२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

जनता जनार्दनको फैसला

स्थानीय निर्वाचनमा खस्केको नेपाली कांग्रेसको शाखलाई प्रदेश र प्रतिनिधिसभाको निर्वाचनले अझ घटायो । २०७० सालको संविधानसभाको निर्वाचनमा पहिलो दलको हैसियतमा रहेको कांग्रेस यथास्थानमा रहन सकेन, खुम्चिन पुग्यो । निर्वाचनमा भाग लिने सबैको विजय हुने होइन । एउटाले जित्ने अरूले हार्ने नै हुन्छ । यो स्वाभाविक हो तर कांग्रेसको पराजय विस्मयकारी नै भयो । कांग्रेसको अहिलेको पराजयको विषयमा विभिन्न कोणबाट टीका–टिप्पणी र विश्लेषण भइराखेका छन् । अब कांग्रेस कसरी प्रस्तुत हुन्छ ? पराजयलाई कसरी ग्रहण गर्छ ? भावी रणनीति उसका के हुन्छ ? कांग्रेसका आलोचकहरूले पटक पटक अब कांग्रेस ऐतिहासिक राजनीतिक दल ‘प्रजापरिषद्’कै इतिहासमा थन्किन पुग्छ भन्ने गरेको कुरालाई खण्डन गर्ने आधार के छन् ऊसँग ? विभिन्न सामाजिक जिज्ञासा सतहमा प्रकट भएका छन् । त्यसैले पुराणका कथा र इतिहासको प्रारूपमा कांग्रेसको नियतिको परिचर्चा गर्नु समय सान्दर्भिक लाग्यो । जो कांग्रेसका लागि मात्र होइन, शक्ति र सत्तामा पुग्ने र त्यसको आकांक्षी जो कोहीका लागि पनि स्मरणयोग्य हुनसक्छ ।

पतनशील व्यक्ति, संस्था र समाजको मति भ्रष्ट हुन्छ । मति भ्रष्ट भएपछि उसले कुनै कुरा सुन्न, सोच्न र ठम्याउन सक्दैन ।

