७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

दिमागी बल नै वास्तविक बल

शरीरमा रोगसँग लड्ने र शरीरलाई बचाएर राख्ने प्रणाली हुन्छ, जसलाई रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) भनिन्छ, जसले शरीरमा कुनै बाह्य जीवाणुको संक्रमण होस् वा भित्री अंगहरूको खराबी, यी सबैमा लडेर शरीरलाई स्वस्थ बनाउने काम गर्छ। इम्युनिटीले शरीरका लागि सुरक्षा कवचको काम गर्छ। जति मानिसको इम्युनिटी क्षमता बढी हुन्छ, त्यति नै मानिस स्वस्थ र निरोगी हुन्छ। इम्युनिटी क्षमता बढी भएका व्यक्तिहरूलाई कोरोना जस्तो खतरनाक भाइरसले समेत हल्लाउन नसकेको तथ्य त सर्वविदितै छ।

शरीरमा शरीरको रोग प्रतिरोधक क्षमता (इम्युनिटी) भए जस्तै के मनको पनि इम्युनिटी हुन्छ ? भन्ने प्रश्न अहिले व्यापकरूपमा उठेको छ। र, अहिले कग्निटिभ इम्युनोलोजीबारे शोधखोज हुँदैछ। यस क्षेत्रमा संलग्न कतिपय विशेषज्ञको दाबी छ कि जसरी शरीरले आफ्नो सुरक्षाका लागि गेटमा चौकीदारहरू (सेन्ट्रिज) तैथान गर्छ, ती चौकीदारहरूले सुक्ष्म जीवाणुको खतरा स्क्यान गर्दछन् र हानिकारक सुक्ष्म जीवाणुसँग लड्न टी सेल्स र बी सेल्सको एक मोबाइल सेनाको टोली २४ सैं घण्टा तम्तयार राख्दछ। टी सेल्स र बी सेल्सको मोबाइल सेनाले हानिकारक सुक्ष्म जीवाणुहरू देख्नेबित्तिकै आक्रमण गरिहाल्छन्।

ठीक यसरी नै मनले पनि आफ्नो सुरक्षाका लागि गेटमा चौकीदारहरू तैनाथ गर्छ। ती चौकीदारहरूले सूचना (इन्फर्मेसन)का खतराहरूको स्क्यान गर्छ र तिनीहरूसँग लड्न सन्देह (डाउट्स) र प्रश्नहरू (कोइसन्स) को एक मोबाइल सेना तैनाथ गर्छ। सन्देह (डाउट्स) र प्रश्नहरू (कोइसन्स) मनका एन्टिबडी जस्तै हुन्। शरीरले झैँ मनले पनि खतरा महसुस भयो भने डी सेल्स तथा क्यु सेल्स पैदा गर्छ।

यस्तो मान्न सकिन्छ, सन्देह मनलाई अविश्वसनीय वातावरणमा ढाल्ने प्राकृतिक तरिका हो भने यसको विपरित विश्वास, मनलाई मित्रतापूर्ण (शान्त) वातावरणमा ढाल्ने प्राकृतिक छनोटको तरिका हो। यस किसिमको समायोजन नै मनको प्रतिरक्षा प्रणालीको उदाहरण हो। मन हमेशा उपयोगी जानकारीप्रति सधैँ खुला र हानिकारक जानकारीप्रति प्रतिरोधको बीचको सन्तुलन राख्न प्रयासरत रहन्छ।

पहिचान सुरक्षात्मक अनुभूति घटनाले एक महत्त्वपूर्ण सत्य उजागर गर्छ कि मन धम्कीपूर्ण जानकारीप्रति बढी प्रतिक्रियात्मक हुन सक्छ। त्यसैले षडयन्त्रकारी सोच, संशय, जिद्दी वैचारिक कठोरतालाई अटोइम्युन विकारहरूको रूपमा लिन सकिन्छ। अर्कोतिर, मानसिक प्रतिरक्षा प्रणाली पनि निस्क्रिय हुन सक्छ। जसले मानिसलाई अनुभवहीन, अन्धविश्वास र धुर्त बनाउन सक्छ।

