९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

पाहाचह्रे चाड किन मनाइन्छ?

काठमाडौँ उपत्यकामा मनाइने चाडमध्ये पाहाचह्रे एक हो। घोडेजात्राको अघिल्लो दिन कृष्ण चतुर्दशीका दिन यो चाड मनाइन्छ। यस चाडलाई दसैं–तिहारपछिको ठूलो चाडका रूपमा मनाइने गरिन्छ। पाहा अर्थात् पाहुना र चह्रे अर्थात् चतुर्दशी भएकाले यस दिन पाहुनालाई बोलाई मनाउने चाड भन्ने अर्थ लाग्छ। यस चाडलाई पाशा चह्रे पनि भन्ने गरिन्छ। नेपालभाषामा ‘पासा’ शब्दले ‘साथी’ बुझाउँछ। पाशा चह्रेले साथी बुझाउने हुनाले साथीभाइसँग रमाइलो गरी मनाउने चाड भएकाले यो चाडको नाम रहन गएको पनि बुझिन्छ।

पाहाचह्रे चाड सुरु भएको सूचकका रूपमा विभिन्न टोल (दमाई टोल, वंघः, इन्द्रचोक) मा योसिं (काठको लिंगो) ठड्याइन्छ। यसलाई मू थाँ भन्ने गरिन्छ। यस चाडमा हाथु द्यः को तेप (माटोको भैरवको मुखौटामा माटोको भाँडो भएको) पनि प्रदर्शनीमा राख्ने गरिन्छ। धिमे बाजा बजाएर हाथु द्यः बोकेर हाथु द्यः जात्रा मनाउँछन्।

बाटोका किनारमा हाथु द्यः प्रदर्शनमा राख्ने चलन छ। यसमा आठ दिदीबहिनी कंग अजिमा (कंकेश्वरी), न्यतमरु अजिमा (श्वेतकाली, नरदेवी), लुती अजिमा (इन्द्रायणी, ढल्को), म्हैपी अजिमा (ज्ञानेश्वरी, म्हैपी), मैती अजिमा (पञ्चकुमारी, बालकुमारी), टकती अजिमा (निलबाराही, कालीमाटी), बसला अजिमा (बसलादेवी, पशुपति), लूमढी अजिमा (भद्रकाली, टुँडिखेल) को खट जात्रा पनि हुन्छ।

यो चाड सबभन्दा गरिब लुती अजिमा पाहुना लाग्न जाने कथासँग पनि सम्बन्धित भएकाले यस चाडलाई पाहाचह्रे भनिएको हो। यस चाडमा सातवटा खटको मात्र जात्रा गर्ने गरिन्छ। सबैभन्दा गरिब भएर हेलाँमा परेकी लुती अजिमा यस जात्रामा नआएकीले सातवटाको मात्र जात्रा हुने गरेको भन्ने गरिन्छ। हेलाँमा परेको लुती अजिमा पछि सम्पन्न भएको भन्ने कथा पनि छ। यस अजिमाको जात्रा मंसिर महिनाको कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशीमा मनाउने गरिन्छ।

नेवारहरू कृषिसँग सम्बद्ध जाति भएकाले यिनीहरूले मनाउने चाड भूमि र यसबाट उब्जाउ हुने खाद्यान्नसँग सम्बन्धित हुने छन्। काठमाडौंमा समयसमयमा गइरहने भूकम्पमा पृथ्वीको गर्भमा लुकेको देवता र भूमिपूजा नै लुकंमाद्य पूजा हो। यस चाडको पहिलो दिन चोकचोकमा लुकुमाद्यः को पूजा गरिन्छ। साँझपख चोकचोकमा रहेका लुकुमाद्यःलाई लुँस्वाँ, व स्वाँ (तोरी र मुलाको फूल) आदि सामग्री राखी पूजा गरिन्छ।

