रेडियो, टिभिमा बोल्दा वा कतै कार्यक्रम प्रस्तुत गर्दा कतिपयले मलाई ‘पोषणविद्’ भन्छन्। म वास्तवमा पोषणविद् होइन किनभने योबारे औपचारिक ज्ञान मेरो छैन। तर पोषणको ज्ञान मैले हजुरआमा र उहाँको भान्छाबाट, गाँउघरका महिला कुरा गर्दा, कुपोषित बालबालिकाका अभिभावकसँग कुरा गर्दा पाएकी हुँ। उनीहरूसँग सिकेका कुरा मैले टिपोट गरेर, लेखेर प्रकाशित गरेकी मात्र हुँ। त्यसैले समुदाय र मेरो हजुरआमाको भान्छाचाहिँ मेरो पोषणको पाठशाला हो भन्न सक्छु।
हजुरआमासँग हुर्केकी म उहाँले गाई दुहुँदा हेरिरहन्थेँ। ‘दूध तताएर एक बटुको नदिएसम्म म भान्छाबाट टसमस हुँदैनथेँ रे’, आमाले भन्नुभएको–त्यही दूध खाएर मजबुत भएकी। हजुरआमाले खिर पकाउँदा मन खुसी हुन्थ्यो। खिरको पौष्टिकताबारे चाहिँ ठूलो भएर मात्र बुझेँ। हजुरआमाले फलामको भाँडामा पकाएको मासको दाल जिम्बुले झान्दा भान्छा बसाउँथ्यो। अहिले पनि हाम्रो भान्छामा मासको दालसँग जिम्बु नभई हुँदैन। जिम्बुले पेटको स्वास्थ्य राम्रो राख्छ भन्नेचाहिँ धेरैपछि बुझेँ।
हजुरआमाको भान्छामा रातो दालमा जिरा हालेर झान्ने चलन थियो। दालमा मेथी, जिरा हालेर झान्दा ‘दालले पेटमा उत्पन्न गर्न सक्ने ग्यासमा पनि कमी आउँछ’ भन्ने विज्ञानले सिकायो। निरक्षर मेरी हजुरआमालाई विभिन्न गेडागुडीले पेटमा ग्यास उत्पन्न गर्ने भएकाले दालमा झान्नुपर्छ भन्ने ज्ञान थियो। त्यो ज्ञान सासूबाट सिक्नुभएको थियो शायद।
५७ वर्षअघि। मैले सात वर्षसम्म घरमा नै गुरुजीसँग पढेँ। त्यसपछि एकैचोटि दुई कक्षामा भर्ना भएकी। सात वर्षसम्म जताततै हजुरआमासँगै जान्थेँ। हजुरआमा कसैलाई भेट्न जाँदा बारीका तरकारी वा अम्बा लैजानुहुन्थ्यो कोसेली। पाहुना गएको घरमा हलुवा र चिया दिँदा दंग पर्थेँ। त्यसैले हजुरआमा अन्यत्र जाँदा पछि लागिहाल्थेँ। घिउमा पकाएको सुजी वा गहुँको हलुवा त ऊर्जाको स्रोत रहेछ भन्ने पछि मात्र बुझेँ।
हजुरआमाको भान्छामा पनि विभिन्न खाजा बन्थे– हलुवा, रोटी, निम्की, खिचडी। ती घरेलु परिकार खाएर हुर्केकी मैले पनि सिकेँ, ‘घरको खाजा उत्तम’ किनभने हामीलाई कुपोषण भएन, कुनै भिटामिन, अनेकथरीका बाहिरका बट्टाको खाना आवश्यक परेन, घरकै खाजा खाने चलन थियो।
हाम्रो पालामा पत्रु खानाको बजार नै थिएन। त्यसैले अहिले जब ‘कसैले के खाजा खाने र बिस्कुट, पाउरोटी, मोमो, चाउचाउबाहेक’ भन्दा त मलाई अचम्म लाग्छ, किन हामीले आफ्नो मौलिक खाजा बिर्सेको ? सानैदेखि हजुरआमाले बनाएको खाजाले पछि मलाई सिकायो– घरमा बनेको खाजा स्वस्थ हुन्छ, सस्तो पनि हुन्छ। त्यसैले मेरो पोषणको पाठशाला हजुरआमाको भान्छा हो।
पेट दुख्दा वा पखाला लाग्दा हजुरआमाले बनाएको लसुन र मेथी मुग हालेको जाउलो नै औषधि हुन्थ्यो। मुगको दालले स्वास्थ्यलाई राम्रो गर्छ, मेथी र लसुनले पखाला लागेको बेला ठीक गर्छ भन्ने परम्परागत ज्ञान थियो हजुरआमालाई। मुगको दालमा प्रोटिन, मेथीमा लौह तत्व हुन्छ भन्ने कुराचाहिँ मैले पछि थाहा पाएँ। अनि लाग्यो मेरो हजुरआमा त ‘पोषणविद्’ नै थिइन् कि क्या हो ? पोषणको वैज्ञानिक अनुसन्धानबारे केही थाहा चाहिँ थिएन।
