हालका केही महिनायता देश छाड्ने र विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको बढ्दो संख्यालाई मैले नजिकबाट नियाल्दै आइरहेको छु। यो भयानक दृश्यले मलाई केही गम्भीर र चिन्तित पनि बनाएको छ।
आज उनीहरू किन स्थानान्तरण प्रमाणपत्र वा सिफारिसपत्र प्राप्त गर्न सम्बन्धित निकायमा धाइरहेका छन्? आफ्नो देश, मातापिता र प्रियजनलाई छाडेर किन उनीहरू विदेशिन खोजिरहेका छन्? यस्ता गम्भीर प्रश्न वा प्रतिप्रश्नको जवाफ कहिले पाउने र कसले दिने हो? वर्तमान समयमा शैक्षिक क्षेत्रमा देखिएको अन्योल र समाधानको दृष्टिकोणलाई यस आलेखमा प्रस्तुत गर्न खोजिएको छ।
वास्तवमा माथि उल्लिखित प्रश्नहरूमा विद्यार्थीबाट आउने गरेका जवाफ कतिपय स्वाभाविक पनि छन्। ‘चार वर्षे स्नातक तह पाँच वर्षमा पनि पूरा हुँदैन। मैले पढ्न चाहेको विषय नेपालमा उपलब्ध पनि छैन वा यहाँको पाठ्यक्रम नै पुरानो छ’ आदिआदि।
संक्षेपमा देशमा सञ्चालित उच्च शिक्षा कार्यक्रम तथा शिक्षा नीतिप्रति हाम्रा युवाहरूको विश्वास गुमेको महसुस हुन्छ। जीवनमा सार्थक र स्पष्ट उद्देश्य राखेर नेपालमा बसेर आफ्ना सपना साकार पार्न युवाहरूलाई साँच्चै गाह्रो भएको छ। विश्वास गुमाउनु भनेको सम्बन्ध वा सोको बन्धन गुमाउनु हो चाहे त्यो परिवार, नाता सम्बन्धमा होस् अथवा संस्थागत स्तरमा होस, चाहे त्यो बृहत्तर अर्थमा देशमा विद्यमान राष्ट्रि«य प्रणालीमा नै किन नहोस्, यो विश्वास र बन्धन गुमाउनु समाज र देशका लागि गम्भीर चिन्ताको विषय हो।
विदेशिएका विद्यार्थीको जीवन
एउटा दृष्टिबाट हेर्दा उन्नाइस–बीस वर्ष वरिपरिका कलिला युवा आफ्ना सपनाको उडान भर्न बुबाआमा, आफन्त र आफू जन्मे/हुर्केको प्रिय परिवेश छाडेर विदेशिन लाग्दाको परिदृश्यले निकै भावुक र अति मर्माहत तुल्याउँदो रहेछ।
साँच्चै उनीहरूमा आउने एक्लोपन, पराइ भूगोलमा भविष्यमा आउन सक्ने आर्थिक सङ्कट, पारिवारिक एवम् सामाजिक दबाब जस्ता विषयहरूको उनीहरूको मानसपतालमा अनवरत र गम्भीर युद्घ जो कोहीले बेवास्ता गर्न सकिएला र? यी बढ्दो उमेरका कलिला युवा नयाँ संस्कृति र वातावरणमा आफूलाई जबर्जस्त समाहित गर्दै पाइपाइ पैसा हिसाब राखी खर्च गर्न र जीविकोपार्जन गर्न बाध्य छन्।
यीमध्ये कोही भाग्यमानीले राम्रो छात्रवृत्ति पाएर अलि कम बोझिलो जीवन परिवेश पाएका हुन्छन्, केहीको परिवार सम्पन्न भएकाले उनीहरूको वैदेशिक जीवन केही सहज भए पनि थोरै आयआर्जन र कमजोर पारिवारिक पृष्ठभूमिबाट आएका बहुसङ्ख्यक युवाहरूले निकै कष्टकर जीवन बाँच्ने विवश दृश्य र खबरहरू हामीले सुनिरहेका, देखिरहेका र पढिरहेका छौँ।