त्यस्तै यसमा समयबजी, रक्सी पनि राखी भोज चढाउने गरिन्छ। माताचा (फलामको पुरानो ताल्चाको साँचो) मा सुकुन्दाको आगोमा गाजल थापेर लुमाद्यः, आफू र बच्चालाई लगाइने गरिन्छ। यो गाजल लगाउँदा धुँयामिखा कां कां जिगु मिखातेलाक भन्दै गाउने गरिन्छ। यस चाडलाई लाभा नखः पनि भन्ने गरिन्छ। पूजा सकेर समय् फूल प्रसाद सबै मिलेर खाने गरिन्छ। लुकुमाद्यः को प्रसाद गाजल लगाउँदा आँखा तेजिला हुन्छन् भन्ने जनविश्वास छ। बेलुका परिवारसँगै बसेर भोज खाने गरिन्छ।

दोस्रो दिन बिहान सबैरै नुहाइधुहाई गरी विभिन्न शक्तिपीठमा पूजा गर्न जाने चलन छ। यस दिन टोलटोलमा बच्चालाई मरःजा (एक प्रकारको पवित्र भात) हो। यसलाई सन्तुलित भोजन पनि भन्ने गरिन्छ। मरःजा काठमाडौंका कोहिटी, भीमसेनस्थान, लगन, ह्युमत आदि स्थानमा खुवाउने गरिन्छ। यो भात बच्चालाई खुवाउँदा रोगव्याधी नलाग्ने, तन्दुरुस्त हुने, रुन्चे नलाग्ने जनविश्वास छ।

विभिन्न टोलमा निश्चित स्थानमा बच्चालाई लामबद्ध गरी भोज खाने बेलामा झैं बसाइ परम्परागत बाजाका साथमा विधिपूर्वक खुवाउने गरिन्छ। ज्योना लप्ते (भोजपत्र) मा राखी भात, दालका गेडा, राँगाको मासु, साग, दूध आदि राखेर खुवाउने गरिन्छ भने कहींकहीं भने विधिपूर्वक पकाएको बंगुरको मासु पनि खुवाउने गरिन्छ। मरःजा खुवाउँदा चकलेट आदि खानेकुरा बाँड्ने चलन पनि छ।

तेस्रो दिन विभिन्न शक्तिपीठका देवीदेवतालाई खटमा राखेर नगर परिक्रमा गरी जात्रा गराइन्छ। नगर परिक्रमा गर्दा छोरीचेलीका घरघरमा गई पूजा लिन जाने चलन छ।

यसै दिन असनमा खट जुधाउने (द्यल्वाकेगु) गरिन्छ। पहिले–पहिले यसरी खट जुधाउन असनमा सातैवटा खट ल्याउने गरिन्थ्यो, तर हिजोआज भद्रकाली (लुँमरि अजिमा), कंकेश्वरी (कंग अजिमा) र  तेबहाःकी लुमढी अजिमाको खट मात्र ल्याउने गरिन्छ। यी टोलबाट आउने देव खलः ले लगाउने टोपीको रङ्ग फरकफरक लगाउने गरिन्छ। यस तेबाहालबाट आउनेले सेतो टोपी, वटुबाट आउनेको निलो र कंगखलःले रातो लगाउने चलन छ।

असनमा देव खलकले बोकेर ल्याएको तीप्वा मतः (चिलाख) साटासाट गरी खट जुधाएको प्रतिक गरी जात्रा मनाइन्छ। नरदेवीकी ङेतमरु अजिमा, टंकेश्वरकी तखती अजिमा, मैतीदेवीकी मैती अजिमा, नयाँ बजारकी म्हेपी अजिमा र बाङ्गेमुढाकीन्हेकन्तला अजिमाको भने छुट्टै जात्रा हुन्छ।

यस जात्रामा बजाइने बाजाको धुनलाई लाभा घासानय् मखु कन्सनिसे वय मखु अर्थ लगाउने गरेको छ। लाभा घासानय् मखु कन्सनिसे वय मखु अर्थात् पर्सिबाट आउँदिनँ, लसुन, तरकाली खान्न भन्ने हुन्छ। यस चाडमा लाभा अर्थात् लसुनको विशेष महत्व रहने गर्दछ। हरियो लसुनको तरकाली भोजमा आवश्यक मानिन्छ भने काँचो हरियो लसुन लुकुमाद्यः लाई पनि चढाउने गरिन्छ।