हजुरआमालाई गहतानी (मास र गहतको मिश्रण) को दाल पकाउँदा बडो मेहनत लाग्थ्यो। मास भिजाएर, सिलौटामा पिसेर फलामको भाँडामा पकाउनुहुन्थ्यो। ‘डुबका’ अर्थात् मासको फुलौरा, गहतानी कहिले पाक्ला र भातसँग ग्वाम ग्वाम खाउँला जस्तो लाग्थ्यो। अहिले थाहा भयो मलाई–‘गहत र मास दुवै प्रोटिन र सुक्ष्म पौष्टिक तत्वले भरिपूर्ण’ हुन्छन्। अहिले म गहतको विभिन्न परिकार खान्छु।
गहतानी फलामको भाँडामा पकाउने चलन थियो। गहतानी पाकेपछि अलिकता अमिलो हालेर स्वाद बढाउने चलन थियो र अमिलोको भिटामिन सिले फलामको भाँडामा पकाएको गहत र मासको गहतनीमा रहेको लौहतत्व शोषण गर्न झन मद्दत गर्छ। गहतानीको स्वाद र स्वास्थ्यसँगको सम्बन्ध हजुरआमाले कितावमा पढेर थाहा पाउनुभएको होइन। भिटामिन सिले लौहतत्व शोषण गर्न मद्दत गर्छ भन्ने विज्ञानले सिद्ध गरेको छ।
गहतानी र भातमा अलिकता घिउ हालेर दिने मेरी हजुरआमालाई थाहा थिएन चिल्लोको उपस्थितिले शरीरमा भिटामिन ‘ए’, ‘डी’ र ‘के’ घुल्न मद्दत गर्छ तर भातमा हजुरआमाले घिउ हालेर गहतानीसँग मुछेर खाँदा त म सानैदेखि स्वस्थ पो बन्न पुगेछु, अहिले पनि दाल भात खाँदा घिउ छुट्दैन।
सानोमा बर्षातको बेला फोहोर पानीमा खेलेपछि खुट्टा भरी घाउ भएर पिप भरिन्थ्यो। हजुरआमाले मनतातो पानी र नूनले घाउ धोएर, आगोमा सियो पोलेर पिप फुटाउनुहुन्थ्यो अनि रुवाले सफा गरेर घिउमा बेसार मलेर खुट्टामा लगाइदिनु हुन्थ्यो।
‘बेसारमा तेल घोलेर लगाउँदा मात्रै छालाले राम्रोसँग शोषण गर्छ भन्ने ज्ञान’ हजुरआमालाई रहेछ। यो ज्ञानचाहिँ मैले ३० वर्षको उमेरपछि धेरै पढेपछि मात्र थाहा पाएँ। यसैले बारम्बार भन्ने गर्छु–परम्परागत ज्ञानले भरिपूर्ण भएकी मेरी हजुरआमा हुन् मेरो पोषण ज्ञानको पाठशाला।
हजुरआमाले अमिलो मोहीमा प्रोटिनले भरिपूर्ण बेसन हालेर बनाउने कढी र त्यसमा बेसनकै फुलौरा पकाउनुहुन्थ्यो। बेसन र मोहीको कढी पाकेपछि हरियो वा रातो खुर्सानी, जिम्बु र जिरा हालिन्थ्यो। निकै स्वाद हुन्थ्यो। यो कढीसँग भात पनि दुई गाँस बढी खाइन्थ्यो। मैले धेरै भात खान सक्ने हुनाले मेरो नाम नै ‘भैँसी’ राखिएको थियो।
हजुरआमाको त्यो कढीलाई अहिले मैले केही परिमार्जन गरेर अमिलो मोहीमा बेसन, कोदो, फापर, चामलको पिठोसमेत हालेर पकाउँछु। अलिकता हरियो तरकारीहरू मसिनो टुक्रा पारेर हाल्छु। यो झोल र भात पनि सजिलै खान सकिन्छ। कतिचोटि त यो आफैँमा पूर्ण भोजन बन्छ। यो सुप खाएपछि त मलाई भात रोटी केही खानै पर्दैन। यस्ता थुप्रै ‘रेसिपी’ खाएर हुर्केकी म गर्वसाथ भन्छु– हजुरआमा मेरो पोषण गुरु हुन्।
प्रकाशित: ७ भाद्र २०८१ ०८:२१ शुक्रबार