दुःखका साथ भन्नुपर्छ, युवा विद्यार्थीलाई नेपालमै शिक्षित गर्ने कुरामा कुनै पनि निकायले पहरेदारी गर्न सकिरहेको छैन।
पक्कै पनि सबैले नयाँ परिवेशमा आफ्नो नयाँ परिचय बनाइरहेका हुन्छन्। आफूलाई समयअनुसार नयाँ परिचयका साथ स्थापित गराउन चाहनु मानवीय स्वभाव पनि हो। यही सिलसिलामा नयाँ परिवेशमा कसैले आफूलाई समायोजन गर्दै अति विकसित मुलुकहरूको अत्याधुनिक शिक्षा प्रणाली र पाठ्यक्रममा आफूलाई मूलधारमा अगाडि बढाइरहेको पाइन्छ भने कोही सहानुभूतिपूर्ण जीवन, कसैले अपमानजनकरूपमा त कसैले असहायरूपमा आफ्नो मातृभूमिको उच्च शिक्षा प्रणालीमा आमूल सुधार र परिवर्तन गर्नुपर्ने आवाज उठाइरहेका छन्।
अर्को दृष्टिकोणबाट हेर्दा प्रथम विश्व देशमा उपार्जन गर्दै पढ्दै र सिक्दै जाने अवसर त पाएका छन्। त्यो अवसरसँगै धेरै विद्यार्थीले अन्य चुनौतीहरू सामना गर्न परिरहेको छ। ती चुनौती र समस्याहरूमा अध्ययन अनुमति भिसाको समाप्ति हुनु, आफ्नो बैँक मौज्दात अधिकतम अर्को दुई महिनाको बिल तिर्न मात्र बाँकी रहनु रहेका छन्।
त्यसैगरी विद्यार्थी भिसाको समयावधि लम्बाएर स्नातक कार्यक्रममा भर्ना हुन तथा स्नातक कार्यक्रमपछि पनि उनीहरूको अनिश्चयता बाँकी रहनु पनि प्रमुख चुनौती बन्न पुगेका छन्। यस्तो अवस्थामा उनीहरूले आफ्नो भिसा अवधि बढाउनका निम्ति रोजगारदातामा निर्भर रहनुपरेको छ। यद्यपि यीमध्ये केहीले उन्नत जीवन र भविष्य खोज्न सफल पनि हुन्छन्।
जीवनयात्राको क्रममा हरेकले सङ्घर्ष त गर्नुपर्छ नै। विदेशमा होस् वा स्वदेशमा संघर्ष त गर्नुपर्ने हुन्छ नै तर यसको प्रकृति र स्वरूपमा भिन्नता रहने गर्छ। तथापि यस्ता युवा आशावादी विद्यार्थीहरू देशको शिक्षा प्रणालीमा भरोसा गर्न सकिने अवस्था नरहेकाले विदेशमा संघर्ष गर्न तयार भएका हुन्छन्।
विद्यार्थीको पुनःविश्वास जित्नुपर्ने समय
विद्यार्थीहरूको विश्वास पुनः प्राप्त गर्ने कुरा मुख्यरूपले नेपालका प्रमुख विश्वविद्यालयहरूको शैक्षिक कार्यक्रमहरूमा निर्भर छ। यसका लागि केही सहज चरणहरू मात्रै पूरा गर्न सके पूर्णरूपले निराश भइसकेका विद्यार्थीहरूमा पनि केही आशा र विश्वास जगाउन सकिन्छ। यसो भएमा युवाहरू आफ्नै सपना र रुचिअनुसार आशा र अपेक्षाहरू फैलाउन सक्छन्।
