८ आश्विन २०८१ मंगलबार
image/svg+xml
विचार

उत्सवमय उम्मेदवारी

अन्ततः मुलुक स्थानीय तह निर्वाचनमा प्रवेश गरेको छ । तोकिएकै समयमा निर्वाचन होला/नहोला भन्ने शंकाको वातावरण दलहरूका गतिविधिले सिर्जना गरिरहेको हो । विशेषगरी प्रमुख दलले निर्वाचन समयमै हुनुपर्छ भन्ने अभिव्यक्ति दिनुबाहेक पूर्ण संलग्नता देखाउन सकेका थिएनन् । अझ कतिपय अवस्थामा उनीहरू आफैंमा पनि यसप्रति शंका र अनिच्छा प्रकट भएको पनि हो । उनीहरूलाई निर्वाचनप्रतिको आममतदाताको तीव्र चाहनाले समेत भाग लिन बाध्य पारेको हो । आममतदाताले लोकतन्त्रको उच्चतम अभ्यास आफ्नो मताधिकार प्रयोगमार्फत गर्छन् । यही जनादेशका आधारमा निर्वाचित प्रतिनिधिले मुलुकको शासनभार ग्रहण गर्छन् । संघीय लोकतान्त्रिक शासन व्यवस्था अपनाएको हाम्रो मुलुकका निम्ति त यस्ता निर्वाचनको महŒव झनै धेरै छ । लामो समयसम्म नियन्त्रित शासन व्यवस्थामा रहनुपरेका कारण जनतामा आफैं सरिक हुन पाइने लोकतान्त्रिक व्यवस्थाप्रतिको प्रतिबद्धता दह्रिलो छ । जस्तै कठिन परिस्थितिमा पनि आफ्नो लोकतान्त्रिक हकअधिकार प्रयोग गर्न उनीहरू लालायित हुने गरेका छन् । त्यसमा पनि स्थानीय निकायको निर्वाचन नभएको दुई दशक हुन लागेको छ । आवधिक निर्वाचन हुन नपाउँदा स्थानीय निकायको विकास निर्माण अवरुद्ध भएको छ, भ्रष्टाचार संस्थागत भएको छ र नागरिकले पाउनुपर्ने सेवाको प्रत्याभूति सुनिश्चित हुन पाएको छैन । 

पहिलो चरणमा प्रदेश ३, ४ र ६ मा यही वैशाख ३१ गते हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ताका लागि दल र स्वतन्त्र उम्मेदवारको सहभागिता उत्साहपूर्ण रह्यो । आआफ्ना समर्थक र सहयोगीसहित निर्वाचनमा सहभागी हुन उम्मेदवारहरू निर्वाचन अधिकृतको कार्यालय पुग्दाको उत्सवमय वातावरणले फेरि लोकतन्त्रको सुन्दर पक्ष उजागर गरेको छ । यो निर्वाचनमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । पहिलो चरणको निर्वाचन प्रयोजनका लागि ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदान हुनेछ । एउटा व्यापक सहभागिताको अभ्यासका रूपमा यो निर्वाचन रहनेछ । दलबीचको द्वन्द्व र प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग प्रकरणले निर्वाचनको वातावरण खलबलिने शंकालाई मनोनयन प्रक्रियामा रहेको उत्साहजनक सहभागिताले चिरेको छ । यतिका दिनसम्म प्रमुख दलले उम्मेदवारी निश्चित गरिसकेका थिएनन् । मनोनयन दाखिला गर्ने समयभित्रै उम्मेदवारी निश्चित गर्न उनीहरूलाई धौधौ परेको थियो । उम्मेदवारी दाखिलाका दिनमा आएर चुनावी तालमेल मिलाउने, अन्य दलका उम्मेदवारको शक्ति आकलन गरी आफ्नो तर्फबाट उचित उम्मेदवार चयन गर्ने काममा दलहरू दिनभरिजसो सक्रिय रहेको देखिएको छ । स्थानीय तह अधिकार सम्पन्न रहेका र त्यहाँ रहेर सर्वसाधारणको सेवा गर्न पनि सकिने अवस्था अहिलेको संविधानबाट देखिएको छ । यतिमात्र होइन, स्थानीय तहमा विकास निर्माणका लागि आउने स्रोतको व्यवस्थापन पनि अर्को आकर्षक पक्ष रहेको छ । स्थानीय तहमा राम्रो गर्न सक्ने दलका निम्ति यसपछि हुने प्रान्त र संघीय निर्वाचनमा पनि सफलता प्राप्त हुन्छ । लामो समयसम्म निर्वाचन नहुँदा स्थानीय स्तरमा कुन दलको कस्तो प्रभाव छ भन्ने जनमत बुझ्न पनि यो निर्वाचन सहायकसिद्ध हुनेछ । 

