सन् १९५० को दशकमा जेम्स वाटसन र फ्रान्सिस क्रिकले आनुवंशिक पदार्थ डिएनएको बनोट पत्ता लगाएपछि आयुर्विज्ञान अनुसन्धानमा नयाँ आयाम सुरु भयो। डिएनएको आकृतिका आधारमा आरएनए बन्ने अनि आरएनएको आदेशानुसार प्रोटिन तथा इन्जाइमहरू बन्ने यथार्थलाई बायोलोजिकल साइन्सको केन्द्रीय नीति मानिन्छ।
सन् १९९० मा मानिसका जिन यकिन गर्ने उद्देश्यले ह्युमनजिनोम प्रोजेक्ट सुरु भयो। एक दशकपछि हजारौँ वैज्ञानिक संलग्न बृहत् योजना सम्पन्न भयो। अध्ययनले चार अर्ब एकाइले बनेको मानव डिएनएको केवल एक प्रतिशत आनुवंशिक पदार्थले मात्र प्रोटिन बनाउन भूमिका खेलेको देखियो। अथवा प्रोटिन बन्ने/बनाउने सवालमा हाम्रो डिएनएको ९९ प्रतिशत खण्ड औचित्यविहीन पाइयो। आखिर डिएनएको त्यत्रो ठूलो खण्डको औचित्य के हो त भन्ने प्रश्न उठ्छ नै।
डिएनएबाट दुई चरित्रका आरएनए बन्छन्। प्रोटिन बनाउन भूमिका खेल्नेलाई कोडिङ आरएनए भनिन्छ भने इन्जाइम बनाउन नसक्ने आरएनएलाई ननकोडिङ भनियो। कोडिङ आरएनएले प्रोटिन बनाउने भएकाले त्यसको औचित्य पुष्टि भयो तर इन्जाइम बनाउन नसक्ने थारो आरएनएको गुह्य जान्न भने वैज्ञानिकले लामै समय कुर्नुपर्यो।
समान चरित्र भएका दुई ननकोडिङ आरएनएहरू दुई चोयाले बनेको डोरी जस्तो गरी बाँधिएर बस्छन्। कोस (सेल) मा रहेका रासायनिक तत्त्वले डोरीरूपी आरएनएलाई काटेर खण्डित पार्छन्। उत्पादित आरएनएका ससाना खण्डले प्रोटिन बनाउन सक्ने तागत भएका आरएनएहरूलाई टुक्रा–टुक्रा पार्छन्।
प्रोटिन बनाउन सक्ने क्षमता भएका आरएनए आफ्नो लक्ष्यमा नपुग्दै नासिन्छन्। आवश्यकताभन्दा अधिक र औचित्य नभएको अवस्थामा प्रोटिन नबनोस् भन्नका लागि प्रकृतिले यो बाटो रोजेको देखियो । वैज्ञानिक भाषामा उक्त विनासकारी तर सापेक्ष कार्यलाई आरएनए इन्टरफेरेन्स अथवा आरएनएआइ भनिन्छ। आरएनएआइको पथ प्रदर्शन गरेबापत सन् २००६ मा मेडिकल साइन्सको नोबल पुरस्कार पाए वैज्ञानिकद्वय एन्ड्रियु फाएर र क्रेग मेलोले।
डिएनएबाट आरएनए अनि प्रोटिन बन्ने मार्ग ठम्याउन एक परिदृश्य हेरौँ। भात खाएपछि शरीरमा कार्बोहाइड्रेटको मात्रा रगतमा उकासिने भएकाले तुरुन्त इन्सुलिन बनाउने क्षमता भएको आरएनए बन्न थाल्छ। आरएनएबाट इन्सुलिन बनेपछि रगतमा भएको ग्लुकोज कोसमा पस्छ। रगतमा ग्लुकोजको मात्रा घटेपछि इन्सुलिनको आवश्यकता रहन्न। अनि इन्सुलिन बनाउने आरएनए औचित्यबिहीन भयो। परिणामस्वरूप आरएनएआइ विधिमार्फत् यो तत्त्व नासिन्छ।
कदाचित आरएनए नष्ट नभए आवश्यकताभन्दा बढी इन्सुलिन बन्छ। त्यस्तो भएमा अत्यधिक इन्सुलिनका कारण व्यक्ति मर्न पनि सक्छ। स्वस्थ जीवन व्यतितका लागि प्रोटिन तथा इन्जाइमको सन्तुलनको आवश्यकता रहने अनि उक्त समीकरण कायम गर्नका लागि ननकोडिङ आरएनएको अहम् भूमिका देखियो। यसरी विगतमा प्रयोजनबिहीन ठानिएको वस्तुले इन्जाइमको घनत्वलाई हेरफेर गर्न सक्ने भएपछि वैज्ञानिकहरू ननकोडिङ आरएनएलाई केन्द्रमा राखी अनुसन्धान गर्न थाले। अनि विकास भएका उपचार विधिको आयुर्वैज्ञानिक चर्चा सान्दर्भिक देखियो।