वास्तवमा उनीहरूको असम्भव र महाकाव्यिक आशा र सपनाहरू पनि होइनन्। नेपालको शिक्षा नीति तथा प्रणाली, विश्वविद्यालय सम्बद्ध अधिकारीहरू, नीति निर्माताहरू, प्राधिकृत प्रशासकहरूको दृढ इच्छाशक्ति र मजबुत नेतृत्वले नै नेपालको उच्च शिक्षामा दूरगामी सकारात्मक प्रभाव पार्नेखालको आमूल परिवर्तन ल्याउन सकिन्छ।
निर्धारित शैक्षिक वर्ष र शैक्षिकपात्रो
राष्ट्रका सबै विश्वविद्यालयमा निर्धारित शैक्षिक वर्ष र समृद्ध शैक्षिकपात्रोको निर्माण गर्न र कार्यान्वयन गर्न सकेको खण्डमा उच्च शिक्षा प्रणालीको महत्वपूर्ण आधार निर्माण हुन सक्छ। कुनै पनि विश्वविद्यालयबाट राखिने सबैभन्दा मूल अपेक्षा नै सही तरिकाले तयार पारिएको वैज्ञानिक र व्यावहारिक शैक्षिकपात्रो हो। हाम्रा वरिपरिका भारत र चीन जस्ता देशहरू आफ्नो शैक्षिकपात्रोलाई पूर्णरूपले अनुशरण गर्छन्।
छिमेकी मुलुकहरूको मात्र कुरा होइन, देशभित्रकै केही विश्वविद्यालयले पनि आफ्नो शैक्षिक पात्रो बनाइ आफूले सञ्चालन गर्ने केही कार्यक्रमहरूमा यसको पूर्ण पालना गरिरहेका छन्। जसको फलस्वरूप विद्यार्थीहरूले एक महिनाभन्दा बढी नै सत्रान्त बिदा पाउने भएका छन्। फरक फरक विश्वविद्यालयले स्वतन्त्ररूपमा फरक फरक ढङ्गको शैक्षिकपात्रो निकाल्ने प्रवृत्तिले विश्वविद्यालयहरूका मात्र नभई कार्यक्रमहरूकै पनि शैक्षिक सत्रमा विविधता देखिन गएको यथार्थ हाम्रा सामु विदितै छ।
राष्ट्रिय स्तरमा राम्रोसँग तयार पारिएको शैक्षिकपात्रो विश्वविद्यालयहरूले कडाइका साथ अनुशरण गरेमा कलेज प्रवेश समय एकसाथ हुने, निर्धारित समयरेखामा वार्षिक परीक्षाहरू सम्पन्न गर्न र परिणाम एक दुई महिनाभित्र प्रकाशित गर्न सके शैक्षिक प्रणालीलाई व्यवस्थित गर्न सकिन्छ।
हरेक देशमा आमरूपमा अभ्यास हुँदै आएको विषय प्रस्तावित गर्नु कुनै काल्पनिक र असम्भव विचार अवश्य पनि होइन।
नेपालको शैक्षिक प्रणालीमा व्यावसायिक आवश्यकता र पाठ्यक्रमका सामग्रीका बीच ठूलै खाडल देखिन्छ। स्नातक तहको कार्यक्रमबाट दीक्षित भएका यहाँका विद्यार्थी व्यावसायिक क्षेत्रमा प्रवेश गर्दा त्यो क्षेत्रमा दक्ष र सान्दर्भिक जनशक्ति हुनका लागि आफूले पढेको र सिकेकोभन्दा धेरै कुरा चाहिँदो रहेछ भन्ने महसुस गरेका हुन्छन्।
