७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

दलको सुसंस्कार र सुसंस्कृति

यो प्रकृतिमा समयानुसार कहिले कसको पालो कहाँ कहिले कसको पालो कुन भेगमा भन्ने कुरा सामान्य हो। तर दलहरूले यही वास्तविकता बुझ्न सकेनन्।

विश्व सधैँ द्वन्द्वमा छ। समाजशास्त्रीय मान्यतामा द्वन्द्व चलिरहने प्रक्रिया हो। यसबाट नेपाली समाज पनि अछूतो छैन्। तर पनि द्वन्द्व भनेको मानिसको आचरणबाट उत्पन्न हुने हो। यही आचरण र व्यवहारले समाजमा द्वन्द्वसिर्जना भएको छ। यसको प्रमुख कारण राजनीति हो। एक र अर्को पार्टीबीचको धारणा फरक भए पनि देश विकास र हितका लागि गरिने विकासमा पनि एकै सोच हुन सकेको छैन। एक पार्टीले अर्को पार्टीको सत्ता र विकासलाई अनुशरण गर्न नसक्दा आफू सत्तामा हुँदा गरेका काम सबै राम्रा अरूले गरेका सबै नराम्रा लाग्ने गरेका छन्। जसले समस्याको खाडल मात्र बढाएको छ। यस्तो अवस्थालाई संस्कृति र सुसंस्कारका ल्याइने सुधारले मात्र सपार्न सक्छ।

मुन्टोकाटा र ढाडकाटा

प्रकृति पनि अचम्म छ। मानिसको सभ्यताभन्दा अगाडि सामाजिक मनोविज्ञान छ। प्रकृति आफैं फरक छ। यही फरक फरक भूगोलमा फरक सामाजिक मनोविज्ञान छ। त्यही फरक सामाजिक मनोविज्ञानअनुसार समाजमा आआफ्नै सामाजिक कथा बुनिएका छन्। यी सामाजिक कथालाई भूगोलको विविधता अनुसार भिन्नभिन्नै तरिकाले विश्लेषण गरिएको छ। यी पुराना कथाले एक सामाजिक मनोविज्ञानसँगै सांकेतिकरूपमा समाजलाई चित्रण गर्दै एक पदमार्ग पनि देखाएका छन्।

यो प्रकृतिमा समयानुसार कहिले कसको पालो कहाँ कहिले कसको पालो कुन भेगमा भन्ने चल्नुलाई प्राकृतिक नियम नै मानिएको छ। यही नियमानुसार अब यो समाजको भूगोलबाट अर्को समाजको भूगोलमा बढी उत्पादन गर्ने क्रममा वारिपारि जाने क्रम चलिरहन्छ।

त्यही जाने क्रममा मूलबाटोमा धान र कोदोकोे भेट हुन्छ। अबको पालो भनेको वारि भेगको पालो धानको रहेको हुन्छ। यो क्षेत्रमा, यो वर्ष, धान बढी उत्पादन हुनेवाला छ भने पारिको भेगमा कोदो बढी उत्पादन हुनेवाला छ। प्राकृतिक नियमसँगै सामाजिक नियमानुसार पनि वारि भेगमा यो वर्ष कोदोको उत्पादन अध्याधिक भएको देखिने सामाजिक मनोविज्ञान छ। अबको पालो यो क्षेत्रमा धानको रहेको हुँदा कोदो पारी जाने क्रममा धानले कोदोलाई रुखो स्वरमा भन्छ–ए मुन्टोकाटा कहाँ हिँडिस्, अब तेरो कहाँको पालो हो?

कोदोलाई पनि आफूलाई मुन्टोकाटा भनेकोमा रिस उठेको हुन्छ। इँटाको जवाफ पत्थरले भनेझैँ कोदोले पनि जवाफ दिन्छ–तँ ढाडकाटा पनि कहाँँ हिँडिस्, तेरो कहाँको पालो हो?

यिनीहरूबीच भनाभन हुन्छ। जुन पछि युद्धमा परिणत हुन्छ। यिनीहरूको घमसान युद्ध हुन्छ। तर न जीत न हार हुन्छ। यो झगडा टुङ्गिदैन। अन्तमा धान यो युद्ध छाडेर आफ्नो बाटो लाग्छ।

बाटोभरि धानलाई मानसिक तनाव हुन्छ। धान त राजाको भोजन हो। हुनेखानेको भोजन हो। ठूलाबडाको भोजन हो। धनीमानि, ठूलाबडाले रुचाएको, सम्मान दिएको म धानलाई आज गरिव, दुःखीले भोजन गर्ने कोदोले ढाडकाटा भन्यो। उसको मन नै ठेगानमा छैन। अमन चयन भएर उसको मन छट्पटाइरहेको छ।

उसलाई लागेको छ– म राजाको भोजन धानले आज अपमानित हुनुपर्‍यो। कदर नै भएन। उसको मनमा अब धानको राजाकहाँ गएर आफू अपमानित भएको कुरा जाहेर गर्ने र आफू यो दुरवचनमा अपहेलित भएकोमा न्याय पाउनुपर्छ भन्ने लागेर धानको राजाकोमा उजुरी जाहेर गर्छः