यसरी लसुनको महत्व राख्नु यसको औषधीय गुणका कारण यसलाई बाँकी राख्नुपर्छ सबै खाएर सिध्याउनु हुन्न, जोगाउनुपर्छ भन्ने हो बुढापाकाको भनाइ छ। गर्मी मौसममा हुने झाडापखालालगायतका अन्य रोगव्याधी लाग्ने र लसुन लाभकारी हुने भएकाले औषधिजन्य यस तरकारीबारे बुझाउन यस्तो गीत भाका गाइने गरिन्छ।

नेवारहरूले पूजा गर्ने नासः द्यः लाई जस्तै लुकुंमाद्यःलाई पनि महादेवको रूप भन्ने गरिन्छ। लुकुंमाद्यः जमिनभित्र लुकेको देवता हो। लुकुंद्यः अर्थात् लुकेको देवता पछिल्लो समयमा माद्यः अर्थात् महादेवसँग गाँसेर यसका विभिन्न कथा भन्ने चलन छ। यस दिन महादेवलाई पार्वतीले मद्यः मास खान आग्रह गरेकाले पिशाचको रूप धारण गरी यी खानेकुरा खाएकाले यस चाडलाई पिचाश चतुर्दशी पनि भन्ने गरिन्छ।

नेपाल भाषामा लुकुं अर्थात् लुकेको हुन्छ। नेवारहरू घाम अस्ताउनुलाई निभा लुकुं बिल भन्ने गर्दछन् भने महिलाले पिठ्युँमा खास्टोले छोपेर बोकेको बच्चालाई मानिसहरू जिस्काउँदै से से लुकु द्यः स्वय् अर्थात् लुकेको देवता हेरूँ हेरूँ भन्ने गर्दछन्।

चैत महिनामा विभिन्न किसिमका रोगव्याधि लाग्ने भएकाले घर, टोल, चोक फोहोर भएमा महामारी फैलिने हुँदा लुकुमाद्यः को नाउँमा साःगाः (मल बनाउने खाडल) सफा गर्ने चलन थियो। पाहाँचह्रेको चार दिनअगाडि साःगाः सफा गरी यस चाडको तयारी गरिन्छ। यस बेला पूजामा राखिने तोरी र मूलाको फूलसहितको बिरुवा राख्नाले घरमा भूतप्रेत र दुष्टात्मा  प्रवेश गर्न सक्दैनन् भन्ने जनविश्वास छ। यसको बिउलाई इकाः पकाः भनिन्छ, जुन नेवारहरूको संस्कार तथा चाडपर्वमा सबभन्दा पहिले पिइकेगु गर्न प्रयोग गरिन्छ।

यस पूजालाई काठमाडौं उपत्यकाका गोपालवंशीहरूले गाईलाई घाँस दिने देवता जो पशुका पालक छन् भनी महादेवको पूजा नै लुकुमाद्यः को पूजा भनेर यसको ऐतिहासिकता गोपालवंशदेखिको भन्ने गरिन्छ। पाहाचह्रे गाईपालनमा निर्भर गोपालवंशीहरुले गाईका लागि घाँस उत्पादन गरिदिने देवताका रूपमा रहेका देवतालाई जमिन खनेर निकाली शिला पूजा गर्ने गर्दथे। यही नै पछि लिच्छवीकालमा पशुको देवताका रुपमा पशुपति भयो भने मल्लकालमा लुकुंमहाद्यः भयो पनि भन्ने गरिएको पाइन्छ। यस्तै यस चाडसँग जोडिएका विभिन्न कथामा महादेव र भस्मासुरको कथा, लुती अजिमाको कथा, साढे सातको दशाबाट महादेव फोहोरमा लुकेको कथा, गुरुमापा र घोडेजात्राका कथा छन्।