यहाँ मैले परीक्षाका दृष्टिकोणले मात्र पाठ्यक्रमलाई हेरिने तितो यथार्थ नजरअन्दाज गरेकोचाहिँ होइन। त्यसैले चतुर विद्यार्थीहरूले चतुर्याइँका साथ प्रश्न बैँकको सरसर्ती पठन गरी डिग्री हासिल गर्छन्। यी विद्यार्थीले गहिरो गरी अध्ययन गरेका हुँदैनन्। (कतै परीक्षामा चोरी गरेर उत्तीर्ण भएका त होइनन्! ) यद्यपि सम्बन्धन प्राप्त कलेजहरूले पाठ्यक्रमलाई पूर्णता दिन विभिन्न कार्यक्रम अघि सारेका पाइन्छ। उनीहरूले विद्यार्थीहरूलाई नन् क्रेडिट पाठ्यक्रम, अतिरिक्त कार्यशाला, अनुसन्धान परीक्षण, अनुसन्धानमूलक सामग्रीहरूको प्रकाशन, प्रयोगशालाको अधिकतम उपयोग आदि अतिरिक्त कार्यकलापमा संलग्न गराएको देखिन्छ।
यस्ता शैक्षिक कार्यकलापका माध्यमबाट उनीहरूले आफ्ना विद्यार्थीलाई पेसागत जीवनका लागि महत्वपूर्ण आधार तयार पारिरहेका छन्। यसरी वैज्ञानिक, व्यावहारिक, सिपमूलक, अनुसन्धानमूलक पाठ्यक्रम निर्माण गरी पाठ्यक्रमलाई अग्रस्थानमा पु¥याउन विषयहरूलाई सतहीरूपमा व्यापक किसिमले समावेश गरेर होइन, विषयको गहिराइमा पुगेर पाठ्यक्रम निर्माणमा लाग्नु आजको आवश्यकता हो।
व्यवसायिक र सिपमूलक पाठ्यक्रम
नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने सम्भावित र बढ्दो बजार क्षेत्र भनेका सूचनाप्रविधी (आइटी) र व्यापार दुई क्षेत्र हुन्। यही कुरालाई बुझेर होला, थुप्रै विदेशी विश्वविद्यालयले नेपालको प्राविधिक र व्यावसायिक आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यले नेपालमा राम्रो स्थान बनाइसकेका छन्।
यो आश्चर्यको विषय होइन। नेपालमा बढ्दो उद्यमशीलता र सुरुवाती चरणका सक्रिय मस्तिष्कहरू भएका कारणले यी कुरा बुझेर शिक्षा र रोजगार प्रदान गर्ने काममा प्रमुखरूपमा प्राइभेट क्षेत्रहरू अगाडि देखिएका छन्।
नेपालमा सञ्चालित कुनै पनि विदेशी विश्वविद्यालयहरूले शुद्ध र सैद्धान्तिक कोर्स सञ्चालन गरेका छैनन्। प्राकृतिक विज्ञान वा व्यवस्थित प्रयोगशालाहरू देशमा रहेका सीमित स्थापित कलेजहरूमा मात्र देख्न पाइन्छ।
सूक्ष्म जीवविज्ञान र भौतिकशास्त्र जस्ता विषयहरूले देशमा शोध, अनुसन्धान र अन्वेषण कार्यमा महत्वपूर्ण योगदान दिन सक्छन् भन्ने तथ्यलाई हामी कसैले बिर्सन मिल्दैन। यस किसिमका अनुसन्धान र अन्वेषणका कार्यहरू अगाडि बढाएर रोजगारीका अवसरहरू सिर्जना गर्न राष्ट्रियस्तरबाटै सक्रिय कदमहरू चाल्नुपर्दछ।
जबसम्म निजी शैक्षिक संस्थाले शिक्षा, खोज–अनुसन्धान र अन्वेषणमा गरेको योगदानलाई सरकारी नियामक निकायले मान्यता दिँदैनन् तबसम्म ती निजी संस्थाले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कुनै अर्थ रहँदैन।