वैधानिक, प्राकृतिक, परम्परागत, सांस्कृतिक मूल्य–मान्यताविरुद्ध प्रकट भएका अस्वाभाविक राजनीतिक महत्वाकांक्षाको परिणाम पुराणका कथा तथा इतिहासमा सुखद पाइँदैनन् । महाभारतको कथाअनुसार माझी धिवरराजकी कन्या मत्स्यगन्धा सत्यवतीका रूपमा लठ्ठिएका कुरु वंशीय राजा सन्तनु उनीसँग विवाहको प्रस्ताव राख्छन् । तर सत्यवतीले आफ्नो पीता धिवरराजसँग कुरा गर्नु भन्छिन् । धिवरराजले सन्तनुको प्रस्ताव सर्तका साथ स्वीकार्छन् । आफ्नी छोरीको सन्तान राजगद्दीको उत्तराधिकारी बन्न पाउने हो भने मात्र विवाह गर्न राजी हुने बताउँछन् । राजा मानसिक द्विविधामा पर्छन् । मानसिक रूपले आफ्नो छोरा गंगापुत्र देवव्रतको हक खोस्न पनि तयार हुँदैनन् भने अर्कातिर सत्यवतीलाई गुमाउन पनि चाहँदैनन् । मानसिक द्विविधाले ग्रस्त, रुग्ण र चिन्तित भएका सन्तनुको मनोदशाको कारण अन्ततः देवव्रतले थाहा पाउँछन् । अन्य राजपुरुषहरूका साथमा गएर धिवरराजसँग आफू सिंहासनमा नबस्ने, सत्यवतीबाट जन्मेको सन्तानले नै त्यसको स्थान पाउने भन्ने प्रण गर्दछन् । धिवरराज त्यसले मात्र सन्तुष्ट हुँदैनन् । देवव्रतलाई प्रश्न गर्छन्, “तिमीबाट पैदा भएका सन्तानले त्यसको परिपालना गरेनन् भने के हुन्छ ? जवाफ देऊ ।” त्यसपछि आजीवन विवाह नगरेर कुमार बस्ने कठोर प्रतिज्ञा देवव्रतले गर्छन् । कठोर प्रतिज्ञा गरेको कारण नै देवव्रतको नाम भीष्म जनिन पुग्दछ ।
 धिवरराज र सन्तनु दुवैको इच्छा पूरा हुन्छ । सत्यवतीसँग विवाह भएपछि राजा सन्तनुका चित्रांगद र विचित्रविर्य नामका दुई सन्तान हुन्छन् । दुवै राजकुमार युवावस्थामा पुग्दा नपुग्दै सन्तनुको निधन हुन्छ । आमा सत्यवतीका अनुसार भीष्मले चित्राङ्गदलाई राज सिंहासनमा राख्छन् । तर तिनले धेरै दिन राज्य गर्न पाउँदैन । गन्धर्वसँग युद्ध हुँदा चित्राङ्गद नामका गन्धर्वद्वारा नै मारिन्छन् उनी । त्यसपछि राज्य विचित्रविर्यको हातमा पुग्छ । भीष्मले हरण गरेर ल्याएका काशीराजका कन्या अम्बिका र अम्बालिकासँग विचित्रविर्यको विवाह हुन्छ । विचित्रविर्यको सन्तान नभैकन मृत्यु हुन्छ ।
वंशविहीन अवस्थामा पुगेको कुरुवंशीय राजघरानाको वंशको निरन्तरताका लागि नियोग पद्धतिद्वारा अम्बिका र अम्बालिकालाई पुत्रको कृपा गर्न सत्यवतीले व्याससँग आग्रह गर्छिन् । त्यसपछि क्रमशः अम्बिका, अम्बालिका र दासीबाट धृतराष्ट्र, पाण्डु र विदुर जन्मिन्छन् । जेष्ठ पुत्र भए पनि जन्मान्ध भएकाले धृतराष्ट्र राजसिंहासनमा बस्न अयोग्य मानिन्छन् । पाण्डु सिंहासनमा बस्छन् । यो कुण्ठाबाट धृतराष्ट्र कहिल्यै मुक्त भएनन् । धृतराष्ट्रका दुर्योधन लगायत सय जना छोरा हुन्छन् भने पाण्डुका युधिष्ठिरसहित पाँच सन्तान हुन्छन् । जसलाई क्रमशः कौरव, पाण्डव भनिन्छ । पाण्डुको मृत्यु हुन्छ । धृतराष्ट्रमा राज्यको अभिभारा आउँछ । त्यसपछि व्यासबाट अनिष्ट भविष्यको संकेत पाएपछि सत्यवती आफ्ना दुई बुहारी अम्बिका र अम्बालिका लिएर वनमा जान्छिन् । त्यसरी धिवरराजको अवैधानिक राजनीतिक महत्वाकांक्षा वनमा गएर टुंगिएको थियो ।
धृतराष्ट्र पाण्डुका टुहुरा पुत्रका असल अभिभावक र संरक्षक हुन सकेनन् । आफ्ना छोरा दुर्योधनको मोहमा फसेका उनको विवेक बन्धक बन्दछ । उनले चाहेको भए कौरव र पाण्डव बीचको कुरु क्षेत्रको युद्ध रोक्न सक्थे । एकलौटी राज्य भोगको लिप्साले ग्रसित कौरवका कारण पाण्डव र कौरव पक्षको युद्ध हुन्छ । युद्धको नरसंहारमा धृतराष्ट्रका सयपुत्र कोही बाँकी रहेनन् । युद्धपश्चात् राजा भएका युधिष्ठिरले धृतराष्ट्र र गान्धारीलाई ससम्मान राख्छन् । तापमा परेका धृतराष्ट्रलाई शान्ति हुँदैन । वन जाने निर्णय गर्छन् । युधिष्ठिरले सम्झाए पनि मान्दैनन् । गान्धारीको काँधमा हात राख्दै वन प्रस्थान गरेका उनीहरूको सेवा गर्न भन्दै पाण्डवहरूकी आमा कुन्ती पनि पछि लाग्छिन् । तीन वर्षमा वनमा बिताएका धृतराष्ट्र स्नान पूजादि गरेर आफ्नो आश्रम फर्किरहको बेला वनमा एकाएक डढेलो लाग्छ । अन्ततः धृतराष्ट्र, गान्धारी र कुन्ती तिनै जनाले दावानलमा आफ्नो जीवन समाप्त पार्छन् । त्यसरी अस्वाभाविक धृतराष्ट्रको राजनीतिक महत्वाकांक्षा वनको डढेलोमा टुंगिन पुगेको थियो ।
