१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

एमाले-राप्रपा तालमेलका संकेत

शिरमा ढाका टोपी, शरीरमा मयलपोस, अनुहारमा मुस्कानसहित एमाले संसदीय कार्यालयमा मंगलबार देखिएका एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष कमल थापाको फोटो दृश्यले नयाँ राजनीतिक समीकरणका संकेत गर्दै थियो। स्थानीय तह निर्वाचनमा पार्टीका कसलाई उम्मेदवार बनाउने भन्नेबारे एमालेभित्रै रस्साकस्सी चलिरहेको अवस्थामा एकाएक थापालगायतसँग चुनावी कार्यगत एकता बनेको छ। यो एकता आसन्न चुनावका लागि मात्र हो वा  पहिलो चरणको चुनावपछि अपेक्षित नयाँ सरकार निर्माणको राजनीतिलाई लक्षित भएर गरिएको हो? समयक्रममा खुल्दै र स्पष्ट हुँदै जानेछ। त्यसो त एमालेले माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चासँग पनि तालमेलको हात फैलाएको छ। नेपाली कांग्रेस र मधेसकेन्द्रितबाहेकका दलसँगको उसको चुनावी सहकार्य, राजनीतिक दर्शन, आमकार्यकर्ताको भावना र सिद्धान्तको कसीभन्दा चुनावलाई आफ्नो प्रक्षमा पार्ने, कांग्रेसलाई एक्ल्याउने र समग्रमा सत्ता राजनीतिसँग सम्बन्धित देखिन्छ।

कमल चुनावी तालमेलको गीत गाउँदै जनताको बहुदलीय जनवादी जहाजमा सवार हुन पुगेका छन्।् अहिले पनि समय छ एमालेहरू होसियार हुने।

काठमाडौं र ललितपुर महानगरपालिकामा राप्रपासँगको एमालेको तालमेल अहिले राजनीतिक वृत्तमा बढी चर्चाको विषय बनेको छ। यी दुई दलबीच अझै कसिलो सम्बन्धको संकेत देखिँदैछ। तालमेलका दुई पक्ष छन्। एउटा, स्थानीय तहको चुनाव परिणाम जो तालमेलमा संलग्न दलका समर्थकको इमानदारितमा निर्भर रहन्छ। अर्को,  सत्ता राजनीति जसमा आमकार्यकर्ताको भावना पन्छाएर सत्ताको राजनीति गर्ने सीमित नेताले प्रयोग गर्दे आएका छन्। यो तालमेलमा देखिएको एउटा कठोर पक्ष के हो भने तालमेलको नाममा मेयर वा उपमेयरमा एकजना महिला उम्मेदवार उठाउनैपर्ने निर्वाचन कानुनको भावनामा प्रहार गरिएको छ र विशेष गरेर एमालेले काठमाडौं र ललितपुरको राजनीतिमा होमिएका महिला नेता/कार्यकर्तामाथि घात गरेको छ।

कस्तो विडम्बना, काठमाडौं र ललितपुर महानगरपालिका प्रदेश नं. ३ अन्तर्गत पर्छन् र त्यसको संयोजन एमाले नेतृ अक्ष्टलक्ष्मी शाक्यले गरेकी छन्। एमालेको नीतिअनुसार प्रदेश नं ३ का नगरमा कसकसलाई उम्मेदवार बनाउने त्यसको छिनोफानो गर्ने जिम्मा शाक्यको हो। तर शाक्यमाथि ओलीहरू जाइलागेको देखिँदैंछ। तालमेलकै कारण एमालेले काठमाडौंमा मेयरमा विद्यासुन्दर शाक्यको मात्र उम्मेदवारी दिएको छ। उता ललितपुरमा भने मेयरमा हरिकृष्ण ब्यन्जनकार र उपमेयरमा सुकमान लामाको उम्मेदवारी परेको छ। राप्रपाले दुवै महानगरहमा मेयरमा उम्मेदवारी नदिएर उपमेयरमात्र दिएको छ। यसबाट के देखिन्छ भने एमाले–राप्रपा तालमेलको पक्षमा चुनावी परिणाम आयो भने मेयर वा उपमेयर एक पदमा महिला हुनुपर्ने कानुनी व्यवस्थाको  पालना हुने छैन। काठमाडौं र ललितपुर महानगरमा मेयर र उपमेयर महिला  हुने छैनन्। यस्ता अभ्यासबाट के बुझिन्छ भने  सत्ता राजनीतिबाट ग्रसित नेताहरू कार्यकर्ताका अवसर निमोठन पनि तयार हुँदारहेछन्।