पहिलो किंवदन्ती

यस चाडसँग सम्बन्धित कथाअनुसार माइतीमा पाहाचह्रेको नखत्या भोज खान बोलाएकी आठै दिदीबहिनी जाँदा सबैभन्दा गरिब लुती अजिमाको नराम्रो लुगा, दुब्ला बालबच्चाका कारण आमाले पनि हेलाँ गरेर माटोका भाँडामा भोज खान दिएको र अरू दिदीबहिनीलाई सुनचाँदीका भाँडाकुँडामा खान दिएकाले चित्त दुखाएर भोज नखाई फर्केको थियो। अर्को वर्ष राम्रा लुगा लगाएर आएकी अजिमा र छोरीलाई मान गरी भोज खान दिएको देखेर यो भोज मलाई खुवाएको होइन मेरो गहनालाई खुवाएको भनी सबै गहना खोलेर भोजमा राखेर गएको भन्ने गरिन्छ। त्यही भएर यस जात्रामा लुती अजिमाको खट नल्याएको भन्ने गरिन्छ।  

दोस्रो किंवदन्ती  

महादेव साढे साती दशाबाट मुक्त हुन साढे सात वर्ष फोहरमा लुकेर बसेको र पाहा चह्रेका दिन बाहिर निस्केको कथा पनि प्रचलित छ। साढे सातीको दशा लाग्ने त हामीले ज्योतिषीय वि ज्ञानमा सुनेकै छौं। एक दिन शनी महाराजले महादेवलाई अब हजुरलाई पनि साढे सातीको दशा लाग्दैछ भनेपछि महादेवले मलाई केको साढे सातीको दशाले छुन्छ र भन्दै भागेर फोहरो थुप्रोमा लुक्न गएछन्। साढे सात वर्षपछि महादेव फोहरको थुप्रोबाट निस्केर शनिदेवलाई सोधेछ, ‘खै त मलाई साढे साती दशा लागेको ? शनिले जवाफ दिएछ साढे साती दशा नलागेको भए हजुर यस्तो फोहर भित्र बस्नुहुन्थ्यो त ?’ हजुरलाई दशा लागेरै यस्तोमा बस्नुपरेको हो। यसरी साढे सात वर्षसम्म लुकेर बसेका महादेव (लुकुमाद्यः) निस्केको दिनमै पाहाचह्रे मनाउने गरिन्छ।

चैत्र कृष्ण चतुर्दशीका दिन फोहरबाट निस्केर ज्यापुको घर पुगी पाहुना लाग्न गएको दिन भएकाले पाहाचह्रे मनाउने गरिएको भनिन्छ। यस्तै महादेवसँगको अर्को कथा छ– एकपटक एकजना राक्षसले महादेवको घोर तपस्या गरेछ। महादेवले प्रसन्न भई के वरदान माग्छौ माग भनेछन्। राक्षसले आफूले जे छोए पनि त्यो भष्म हुने वरदान मागेछ। 

महादेवले तथास्थु भनी वरदान दिएछन्। यसैले यस राक्षसलाई भष्मासुर भन्ने गरिन्छ। महादेवले दिएको वरदान लाग्छ कि लाग्दैन भनी राक्षसले परीक्षण गर्न महादेवलाई नै छुन खोज्दा उनी भागेछन्। महादेव भागेर फोहरमा लुकेकाले उनै महादेवलाई नेवार जातिले लुकंमाद्यः भन्ने थालेका हुन्। पाटनमा महिलाको साडीमुन्तिर महादेव लुकेकाले यहाँ यो पर्व मनाइँदैन भन्ने तर्क पनि छ।  

घोडेजात्रा र गुरुमापाको कथा

टँुडिखेलमा घोडेजात्रामा घोडा दौडाउने पाहाचह्रेसँग जोडिएको कथा नभए पनि टुँडिखेलको दक्षिणपूर्वमा बस्ने गुरुमापालाई यहीं गाडेकाले घोडाको टापले कुल्चाउन घोडा दौडाएको भन्ने कथा राणाकालदेखि चलेको हो। पाहाचह्रेको दोस्रो दिन आआफ्ना टोलका मन्दिरमा पूजा गर्न जाने चलन  छ।

मल्लकालमा राजाहरू पनि आफ्ना भाइभारदारका साथ लस्करै मन्दिर दर्शन गर्न जाने गर्दथे। यस चाडमा लुमढी (भद्रकाली) दर्शन गएका राजा र परिवारको लस्कर देख्न पाउने भएकाले मानिसहरू टुँडिखेल पुग्दथे। शाहकालको सुरुमा यो चलन कायमै थियो। पछि राणाहरुले टुँडिखेलमा सैनिक शक्ति प्रदर्शन गर्दै घोडे जात्रा चलाएको देखिन्छ। यही नै राष्ट्रिय पर्वका रूपमा विकास भयो।

