महाभारतकालमा पाण्डव र कौरव पक्षबीच भएको महायुद्धमा कौरव पक्षले पाण्डवहरूलाई पराजित गर्न चक्रव्यूह रचना गरेका थिए। कौरवहरूका सेनापति गुरु द्रोणाचार्यले रचना गरेको उक्त चक्रव्यूह भत्काउने ज्ञान केवल अर्जुन, कृष्ण, प्रद्युम्न र अभिमन्युसित मात्रै थियो। जुनबेला त्यो व्यूह रचना गरियो त्यसबखत रणभूमिमा अभिमन्यु मात्र उपस्थित थिए, चक्रव्यूहमा प्रवेश गर्न जान्नेहरूमध्ये। तर दुर्भाग्य, अभिमन्युले त्यस चक्रव्यूहबाट बाहिर निस्कने ज्ञान भने पाएका थिएनन्।
महाभारत कथाअनुसार सुभद्राले अभिमन्यु कोखमा छँदा कृष्णसँग चक्रव्यूहसम्बन्धी जिज्ञासा राखेकी थिइन्। कृष्णले पनि शुभद्राको जिज्ञासा मेटाउन सबिस्तार चक्रव्यूहबारे बताउँदै गए तर बीचमा शुभद्रा निदाउन पुगेका कारण कृष्ण पनि रोकिनुपर्यो। कृष्णले बताएका कुरा सबै गर्भमा रहेका अभिमन्युले पनि सुनेर त्यससम्बन्धी ज्ञान प्राप्त गरेका थिए तर त्यो ज्ञान अपूरो रह्यो।
कुरु क्षेत्रको रणभूमिमा चक्रव्यूह रचना गरिएको समयमा त्यससम्बन्धी ज्ञान भएका अन्य कोही पनि त्यहाँ उपस्थित नभएका कारण अभिमन्युको काँधमा त्यो अभिभारा आइपर्यो। उनी आफूले पाएको ज्ञान प्रयोग गरी जुन तहसम्म पुग्न सक्ने हो त्यहाँसम्म वीरतापूर्वक पुगे। अन्ततः उनको अल्पज्ञानले पूर्ण रूपमा चक्रव्यूह भेदन गर्न सकेन र बीचमै मृत्युवरण गर्न बाध्य भए।
नेपाली राजनीतिको चक्रव्यूह पनि अति नै पेचिलो छ। पूर्णरूपमा भेदन गर्नै नसकिने। छिनछिनमा यताउता कतैबाट बाधा व्यवधान उब्जिरहने। यो देशभित्र २००७ सालदेखि २०६३ सालसम्ममा प्रजातन्त्र अनि लोकतन्त्रका लागि धेरंै आन्दोलन, क्रान्ति र जनयुद्ध भए। धेरै पार्टी, त्यसका कार्यकर्ता र समर्थक ती आन्दोलनमा होमिए। विभिन्न नाममा व्यवस्था परिवर्तन भए। विभिन्न नेता उदाए। सँगसँगै कति अस्ताए पनि। कति योद्धाले प्राण आहुति दिए, कति आन्दोलनकारीले शहादत प्राप्त गरे। आज पनि देशको उन्नति, प्रगति, विकास र समृद्धिका भोका नेपाली जनता आफ्नै धुनमा एकचित भएर, आफ्नै गतिमा अघि बढिरहेका छन्, सुख भेटिने आशमा।
कुरु क्षेत्रको रणभूमिमा चक्रव्यूह रचना गरिएको समयमा त्यससम्बन्धी ज्ञान भएका अन्य कोही पनि त्यहाँ उपस्थित नभएका कारण अभिमन्युको काँधमा त्यो अभिभारा आइपर्यो। उनी आफूले पाएको ज्ञान प्रयोग गरी जुन तहसम्म पुग्न सक्ने हो त्यहाँसम्म वीरतापूर्वक पुगे।
२००७ सालदेखि आजसम्म नेपाली जनताले परिवर्तनको आसमा धेरै जनप्रतिनिधि चयन गरे। विभिन्न नाम र संवैधानिक पहिचान भएका व्यवस्थापिका तथा कार्यपालिकाहरूमा खटाइ पठाए। तर आज पनि आसलाग्दो र समयसापेक्ष सुखद अनुभूति दिने कुनै पनि प्रकारको समृद्धिको स्वाद चाख्न नपाएको आवाज गुञ्जी नै रहेका छन्, यत्रतत्र।
नेपाली दल र त्यसका नेताहरूले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापना गर्न धेरै समर्पण, बलिदान र योगदान गरेका छन्। जेल नेल सजाय भोगेर कठिनतम् यातना बेहोरेका छन्। यसमा कुनै सन्देह छैन। यी त भए भौतिक सजाय, काराबास, शारीरिक उत्पीडनका कुरा। त्यसबाहेक पनि उनीहरूले भोगेका मानसिक यातना, निर्वासनको दुःख भोगाइ, पारिवारिक वियोगका वेदना; भोग्नेहरूले बाहेक अरू कसैले बुझ्नै सक्दैनन्।
नेपाली जनताले उनीहरूको त्यही त्याग, देश र जनताप्रतिको जिम्मेवारीपूूर्ण भावना र सद्भावको कदर गरेर उनीहरूलाई नै पटकपटक निर्वाचित नगरेका पनि होइनन्। कतिपय अवस्थामा त वर्षौँ वर्ष अनुहारै नदेखे तापनि नामकै भरमा छानेका छन्, उनीहरूको योगदानको कदर गरेका छन्।