नेपाली कांग्रेस र माओवादी केन्द्रको सत्ताबाट रातारात बाहिरिएका कमलको आफ्नै पार्टीभित्र खट्पट् छरपस्ट छन्। उनीसँगको सहकार्यबाट एमालेले धेरै पाउने हो वा गुमाउने हो चुनावका क्रममा प्रकट हुँदै जाने नै छ। तर एमालेका शुभचिन्तकहरूले बुझ्न आवश्यक छ– कमल थापा राजनीतिका त्यस्ता चतुर खेलाडी हुन् जो समय र परिस्थितिअनुसार जुनसुकै राजनीतिक रंगमा बदलिन सक्छन्, जस्तोसुकै राजनीतिक नारा अलाप्न सक्छन्। उनको अवसरवादी भूमिकाबारे राष्ट्रिय प्रजातन्त्र पार्टीको नेता लोकेन्द्रबहादुर चन्दले दुई दशकअघि नै पानीजहाजभित्रको मुसाको संज्ञा दिएका थिए। कमल चुनावी तालमेलको गीत गाउँदै जनताको बहुदलीय जनवादी जहाजमा सवार हुन पुगेका छन्।् अहिले पनि समय छ एमालेहरू होसियार हुने।

नेपालको राजनीतिमा दुईटा साना अवसरवादीले २ वटा ठूल्ठूला राजनीतिक दललाई खेलौना बनाइरहेका हामीले देख्दै/भोग्दै आएका छौं । राष्ट्रिय सहमतिका नाममा पार्टीको राजनीतिक सिद्धान्त, आदर्श, मूल्य र दर्शन सबै तिलाञ्जलि दिन पछि नपर्ने शीर्ष नेताहरू संविधानसभाको गणितको सामुन्ने नतमस्तक हुन्छन्। खासमा काग्रेस र एमालेले जनताले दोस्रो संधिवानसभा निर्वाचनमा दिएको आदेशको सम्मान गर्ने हो भने कमल र पुष्पकमलहरूको अवसरवाद र राजनीतिक धुर्त्याइ समाप्त हुने थियो। सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले सत्ताको बागडोरको नेतृत्व लिने र एमालेले जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने हो भने राजनीतिमा तेस्रो र चौथो शक्तिमा रहेकाको रजाइँ हुने थिएन। तर हामीकहाँ नेताहरूका संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको संविधान जारी गर्ने र तिनै नेताहरू हावापानी र माटो सुहाउने पञ्चायती राजनीतिको अनुशरण गर्दै जनतालाई राष्ट्रवादी र अराष्ट्रवादी कित्तामा बाँड्न पछि नपर्ने प्रवृत्ति सतहमा छन्। अहिले त्यही हावापानी र माटो सुहाउने राष्ट्रवादी सोचले एमालेका केपी र राप्रपाका कमलबीच चुनावी सौदाबाजी हुन सकेको देखिन्छ। 'राष्ट्रवादी' तन्तुले भौतिक द्वन्द्ववादमा विश्वास गर्ने वामपन्थी र धर्मको आडमा राजनीति गर्ने आडम्बरीबीच सहकार्य हुनसक्दो रहेछ भन्ने देखाएको छ।

एमालेलगायत केही दलबाहेक सत्ताधारी राजनीतिक दलले  प्रदेश नं. १,  २, ५ र ७ मा ३१ जेठमा चुनाव गर्ने र त्योभन्दा अगाडि संविधान संशोधन गर्ने राजनीति अख्तियार गरेका छन्। त्यसकारण पहिलो चरणको चुनाव सुुनिश्चित भएजस्तै दोस्रो चरणको चुनाव पनि हुन सक्छ त? अहिल्यै आकलन गर्न मिल्दैन। दोस्रो चरणको चुनावअगाडि नै संविधान संशोधन भएर मधेसकेन्द्रित दल चुनावमा सहभागी हुने बताइँदैछ। संविधान संशोधन हुन एमालेको साथ र समर्थन चाहिन्छ। एमाले पहिलो चरणको चुनावपछि आफ्नो अहिलेसम्मको स्थिति परिवर्तन गरेर संविधान संशोधनमा लागिपर्ने हो भने दोस्रो चरणको चुनाव सहजताका साथ सम्भव छ। नत्र गाह्रो छ। कमल र पुष्पकमलहरूको अवसरवादी भूमिकाका कारण संसद्को सबैभन्दा ठूलो दल कांग्रेस प्रतिपक्षी भूमिकामा खुम्चन सक्छ। मधेसकेन्द्रित दलहरू चुनाव स्वीकार्न पनि नसक्ने र बहिष्कार रोज्न पनि नपाउने अप्ठेरो स्थितिमा पुग्नेछन्। कांग्रेस–एमाले अवसरवादीहरूसँग तालमेल नगर्ने र जिम्मेवारपूर्वक प्रस्तुत हुने हो भनेमात्र दोस्रो चरणको निर्वाचन सम्भव छ।

प्रकाशित: २१ वैशाख २०७४ ०३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App