नेपालको इतिहासमा राजा राजेन्द्रविक्रम शाहका दुई रानी जेठी सामराज्य लक्ष्मी सिंह र कान्छी राज्यलक्ष्मीका क्रमशः सुरेन्द्र र रणेन्द्र नामका छोरा थिए । परम्परागत रूपमा जेठो भएकाले वैधानिक उत्तराधिकारी सुरेन्द्र थिए । तर कान्छी रानी रणेन्द्रलाई राजा बनाउने आकांक्षा पाल्छिन् । त्यसैले भाइभारदारका बीच गुट जन्मिन्छ । कोतपर्व र भण्डारखाल जस्ता नरसंहारका घटना घट्छन् । रानीको अभिलाषा पूरा हुँदैन । त्यसले जंगबहादुरको उदय गराउँछ । १०४ वर्षसम्म को अविछिन्न राणाशासनको कारणमध्ये रानीको आकांक्षा एक हुन्छ । काशीबाट फर्केका राजा राजेन्द्रविक्रम अलौ भन्ने ठाउँमा जंगबहादुरका सैनिकद्वारा पराजित हुन्छन् । नजरबन्दमा पर्छन् । ३४ वर्षको नजरबन्दमा बिताएका उनको मृत्यु हुँदा उनको शोक मनाउने छोरा सुरेन्द्र र नाति त्रैलोक्य दुवै बितिसकेका थिए ।
हो, अहिले कांग्रेसको पराजित हुनुका कारण खोज्दा कतै नेतृत्वका अस्वाभाविक राजनीतिक आकांक्षाको भूमिका त थिएन ? २०४८ सालको आम निर्वाचनमा सहज बहुमत पाएको कांग्रेसले आफ्नै कारण स्थायी सरकार दिन सकेन । स्थायित्वका लागि भन्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला मध्यावधिको निर्वाचन २०५१ मा हामफाल्नु कांग्रेसका लागि पहिलो दुर्भाग्य थियो । २०४८ सालमा कोइरालाको नेतृत्वको मन्त्रिमण्डलका सदस्य वासुदेव रिसाल, ढुण्डिराज शास्त्री, चिरञ्जीवी वाग्ले र तारा रानाभाटलाई कुनै जानकारी नदिई निष्काशन गर्नुले अन्ततः ७४ र ३६ से गुटलाई जन्माउने बिउ बन्न पुगेको थियो । २०५६ सालको आम निर्वाचनमा भावी प्रधानमन्त्रीका रूपमा कृष्णप्रसाद भट्टराईलाई उभ्याएको थियो । सहज बहुमत प्राप्त गरेर कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठन भएको मन्त्रिमण्डललाई कसरी विस्थापित गरियो, त्यसको साक्षी इतिहास छ । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई कांग्रेसमा अटाएनन्, किनारामा पारिए ।
कांग्रेसका लागि जीवन समर्पण गरेकी शैलजा आचार्यलाई संसदीय सुनवाइको नाममा रुवाउँदा उनको प्रतिरक्षामा उत्रनुभन्दा आचार्य पो रोएकी हुन् त हामी होइन भन्ने आत्मरतिमा रमाउनु, कुशल संगठनकर्ता र प्रखर बौद्धिक क्षमता भएका कांग्रेसका खुमबहादुर खड्का र जयप्रकाश गुप्ता भ्रष्टाचारजन्य अभियोगमा दोषी ठहर हुनु, कांग्रेस विभाजन भएर एकीकरण भए पनि विभाजित मानसिकताका अवशेष सशक्त हुनु आदि इत्यादि प्रशस्त कारण छन्, इतिहासमा जसले अहिलेको अवस्थामा कांग्रेसलाई पु¥याउन मद्दत गरेका छन् । त्यसमा पनि कांग्रेसमा नराम्रोसँग सैद्धान्तिक विचलन भएको थियो । विश्व कम्युनिस्ट आन्दोलनविरुद्ध वैचारिक बहस र सशक्त प्रतिवादका लागि सन् १९५१ मा स्थापना भएको “सोसलिस्ट इन्टरनेशनल” को कांग्रेस सदस्य हो । कुनै बेला यस संस्थाको उपाध्यक्षको नेतृत्व बिपी कोइरालाले गरेका थिए भनिन्छ । उक्त संस्थाको सदस्य कांग्रेस कहिले हँसिया हतौडा र कहिले हलोमा मत माग्दै हिँड्छ भने उसको हैसियत के हुन्छ ? टिकट वितरणमा काखा र पाखा हुनु, कांग्रेसको दर्शन बुझेका र वैचारिक बहसमा खरो उत्रन सक्ने धनराज गुरुङ र गुरुराज घिमिरे जस्ता युवा उम्मेदवार चयनमा पाखामा पर्नु, परिवारवाद हाबी हुनु, स्थानीय निकायको निर्वाचनमा माओवादीलाई सामीप्यमा लिएको कांग्रेसले कम्युनिस्ट अधिनायकवादको कुरा गर्नु आफैँमा विरोधाभाष र फितलो तर्क थियो, सामूहिक र पद्धतिगत रूपमा निर्णय नगर्नु आदि धेरै कुराको प्रभाव परेको कुरालाई कांग्रेसले नकार्न मिल्दैन । कुनै बेला पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई गणेशमानले लेखेको पत्रमा भनेका थिए, “मेरो पार्टीसँग निकट अतीतमा भएका हाम्रा गलत नीतिहरूलाई सच्याउने र आफ्नो गौरवपूर्ण परम्परा थाम्ने विवेक र चेतना जागोस् भन्ने कामना पनि अरण्यरोदन साबित हुन बेर छैन । किनभने पतनशील व्यक्ति र संस्था र समाजको मति भ्रष्ट हुन्छ । मति भ्रष्ट भएपछि उसले कुनै कुरा सुन्न, सोच्न र ठम्याउन सक्दैन । इतिहासकै प्रारूपमा कांग्रेसले आत्मसमिक्षा गर्दै जनमतको सम्मान गर्नुको विकल्प छैन अब ।

प्रकाशित: ६ पुस २०७४ ०३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App