पाटनको भोलाख्यो बालकुमारीमा भने रक्सी खुवाएर मातेको एउटा मात्र घोडा (याकः सल) दौडाउने चलन छ। राजा प्रतापमल्ल र पाटनका राजा श्रीनिवास मल्लबीच मनमुटाव हुँदा ने.सं. ७८७ तिर पाटनमा एक्लो घोडा कुदाउन थालिएको भन्ने गरिन्छ।

यसैसँग जोडिएको अर्को कथामा इतुंबहामा बस्ने केशवचन्द्र जुवाको लतले सम्पत्ति सिध्याएर बेहाल भएका थिए। एक दिन आफ्नो दिदीकहाँ खाना खान पुगेका उनले खाना पस्केको सुनको थाल नै चोरेर जुवामा हारे। अर्कोपटक फेरि दिदीकहाँ पुगेका उनलाई दिदीले चाँदीको थालमा पस्केर खान दिए। त्यो थाल पनि चोरेर जुवामा हारे। तेस्रोपटक दिदीकहाँ पुगेका उनलाई दिदीले थालमा खाना नदिएर भुईंमा राखिदिए। भोक र रिसले बौलाएका उनी खाना कपडामा पोको पारेर हिँडे। थाकेर रूखमुनि निदाएका बेला उनले कपडामा पोको पारेर ल्याएको खाना सबै रुखमा बस्ने चराले खाइदिएछन्।

ती चरा केशवचन्द्र बसेको रुखमै थिए। केशवचन्द्र ब्युझँदा खाना सबै खाइसकेको देखेर रिसले चरालाई हान्न के लागेका थिए, त्यतिबेला चराले बिष्ट्याएको बिष्टा सुन भएको देखेछ। त्यसबाट खुसी भएर केशवचन्द्रले सबै सुनका बिष्टा जम्मा गरेर कपडामा पोका पारी बोक्न खोज्दा उठाउन नै सकेनछ। त्यही समय गुरूमापा नाम गरेको राक्षस घुम्दैघुम्दै खानाको खोजीमा त्यहीं आइपुगेछ। गुरूमापाले केशवचन्द्रलाई नै खान खोज्यो।

बाठो केशवचन्द्रले गुरूमापालाई आफूले जम्मा गरेको सुनको पोका बोकेर घरसम्म पु¥याउन आग्रह गरे। घर पुगेपछि सिङ्गै राँगो र तीन मुरी चामलको भात खान दिने बाचा गरेछ। यसरी घर लगिएका गुरूमापालाई केशवचन्द्रले बचनअनुसारको खाना दिए। टन्न खाना खाएका गुरूमापा निदाए। तीन दिनपछि ब्युँझिए। फेरि खाना माग्न थाल्यो। 

केशवचन्द्रले राक्षसलाई खाना खुवाएको छिमेकीले थाहा पाएपछि केशवचन्द्रले राक्षसलाई टुँडिखेलमा रहेको रूखमा लुकेर बस्न भने।  त्यहीं खाना ल्याइदिने वचन दिएछ। तर पछि गुरूमापा सहर पसेर बच्चा चोरेर खान थालेपछि मानिसहरू मिलेर उनलाई पिटेर टुडिखेलमा लडाएर उनको शरीरमाथि घोडा दौडाई त्यहीं गाडेको पनि भन्ने गरिन्छ भने गुरूमापालाई एउटा राँगोको मासु र तीन मुरी चामलको भात खुवाउने चलन अहिले पनि छ। फागुपूर्णिमाको राती केशचन्द्र महाविहारबाट भात पकाएर लाने चलन अहिलेसम्म यथावत् छ।