श्रीमान,

धानको राजा

राजाहरूको पनि मिष्ठान भोजन

वासमति धान

हजुर,

म मार्सी धान हो। समयको नियमानुसार नै अब मेरो उत्पादनको पालो यो क्षेत्रमा थियो। यहीकारण यो क्षेत्रमा आउने क्रममा बाटोमा कोदोसँग भेट भयो। उसलाई बाटोमा भेट भएपछि ए मुन्टोकाटा कहाँ हिँडिस्, तेरो पालो कहाँ हो भन्दा उसले मलाई तँ ढाडकाटा पनि कहाँ हिँडिस्, तेरो कुन ठाउँमा उब्जने पालो हो? भनेर प्रतिपश्न गर्‍यो। मेरो नाम काटेर अपमान गरेको छ। उसले मेरो मात्र होइन, राजाको भोजन हामी सबैको खिल्ली उडाएको छ। मैलै न्याय पाऊँ हजुर।

हजुरको जो हुकुम !

मार्सी धान

यसपछि वासमति धानको दरबारमा बैठक बोलाइयो। धानका राजा वासमतिले आफ्नो आसन ग्रहण गरेका छन् भने अन्य धानमा जेठा बूढा, कोइली, झिनुवा, दर्मली र जाडो धानहरूको मात्र भेला गराइएको छ। मार्सी धान भने कुनामा मुन्टो निहुराएर बसेको छ। उसको अपेक्षा आजको यो निर्यणले आफ्नो इज्जत जोगिन्छ भन्ने छ। राजाको आज्ञाअनुसार सभामा उपस्थित सबैले पालैपालो यस विषयमा आआफ्नो राय प्रस्तुत गरे। धेरैको भनाइ थियो–हामीलाई कोदोले अपमान गरेको छ। त्यसैले कोदोलाई सजाय दिनुपर्ने राय धेरैको छ।

जेठाबूढा धानमध्ये उच्चस्तरीय मात्र नभइ परिपक्व पनि छ। अनुभव पनि छ। ऊ न्यायमूर्ति पनि हो। त्यसैले यो धानले के भन्छ भन्नेमा धेरैको कौतुहल छ। उनले यस्ता धेरै घटना पार लगाएका र उनको भनाइ नै राजाले समेत लालमोहर लगाउने भएकाले पनि जेठा बूढाको प्रतिक्रिया सबैका लागि चासो बनेको हो।

धानका राजा वासमतिले इशारा गरेपछि जेठाबूढा बोले–हेर साथी हो, हामीले अर्काले हामीलाई गाली गर्‍यो भन्दै उसका विरुद्ध लाग्नुभन्दा अगाडि हामीले पनि के भन्यौँ, झगडाको सुरुवात कहाँबाट भयो भन्ने कुराको जड पत्ता लगाउनु पर्छ। यो प्रकृतिको नियम हो। हाम्रो पालो कहिले कता, कहिले कता हो, त्यहीअनुसार जानुपर्छ। जाने क्रममा हामीले छिमेकीसँग पनि राम्रो सम्बन्ध बनाउनुपर्छ। छिमेकीलाई सत्कार र सम्मान दियो भने मात्र हामीले पनि सत्कार र सम्मान पाउन सकिन्छ।

हामीले छिमेकीको उछितो काट्यो भने उसको जवाफ पनि त्यही आउने हो। सम्बन्ध सुधारमा हाम्रो आचरण र व्यवहारले ठूलो भूमिका हुन्छ। हामी आफैँले राजाको भोजन भनेका छौँ।

 हामी आफूले होइन, अरूले नै राजाको भोजन भनेर सम्मानित भएर बस्न सक्नुपर्छ। त्यसपछि जेठा बूढाले आफ्नो निष्कर्ष सुनाए–हामीले पहिले कोदोलाई मुन्टोकाटा होइन, उसलाई पृथ्वीपाला भनेर सम्बोधन गरेर बोलाउँ। उसलाई त्यो भन्दा पनि अपमान गरेको ठानेमा के भनेर बोलाउने भन्नेबारे सोच्नुपर्छ।

जेठा बूढाको निष्कर्ष अन्तिम भयो। अब यसको निक्र्यौल गर्न एकवर्ष लाग्ने भयो। वर्ष पनि सकियो। अब धानको पालो यो क्षेत्र छाडेर अर्को ठाउँ जाने बेला भयो भने कोदोको पनि त्यो क्षेत्र छाडेर अर्को क्षेत्रमा जाने पालो आयो। बाटामा फेरि धानको र कोदोको भेट भयो। भेटमा मार्सी धानले कोदोलाई नम्र भाषामा सोध्यो–कहाँ हिँड्नुभयो पृथ्वीपाला? अब कहाँको पालो हो?

कोदोले पनि शिर झुकाउँदै भन्यो: कहाँ हिँड्नुभो राजाको भोजन? अब हजुरको चाहिँ कहाँको पालो हो?

यसपछि दुवैले अंकमाल गरे।नेपालका दलले यति कुरा मात्र सिक्न सके पनि धेरै समस्याको समाधान स्वतः हुन्छ।

प्रकाशित: २५ भाद्र २०८० ००:४१ सोमबार

दलको सुसंस्कार र सुसंस्कृति मुन्टोकाटा र ढाडकाटा