भनौँ, त्यस्ता योगदान पूर्णतया निष्प्रभावी हुन्छन्। जे भए पनि शोध अनुसन्धानकर्ताहरू विकासका प्रबुद्ध आधार हुन्। विडम्बना, यस्ता प्रबुद्ध जमातलाई देशमा कुनै अवसर र प्राथमिकता नै छैन। यसै कारण आज उनीहरू दुःखी हुँदै विदेश उडिरहेका छन्।
त्रुटिपूर्ण जवाफदेही प्रणाली
आज देशभित्र जवाफदेहिता हराउँदै गएको छ। युवा विद्यार्थीहरूका उच्च शिक्षाका अपेक्षा पूरा हुन सकेका छैनन्। उनीहरू कसकहाँ गुहार माग्न जाने? कार्यालय बन्द गर्नेलगायतका आन्दोलन र प्रदर्शनका अन्य स्वरूपले उच्च शिक्षामा खासै रूपान्तरण ल्याएको पाइँदैन। के विश्वविद्यालयहरू विद्यार्थीहरूप्रति जवाफदेही छन्? के न्याय निरूपण गर्ने निकाय र न्यायिक प्रक्रिया जिम्मेवार र जवाफदेही देखिन्छन्? दुःखका साथ भन्नुपर्छ, युवा विद्यार्थीलाई नेपालमै शिक्षित गर्ने कुरामा कुनै पनि निकायले पहरेदारी गर्न सकिरहेको छैन।
एउटा आशा
नेपालको शिक्षा प्रणालीसँगै आफ्नो पनि भलो र उन्नति चाहने युवा विद्यार्थीमा व्याप्त चरम निराशाका घटनासँगै, हालका दिनमा केही उल्लेखनीय सकारात्मक पक्ष पनि देखिएका छन्। नेपालका ठूला विश्वविद्यालयका केही विभागहरूले गएको शैक्षिक वर्षदेखि आफ्ना केही निश्चित कार्यक्रमका लागि शैक्षिक क्यालेन्डर प्रकाशन गर्नुका साथै त्यसको अनुशरण पनि गरेको देखिन्छ।
पढ्दै र कमाउँदै जाने नयाँ दृष्टिकोणमा विद्यार्थी आफ्नो शैक्षिक र पेसागत जीवनलाई एकसाथ अगाडि बढाउन सक्ने भएका छन्। पढ्दै र कमाउँदै जाने दृष्टिकोणलाई कार्यान्वयन गर्न सम्बन्धन प्राप्त निजी कलेजहरू अनुसन्धानमूलक र रोजगारीमूलक शिक्षा दिने कुरामा अनुकूल देखिएका छन्।
यस्ता संस्थामा पढ्ने नेपालका धेरै विद्यार्थीले अहिले पढ्दै र गर्दै जाने दुवै कुरालाई सन्तुलित र प्रभावकारी ढङ्गमा अगाडि बढाउँदै छन्। यसले गर्दा मेधावी विद्यार्थीले आफ्नो शिक्षा आर्जनलाई सहजीकरण गर्दै अन्तिम वर्षसम्म पुग्दा केही बचत पनि गर्न सक्ने भएका छन्। आज युवा विद्यार्थी उद्यमशील कार्यमा बढी संलग्न हुन थालेका छन्।
यो अर्को महत्वपूर्ण सुखद पक्ष हो। उनीहरूका सुरुवाती रोजगार र कर्महरू जीवनका महत्वपूर्ण र सिर्जनात्मक आधार बनेका छन्। यसरी शिक्षा, अनुसन्धान र अन्वेषणलाई प्राथमिकतामा राखेर समाज र देशप्रति समर्पित परिश्रमी युवा विद्यार्थीहरू विकासका वर्तमान र भविष्य पनि हुन्। उनीहरू नै प्रगतिका पथप्रदर्शक हुन्। शिक्षा र खोज अनुसन्धान गर्ने उनीहरूको निरन्तरको त्याग र बलिदानले देशको भविष्यलाई पक्कै निश्चित आकार र सुनिश्चितता दिन सक्नेछ।
प्रकाशित: १४ आश्विन २०८० ००:४४ आइतबार