फागुन पूर्णिमाको अघिल्लो दिन किला घःका ज्पापूले यँपीख्यः(भुरुङखेल) मा राँगो काटेर गुरूमापालाई चढाउने र भोलिपल्ट इतुंबहाः कोकेशवचन्द्र विहारनजिकैको भुतु क्यवः मा २० पाथी चामलको भात पकाइ टँुडिखेलमा लगेर टुँडिखेलको बीचमा गुरूमापाको भाग चढाई भोज खाने चलन यथावत् छ। यो काम सकिएर फर्कने क्रममा पाहाचह्रेको गीत गाउँदै फर्कने गरिन्छ। यसले अबको पन्ध्र दिनमा आउने चाड पाहाचह्रे भन्ने बुझिन्छ। होली पूर्णिमापछिको अष्टमीको दिन दुदुं च्यांच्यां (पाहाचह्रेको सुरुको) जात्रा मनाइन्छ।  

दुरु च्यां च्यां जात्रा (वत्सलेश्वरी आमा)

पशुपतिस्थित वत्सलेश्वरी वा बछला सबै अजिमाकी आमा र पिता पशुपतिनाथ भन्ने धारणाले दुदुं च्यां–च्यां बाजा बजाई रत्नेश्वर महादेवको चाँदीको प्रतिमा खटमा राखी जात्रा (निमन्त्रणाका लागि पशुपतिबाट काठमाडौँमा आउने) दुद’ं च्यां–च्यां जात्रा हो। यस चाडसँग जोडिएको दुदुं च्यां–च्यां जात्रा पशुपतिस्थित भुवनेश्वरीको हो। यी देवीलाई काठमाडौँका सबै अजिमाकी आमा मानिन्छ। शीतलाष्टमी भनिने दुरु च्यां–च्यां जात्रा पाहाचह्रे आउनु सात दिनअगाडि मनाउने जात्राको रूपमा लिइन्छ।

पाहाचह्रेको भोज बोलाउन चिल्ला (अष्टमी) का दिन दुदुं च्यां–च्यां पापां धुइं धुइं, यल वने न्ह्याःसा, ख्वप वने न्ह्याः सा तुति त्याःनु त्यानु बोलकोदुन्दुभी बाजा बजाउँदै भुवनेश्वरीका पुजारी, पशुपतिनाथको आगमघरका भट्ट पूजारी,चार भण्डारी मिलेर सानो खटमा शिवलिङ्ग राखी अजिमालाई निमन्त्रणा गर्न आउने जात्रा हो। यो जात्रा नक्साल भगवती तखती अजिमा, लुँचु लुभुँ अजिमा, न्हायकंतला अजिमा, कंग कजिमा, न्यतमरु अजिमा, लुमरी (लुमढी) अजिमा, (वतु र तेबा खट) र प्यङ्ग थां नरसिंह आजुको भव्य जात्रा हुने गर्दछ।  

पशुपति महादेवको सानो मूर्तिका साथ बछलामाजु (भुवनेश्वरी) को प्रतिकृतिस्वरूप खट जात्रा गर्दै देवपाटन (ग्वल) को लगंलाछी पाचुत्वा, सिफल, मालिगाउँ, नक्साल, नागपोखरी, हात्तीसार, जमल, कमलपोखरी हुँदै असन जनबहाल, इन्द्रचोक, मरु,चिकंमुगल न्हुँघ लगन, टेकुदोभान पचलीभैरवमा विशेष भोग बलि पूजा गरिन्छ। त्यहाँबाट लगन, ब्रम्हटोल, ह्यूमत, जैसीदेग, क्वहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, त्यङ्गल, कमलाछी, कमलपोखरी, ज्ञानेश्वर हुँदै पशुपति पुर्‍याइन्छ।  

समग्रमा यो चाड पनि नेवार समुदायले मनाउने अन्य चाड झैं विभिन्न आस्थामा विभिन्न गतिविधि गरी मनाउने चाड हो। यसले गर्मी मौसम आउने समयमा सागाः (ढल) सफा राख्ने, गरूमापा रूपी राक्षसी प्रवृत्तिको दमन, समाजमा चलेको गरिब र धनीप्रति गरिने व्यवहार, बालबच्चालाई निरोगी बनाउन खुवाइने सन्तुलित भोजन र नेवार समाजमा सनातनी धर्मको प्रवेशमा देखाएको व्यवहार देखाएको छ।

प्रकाशित: २९ चैत्र २०८० १४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App