विवेकशील नेपाली र साझा पार्टी अन्ततः विवेकशील साझा पार्टी बने। चरम निराशाले छोपेको नेपाली राजनीतिमा समान उद्देश्य बोकेका दुई दलबीचको एकता आफँैमा सकारात्मक सन्देश हो। यो दलले राजनीतिक रुपमा कति फराकिलो स्वरूप लिन्छ त्यो हेर्न केही समय कुर्नुपर्ने हुन्छ। जे होस्, यो एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्दै अबको एक दशकमा देशको सामाजिक तथा आर्थिक रूपान्तरणको नेतृत्व गर्ने सबैभन्दा ठूलो अवसर विवेकशील साझा पार्टीलाई प्राप्त भएको छ।
नेपाली नेतालाई चोर–चोर भनेर गाली गरिरहँदा के बिर्सन हुँदैन भने, संसारमा सबैभन्दा बाठो चोर नै हुन्छ। नेपाली नेताहरू पनि साह्रै बाठा छन्। त्यसैले त यति ठूलो राजनीतिक असन्तुष्टिबीच कुनै उल्लेखनीय काम नगरेर पनि चार–पाँच पटक प्रधानमन्त्री बनिरहन्छन्।
नेपाल बिग्रेको कारण सबैलाई थाहा छ। केही समयअघि मैले काठमाडौँको सडकमा भारी बोक्नेदेखि सुटटाई लगाएर हिँड्ने फरक उमेर समूहका १० जनालाई देश किन बिग्रियो भनेर सोध्दा सबैको उत्तर एउटै थियो, चोर नेता भएका कारणले देश बिग्रेको हो। जसलाई जहाँ सोधे पनि सबैले भन्ने पहिलो उत्तर यही हो— नेता नै चोर छन्।
भर्खरैको स्थानीय निर्वाचनमा हामीले देखिसकेका छौँ। नेपाली नेतालाई चोर–चोर भनेर गाली गरिरहँदा के बिर्सन हुँदैन भने, संसारमा सबैभन्दा बाठो चोर नै हुन्छ। नेपाली नेताहरू पनि साह्रै बाठा छन्। त्यसैले त यति ठूलो राजनीतिक असन्तुष्टिबीच कुनै उल्लेखनीय काम नगरेर पनि चार–पाँच पटक प्रधानमन्त्री बनिरहन्छन्।
यो परिस्थितिमा नयाँ दलले बनाउने बाटो पक्का पनि सजिलो छैन। दश वर्षे द्वन्द्वबाट खुला राजनीतिमा आएको पार्टी त एक दशक नपुग्दै पतनोन्मुख हुन सक्दो रहेछ भने बिनाकुनै राजनीतिक आन्दोलन जन्मन खोजेको दलले कति ठूलो स्वरूप लिन्छ वा यो राजनीतिक दल नै नबन्ने पो हो कि भनेर सर्वसाधारणमा शंका र प्रश्न उठ्नु सामान्य हो।
पुराना राजनीतिक दलहरूको वैचारिक र सैद्धान्तिक धरातललाई ध्वस्त बनाइसकेका दलालहरूको हातबाट जोगिन नयाँ राजनीतिक दललाई पनि साँच्चिकै गाह्रो हुनेछ। देशको साधन–स्रोत दलालहरूको नियन्त्रणमा पुगिसकेको छ। शिक्षा, स्वास्थ्य, यातायात, इन्धन, भौतिक निर्माणजस्ता सार्वजनिक महत्वका क्षेत्रहरू सरकारको नियन्त्रणमा छैन। सबैतिर दलालहरू हाबी छन् र बिस्तारै ती दलालहरू आफैँ राजनीतिक नेतृत्व तहमा पुग्दै छन्। देशमा खुलेआम भ्रष्टाचार र अनियमितता भइरहँदा पनि राजनीतिक दल र तिनका भातृ संगठनहरू मूकदर्शक बन्न बाध्य हुनु राजनीतिक दलहरूमा दलालीकरण हाबी भएको दरिलो प्रमाण हो।
यस्तो उकुसमुकुस वातावरणमा सकारात्मक परिवर्तनलाई लक्ष्य बनाएर जन्मेका राजनीतिक दलहरू एक ठाउँमा उभिनु स्वागतयोग्य कुरा हो। सकरात्मक परिवर्तनका पक्षधरहरू ठूलो संख्यामा एक ठाउँमा नआईकन दलालमुखी राजनीतिलाई पराजित गर्न असम्भव छ। समाजमा जनचेतना अभिवृद्धि गर्न मात्र राजनीतिक दल खोलिँदैन। सबै राजनीतिक दलको लक्ष्य कि त आन्दोलन कि चुनावमार्फत राज्यव्यवस्था परिवर्तन गर्नु नै हो, हामी नयाँ हौँ, हामीलाई मौका दिनुपर्छ, हामीमा खराबी छ भने देखाइदिनोस् भनेको भरमा मात्र जनमत आफ्नो पक्षमा आउनेवाला छैन।