सिधा शब्दमा भन्ने हो भने मनको पनि प्रतिरक्षा प्रणाली हुन्छ, जसलाई मेन्टल इम्युनिटी भन्ने गरिन्छ। मेन्टल इम्युनिटीको प्रभाव सिधै शरीरको इम्युनिटीमा पर्छ। मेन्टल इम्युनिटी कमजोर छ भने शरीरको प्रतिरोधक क्षमता पनि कमजोर हुन पुग्दछ। त्यसैले स्वस्थ र मजबुत रहन शारीरिक प्रतिरोधक क्षमता मात्र होइन, मानसिक प्रतिरोधक क्षमता पनि शक्तिशाली हुन आवश्यक देखिन्छ।

जसरी शरीरको रोग प्रतिरोधात्मक क्षमता कम छ भने सामान्य मौसम परिवर्तन हुने बित्तिकै मानिसलाई रूघाखोकीले आकुलब्याकुल बनाउन सक्छ ठीक त्यसै प्रकारले मनको प्रतिरक्षात्मक शक्ति कम छ भने ससानो तनावले पनि मानिसलाई विचलित बनाउन सक्छ। मनको प्रतिरक्षा प्रणाली मजबुत छ भने मानिसले ठूला ठूला तनाव पनि सजिलै झेल्न सक्छन्। एक प्रकारको तनाव कुनै व्यक्तिलाई सामान्य लाग्ने र कुनै व्यक्तिलाई पहाडले टाउको थिचे जस्तो लाग्ने कारण पनि यही मेन्टल इम्युनिटी हो। मेन्टल इम्युनिटी संकट र तनावका बेलामा ढाल बनेर संकटको प्रतिरक्षा गर्ने कार्य गर्छ। मानसिक प्रतिरक्षा प्रणाली कमजोर भएर मानिसलाई मानसिक समस्याहरूले घेर्ने हुन्। मेन्टल इम्युनिटी कमजोर भएका व्यक्तिहरू भावनात्मकरूपमा पनि कमजोर हुन्छन्।

जसरी रुघाखोकीले आफूलाई मात्र होइन, आसपासका व्यक्तिहरूलाई समेत संक्रमित गर्न सक्छ। ठीक त्यसैगरी, व्यक्तिको सोच तथा नकारात्मक विचारहरूले ती व्यक्तिहरूलाई मुस्किलमा पार्न सक्छ, जसको मेन्टल इम्युनिटी कमजोर छ। जस्तै कि होस्टलमा बस्ने कुनै युवा विद्यार्थी डिप्रेसन पीडित छ भने डिप्रेसनका कारण उसमा उदासी र खिन्नता, अपराधबोध, मानसिक थकान, ऊर्जाहीन, चिडचिडापन, अनिद्रा वा बढी निद्रा लाग्नु, भोक नलाग्नु वा बढी भोक लाग्नु, एकान्त मन पराउनु, मनमा अनेक नकारात्मक विचारहरू आउनु, भविष्य अन्धकारमय लाग्नु तथा आत्महत्याको विचार आउनु वा आत्महत्याको प्रयास गर्नु आदि जस्ता नकारात्मक लक्षणहरू देखिन सक्छन्। यस्ता नकारात्मक आचारविचारले उसको वरिपरिको वातावरण नै नकारात्मक हुन पुग्छ।

जब रुम पार्टनरका रूपमा अर्को विद्यार्थी ऊसँग बस्न थाल्यो भने त्यहाँ दुई प्रकारका घटना हुन सक्दछ। एक, नयाँ विद्यार्थीको मेन्टल इम्युनिटी बढी छ भने उसको सकारात्मक आचारविचार तथा औराले नकारात्मक वातावरणलाई सकारात्मक बनाउने कार्य मात्र नगरेर डिप्रेसनपीडित विद्यार्थीको नकारात्मक भावनालाई सकारात्मक बनाउन सक्छ। तर नयाँ विद्यार्थीको मेन्टल इम्युनिटी कमजोर छ भने एक दिनमा नै नयाँ विद्यार्थी डिप्रेसनबाट पीडित विद्यार्थीको जोडी बन्न सक्छ। अनि दुवै उदास अनुहार लिएर भविष्य अन्धकार देख्न सक्छन्।

अन्तमा, मन र शरीरको सम्बन्ध नङ र मासुको जस्तै छ। यदि मनको प्रतिरक्षा प्रणाली मजबुत छ भने शरीरको प्रतिरक्षा प्रणाली पनि मजबुत हुन्छ।

 

–बानियाँ साइकोथेरापिस्ट हुन्।

प्रकाशित: २८ चैत्र २०८० ०६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App