अबका १० दिन यो मुलुकका निम्ति अत्यन्त महत्वका छन् । हाम्रो लोकतन्त्रको प्रत्यक्ष अभ्यासमा सर्वसाधारणको सहभागिताले यसलाई थप बलियो बनाउनेछ । त्यसका लागि पनि निर्वाचनका निम्ति निरन्तर आग्रह भइरहेको हो । पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहको निर्वाचन हुँदैछ । यी स्थानीय तहमा ४ वटा महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका र १ सय ८६ गाउँपालिका पर्छन् । महानगरका १ सय २३, उपमहानगरका १९, नगरपालिकाका १ हजार ९१ र गाउँपालिकाका १ हजार ३ सय ६५ गरी जम्मा २ हजार ५ सय ९८ वडाध्यक्ष यो निर्वाचनबाट छानिनेछन् । कुल २ हजार ५ सय ९८ वडाका लागि चार सदस्यका दरले १० हजार ३ सय ९२ वडा सदस्य पदका लागि मनोनयन भएको छ । त्यतिमात्र होइन, यो निर्वाचनमार्फत महिला र दलित समुदायको प्रतिनिधित्वको व्यापकता पनि हाम्रो समाजमा स्थापित हुनेछ । दुई हजार ५ सय ९८ वडा सदस्यमा महिला, त्यति नै दलित महिला गरी कुल ५ हजार १ सय ९६ वडा सदस्य पदका लागि महिलाको उम्मेदवारी हुने यो निर्वाचन आफैंमा भविष्यको सुखद नेपालका निम्ति प्रस्थान विन्दु बन्न सक्छ । यसले व्यापकरूपमा महिला, दलित र सीमान्त नागरिकको नेतृत्व स्थापित गर्न मद्दत पुग्नेछ । निरन्तरको प्रयासपछि मात्र निर्वाचनको वातावरण बनेको हो । खासमा प्रमुख दलमा निर्वाचन हुने विश्वास देखिएको पनि थिएन । तर, निर्वाचनको वातावरण यसरी बन्दै गयो कि अन्ततः उनीहरूले आफ्ना पार्टीका उम्मेदवार मैदानमा खडा गर्नुपर्ने अवस्था सिर्जना भएको छ । लोकतन्त्रको यो उच्चतम अभ्यासको सफल कार्यान्वयनका निम्ति प्रत्येक मतदाताको सजगताको धेरै ठूलो अर्थ छ । लोकतान्त्रिक शासन व्यवस्थामा दलहरूको उपस्थिति र भूमिका भए पनि सचेत नागरिक यो पद्धति टिकाउने प्रमुख मार्गदर्शक हुन् । त्यसका निम्ति पनि नागरिक सजगता अहिलेको नेपालका निम्ति नभई नहुने पक्ष हो । यो चरणको निर्वाचनले जेठ ३१ मा हुने अर्को चरणको निर्वाचनको सफलता सुनिश्चित गर्नेछ । त्यसका निम्ति पनि आममतदाता अहिलेको चरणलाई सफल बनाउन थप सचेत हुनुपर्छ ।

प्रकाशित: २० वैशाख २०७४ ०५:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App