नेपालको हरेक क्षेत्रमा चरम बेथितिले जरा गाडेको छ। राजनीतिक तहमा मौलाएको भ्रष्टाचार र दण्डहीनता नै यसको प्रमुख जड हो। अब कांग्रेस, एमाले, माओवादीजस्ता राजनीतिक दलहरूको शुद्धीकरण सम्भव छैन। यिनीहरूलाई विश्वसनीय वैैकल्पिक शक्तिले विस्थापित गर्न सकेमा मात्र नेपाल र नेपालीको स्वर्णिम भविष्य कल्पना गर्न सकिन्छ। सार्र्वजनिक सेवाको प्रत्येक क्षेत्रमा डा. गोविन्द केसीजस्ता जुझारु योद्धाको खाँचो खड्किरहेेको छ। गोविन्द केसी एउटा छन्, त्यसैले उनी हरेक क्षेत्रमा पुग्न सक्दैनन् तर उनको जुझारुपनलाई विवेकशील साझा पार्टीले हरेक क्षेत्रमा पुर्याउन सक्नुपर्छ। विवेकशील साझा पार्टीले राजनीतिक तहमा मौलाएको दण्डहीनता र भ्रष्टाचारलाई प्रमुख मुद्दा बनाउनु पर्छ।
मैले राजनीतिक दल र विकास निर्माणसँग जोडिएका भ्रष्टाचारका मुद्दासँग लड्ने तीनवटा रणनीति देखेको छु : १) सडक र विकास निर्माणका परियोजनाहरू ठेकेदार र सरकारी पक्षबीच भएका सम्झौतासहित सार्बजनिक बहसमा ल्याउने। २) संसद् र सरकारमा प्रतिनिधित्व गर्ने सबै दलका भ्रष्ट र व्यक्तिगत फाइदाका लागि काम गरिरहेका सांसद तथा मन्त्रीहरूको सत्यतथ्य गतिविधि अभिलेख राख्ने र सार्वजनिक गर्ने। ३) भ्रष्टाचारको मुख्य वृक्ष असारे आर्थिक वर्षलाई नेपाली नयाँ वर्षसँग तालमेल खाने गरी वैशाखबाट नयाँ आर्थिक वर्ष सुरु गर्न राष्ट्रिय आन्दोलन घोषणा गर्ने। यी तीनवटा रणनीतिमा सफलता हात पार्ने हो भने एकातिर चुनावी मैदानबाटै विवेकशील साझा पार्टीलाई नेपालको पहिलो राजनीतिक पार्टी बन्न सक्ने ढोका खुल्नेछ भने अर्कोतिर नेपालमा मौलाएको राजनीतिक अराजकता र भ्रष्टाचार धेरै हदसम्म न्यूनीकरण हुनेछ।
संसद् र सरकार भ्रष्टहरूको थलो बन्यो। ठेकेदार, घरजग्गा कारोबारी, शिक्षा, स्वास्थ्य, बैंकिङ क्षेत्रका व्यापारीहरू ठूलो संख्यामा सांसद बनिसकेका छन्। पैसा तिरेर सांसद पद किनेका उनीहरू कुनै पनि दल वा नागरिकहरूप्रति जिम्मेवार हुँदैनन्। उनीहरूको प्रमुख स्वार्थ भनेकै सांसदको पदलाई आफ्नो फाइदाका लागी प्रयोग गर्नु हो। अहिलेको संसद्मा झन्डै १५ जना सांसद ठेकेदार छन्। उनीहरू सांसद पनि हुन् र ठेक्कापट्टाको काम पनि गर्छन्। बैंकिङ, स्वास्थ्य, शिक्षा, घरजग्गाका व्यापारी सबै सांसद जोड्यो भने यो संख्या ३० भन्दा बढी पुग्छ र यी सबै नेताहरूले बिक्री गरेको समानुपातिक सांसदको कोटा हो।
हरेक आर्थिक वर्षको अन्तमा झन्डै आधा विकास बजेट खर्च हुन्छ। असारे विकासको रूपमा ११ महिनामा खर्च हुन नसकेको पैसा एक महिनामा स्वाहा गरिन्छ। विकास निर्माणको काम गर्न असार सबैभन्दा अनुपयुक्त महिना हो, तर पनि यो प्रक्रिया निरन्तर चलिरहेको छ। असार महिना भ्रष्टहरूको चाडबाड हो। आर्थिक वर्षलाई नेपाली नयाँ वर्षमा समायोजन नगरेसम्म यो चरम भ्रष्टाचार रोक्न सकिँदैन। मौसमका हिसाबले चैत–वैशाख विकास निर्माणका काम गर्नलाई उपयुक्त समय हो।
हामी असारे विकासको नाममा हुने भ्रष्टाचारबाट आजित छौँ। सांसद, मन्त्री र राजनीतिक नेताहरूको आवरणमा मौलाएको बेथिति र भ्रष्टाचारबाट पनि आजित छौँ। यो सबैको जड राजनीति हो। त्यसैले राजनीतिक आवरण र संरक्षणमा जरा गाडेको भ्रष्टाचार वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाउन खोजेको विवेकशील साझा पार्टीको प्रमुख मुद्दा हुनुपर्छ।
प्रकाशित: १३ श्रावण २०७४ ०४:०३ शुक्रबार