आरएनएआइमार्फत् कुनै पनि इन्जाइमको उत्पादन कसरी नियोजित गर्ने अनि आरएनएका के कस्ता खण्डले कोडिङ आरएनएलाई विनास गर्छ भन्ने कुरा पत्ता लागिसकेपछि वैज्ञानिकहरू प्रोटिनको उत्पादनमा प्रहार गरी रोग निको पार्ने योजनामा लागे। सैद्धान्तिक हिसाबले यो वैज्ञानिक विधिमार्फत् कुनै पनि प्रोटिनको उत्पादन न्यून गर्न सकिने देखियो।
संसारका धेरै देशले आरएनएआई उपचार पद्धतिमा आधारित ओखती प्रयोगका लागि अनुमति दिएको भए पनि अमेरिकाको औषधि अनुगमन निकाय एफडिएले भने गत वर्षसम्म चार वटा ओखतीलाई मान्यता दिएको देखियो। अनि यो उपचार विधिमा आधारित धेरै रासायनिक पदार्थहरू क्लिनिकल परीक्षणको विभिन्न चरणमा छन्। ल्याब परीक्षण सकारात्मक दिशामा देखिएकाले आउँदा दिनमा आरएनएआईका धेरै ओखती बजारमा आउने निश्चित छ।
मुटु तथा रक्तसञ्चार प्रणालीसँग सम्बन्धित रोगका कारण संसारमा बर्सेनि लाखौँ मानिस मर्छन्। संसारभर नै मुटु रोगको आयतन बढ्नुमा विश्वभर उच्च रक्तचाप तथा उच्च कोलेस्ट्रोलको लक्षण उकासिनु देखियो। रक्तचाप र कोलेस्ट्रोललाई नियन्त्रणमा लिने हो भने मुटु रोगका कारण हुने मृत्युको संख्या धेरै घटाउन सकिन्छ। तसर्थ, चिकित्सकले रक्तचाप तथा कोलेस्ट्रोलको समस्या देखिनेबित्तिकै ओखती सुरु गरिहाल्न सल्लाह दिन्छन्। यी लक्षणले हार्ट अट्याक तथा स्ट्रोकलाई उकास्ने भएकाले अविलम्ब उपचार आवश्यक पर्छ।
प्रचलनमा रहेका कोलेस्ट्रोलका ओखतीहरू दिनैपिच्छे खानुपर्नेमा फर्मास्युटिकल कम्पनी नोभार्टिसले सन् २०२१ मा वर्षमा केबल दुई इन्जेक्सन लिए पुग्ने ओखती इन्क्लिसिरान बजारमा ल्यायो। आखिर दैनिक खानुपर्ने ओखतीको बदला के एउटा सुइको भरमा कोलेस्ट्रोल ६ महिनासम्म नियन्त्रणमा आउँछ त ? भन्ने प्रश्न उठ्छ नै।
निष्कर्षमा पुग्न सर्वप्रथम कोलेस्ट्रोलको प्रशोधन प्रक्रिया हेरौँ। चिल्लो पदार्थ खाँदा रगतमा कोलेस्ट्रोलको मात्रा बढ्छ। लामो समयसम्म कोलेस्ट्रोलको मात्रा उकासिँदा रक्तनलीमा चिल्लो पदार्थ जम्छ अनि रगतका पाइपहरू साँघुरिँदै जान्छन्। नली खुम्चँदा रक्त प्रवाहमा रोकावट आउँछ। व्यक्ति उच्च रक्तचाप अनि मुटु रोगको सिकार बन्छ।
खराब कोलेस्ट्रोल रगतबाट हटाउने दायित्व कलेजोको हो। तर लिभरमा पाइने पिसिएस के ९ प्रोटिन र कलेजोको कोलेस्ट्रोल प्रशोधन क्षमताका बीच विपरीतको सम्बन्ध देखियो। कदाचित पिसिएसके ९ को मात्रा उकासियो भने कलेजोले रगतबाट कोलेस्ट्रोल हटाउने क्षमता घट्छ अनि व्यक्ति उच्च कोलेस्ट्रोलको सिकार बन्छ। तसर्थ, कलेजोको रक्त प्रशोधन क्षमता प्रभावकारी हुनका लागि उक्त प्रोटिनको उत्पादन न्यून हुन आवश्यक देखियो। अब आरएनएआई विधिमा आधारित ओखती इन्क्लिसिरानले कसरी कोलेस्ट्रोल नियन्त्रण गर्छ त ?
