान गुमाएका खबर आइसक्यो। जीवन के हो ? जीवन सम्झौता हो कि छल हो ? अनाहकमा गुमाउनुपर्ने। बच्न र बचाउन सकिन्थ्यो कि ? जे/जस्तो भए पनि आफ्नो ज्यानको परवाह नगरी पीडितको उद्धार गर्ने, जीवन जोगाउने साहसीहरूलाई सलाम। जीवन गुमाउन बाध्यहरूप्रति हार्दिक श्रद्धाञ्जली !

प्रकाशित: १६ आश्विन २०८१ ०९:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App