निसन्देह नेतृत्वमा हुनुपर्ने गुणमध्ये त्याग-तपस्या, बलिदान पनि एक हो। तर यो सबथोक चाहिँ होइन। कार्यकारी तहमा पुग्दाखेरी व्यवस्थापकीय क्षमता पनि आवश्यक पर्छ। जुन हाम्रा नेताहरूले आफूमा कमी भएको महसुस अवश्य गरेको हुनुपर्दछ। यो मेरो अनुमान हो जुन गलत पनि हुन सक्छ। व्यवस्थापकीय क्षमता भनेको प्रशासनिक संयन्त्रहरूलाई प्रभावकारी ढंगबाट सुचारू र जीवन्त राख्न सक्नु हो। नेतृत्व तहमा देशलाई कुन उचाइ र गन्तव्यमा पुर्याउने भन्ने दृष्टिकोण नभएकोचाहिँ पक्कै होइन। तर कहीँ कतै के नमिलेको, केही नपुगेको वा कतै अल्मलिएको जस्तो अवस्था देखिन्छ। प्रशासनिक संयन्त्रहरूलाई उपयुक्त ढंगले परिचालन गर्न नसक्नु पनि यसको कारण हुन सक्छ। यो देशको प्रशासनिक संयन्त्रलाई भताभुंग पारी पंगु बनाउनुमा पनि त राजनीतिक दलहरूकै भूमिका रह्यो।
देश र जनताप्रति जवाफदेहिता नभएको प्रशासनको कार्यशैलीले देशको रथ अघि बढदै बढ्दैन। रथ नै अड्केपछि विकासको गन्तव्य कहिले भेट्ने, कहिले युद्ध जित्ने? महाभारतको युद्धमा पनि त शक्तिशाली कौरवहरू जोसँग एक सय एक कहलिएका योद्धा थिए, अन्तमा उनीहरूले हार बेहोर्नुपर्यो। यता कमजोर ठानिएका पाण्डवहरूले भने कृष्णको नेतृत्व पाएका हुनाले विजयी बन्ने सौभाग्य पाए। एक हिसाबले कृष्ण कुशल रणनीतिकार थिए, व्यवस्थापक थिए अनि दूरदर्शी थिए।
नेपाली दल र त्यसका नेताहरूले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापना गर्न धेरै समर्पण, बलिदान र योगदान गरेका छन्। जेल नेल सजाय भोगेर कठिनतम् यातना बेहोरेका छन्।
हाम्रा नेताहरूले धेरै आन्दोलन, अभियानहरूको सफल नेतृत्व गरेका छन्। यसमा कुनै सन्देह छैन र संकोच मान्नुपर्ने कुरा पनि छैन। राम्रोलाई राम्रो भन्न कुनै कञ्जुस्याइँ गर्नुहुन्न र नराम्रोलाई नराम्रो भन्न संकोच पनि मान्नुपर्दैन। कसैले गल्ती औल्यायो भन्दैमा ऊसँग रिस गर्नुको साटो आलोचनालाई सुझावका रूपमा ग्रहण गरी भविष्यमा त्यस्ता गल्ती नदोहोर्याउनु नै बुद्धिमत्ता साबित हुन्छ।
कुनै अभियान अथवा आन्दोलन हाँक्न सक्ने क्षमता नेतृत्वकर्तामा हुन्छ। त्यसैले त उसलाई नेता भनिन्छ। उसले हजारौँ कार्यकर्ता र समर्थकहरूलाई कुनै एउटा अभियानको उद्देश्य प्राप्तिका लागि परिचालन गरेको हुन्छ। हजारौँको संख्यामा उर्लेको जनलहरलाई व्यवस्थित ढंगबाट परिचालन गर्नु पनि एउटा नेतृत्वदायी क्षमता हो। यस्तो क्षमता लाखौँमा एकजनासित हुन्छ र उनीहरू नै सही मानेमा युग पुरुष कहलिन्छन्।
हजारौँ हजारको संख्यामा परिचालित आन्दोलनकारीहरू कुनै पनि आन्दोलनको सफलताका लागि नभै नहुने शक्ति हो। त्यही शक्तिले कुनै पनि अभियानलाई गन्तव्यमा पुर्याउँछ। त्यो शक्ति कार्यकर्ताहरूको समूह पनि हुन सक्छ, स्वतःस्फूर्त रूपमा होमिएका आशावादी जनता पनि हुन सक्छन्। त्यो जनशक्ति कुनै पनि आन्दोलनका लागि अपरिहार्य हुन्छ। तर सफल आन्दोलनकारी हुन् भन्दैमा उनीहरू व्यवस्थापकीय र प्रशासनिक कार्यहरूमा पनि सक्षम, दक्ष र उपयुक्त हुनुपर्छ भन्ने अनिवार्य हुँदैन।
उनीहरूको योगदानको उच्च कदर हुनुपर्दछ तर प्रशासनिक संयन्त्रहरू र अन्य सरकारी निकायहरूलाई भर्ती केन्द्र बनाएर होइन। असल नेतृत्वले कुनै पनि अभियान अथवा आन्दोलन थाल्दा जसरी पनि सहभागी संख्या बढाउने नाममा जनतालाई आकर्षित गर्न अव्यावहारिक र अवास्तविक आश्वासन बाँड्नु गल्ती हुन्छ। त्यसले जनतामा आकांक्षा बढाउँछ र पछि गएर त्यही उनीहरूको मा बन्न जान्छ।
प्रकाशित: १८ भाद्र २०८० ००:३० सोमबार