आरएनएआईमा आधारित ससाना आरएनएका खण्डहरूले बनेको यो दबाईले पिसिएसके ९ बनाउने आरएनएलाई निस्तेज पार्छ। आरएनएमा प्रहार भएपछि यो इन्जाइमको मात्रा घट्छ। विपरीतको सम्बन्ध रहेकाले इन्जाइमको मात्रा न्यून भएपछि कलेजो प्रभावकारिता बढ्छ अनि कोलेस्ट्रोलको मात्रा रगतमा न्यून बन्न पुग्छ। कोलेस्ट्रोलको घनत्व घटेपछि हार्ट डिजिजको सम्भाव्यता न्यून हुन्छ। परम्परागत ओखतीको तुलनामा लामो समय शरीर बाँच्न सक्ने भएकाले ओखतीको प्रभावकारिता दीर्घकालसम्म कायम रहन्छ।
सबै मानिसको ब्लड प्रेसर किन तुलनायोग्य हुन्छ त भन्ने प्रश्न धेरैको मनमा हुन्छ नै। रक्तचाप सन्तुलनमा बस्नुमा कलेजोमा उत्पादन हुने प्रोटिन एन्जियोटेन्सिनोजिनले भूमिका खेल्छ। यो प्रोटिनको मात्रा बढदा रक्त नलीहरू संकुचन हुन्छन् अनि व्यक्तिको रक्तचाप बढ्छ। रक्तचाप उकासिन पुग्दा शरीरले यो प्रोटिनको उत्पादन नियन्त्रण गर्छ। परिणामस्वरूप रक्त नलीहरू खुकुलो बन्छन् अनि ब्लडप्रेसर घट्छ। उमेर पाको भएपछि कलेजोले आवश्यकताअनुसार एन्जियोटेन्सिनोजिनको मात्रा व्यवस्थापन गर्न सक्दैन बरु यो प्रोटिनको मात्रा उकासिन्छ।
प्रोटिनको मात्रा उकासिएपछि व्यक्ति रक्तचापको सिकार बन्छ, ओखती खाने अवस्थामा पुग्छ। यो प्रोटिनको मात्रा व्यवस्थापन गरी रक्तचाप घटाउने उद्देश्यले फर्मास्युटिकल कम्पनी एलनाइलमले केबल वर्षको दुई पटक लिए पुग्ने जिल्बेसिरान इन्जेक्सन प्रयोगमा ल्यायो। कोलेस्ट्रोलको ओखतीझैँ आरएनएआई उपचार विधिमा आधारित यो रासायनिक तत्त्वले एन्जियोटेन्सिनोजिनको उत्पादन नियन्त्रण गर्ने भएकाले व्यक्तिले हाई ब्लड प्रेसरबाट मुक्ति पाउँछ। शरीरमा ६ महिनासम्म बाँच्न सक्ने रासायनिक आरएनएका कारण केबल एक मात्रा ओखतीले व्यक्तिलाई ६ महिनासम्म रक्तचाप नियन्त्रणमा मद्दत गर्छ।
परम्परागत ओखतीहरू अल्पायु भएका साना अणुबाट बनेका हुन्थे अनि औषधिको दैनिक सेवन अपरिहार्य थियो। तर अहिलेको आरएनएआईमा प्रयोग हुने जटिल आकृतिका बायोमोलिक्युल लामो समयसम्म पनि शरीरमा सकुशल बाँच्न सक्ने भएकाले दिनैपिच्छे दबाई खानुपर्ने झन्झट रहेन। औषधि सेवनको आयामलाई आवधिक अनुसन्धानले रोगीमैत्री बनाउँदै लगेको देखियो।
– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन्।
प्रकाशित: १६ जेष्ठ २०८१ ०८:०५ बुधबार