१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

प्रधानमन्त्रीको पूजापाठ कि परिपाठ?

बाइरोडको बाटोमा

प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार आफ्ना मन्त्रीसहितको टोली लिएर पशुपतिनाथ मन्दिरको दर्शन गर्नु आफैँमा रोचक घटना हो। कम्युनिस्ट नेता मन्दिर धाएका देख्दा आश्चर्य लाग्नु स्वाभाविक भए पनि यो घटना अध्यात्ममा आस्थावानका निम्ति उत्साहबद्र्धक हो। यसमा आश्चर्य मान्नु आवश्यक छैन, बरु खुसी हुनुपर्छ– हाम्रा कम्युनिस्ट नेता जडसूत्रवादी छैनन्। उदार भएर सबलाई आत्मसात गर्न सक्नु आफैंमा असल राजनीतिक खुबी हो।

भारत भ्रमणका क्रममा उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पिताम्बर पहिरिएर दाहालले पूजाअर्चना गरेपछि देशभित्र विशेषगरी कम्युनिस्ट खेमामा हल्लीखल्ली मच्चिएको छ। देशभित्रै पशुपतिनाथको दर्शन गर्न नगएकोमा फेरि अर्काथरीले आलोचना गरेका पनि हुन्। प्रधानमन्त्री दाहाललाई यदाकदा लाग्दो पनि हो, यसो गरे पनि हुँदैन उसो गरे पनि हुँदैन, गर्नेचाहिँ के हो? गर्ने यही हो– पूजा गर्ने ठाउँमा पुजा गर्ने, प्रवचन गर्ने ठाउँमा प्रवचन दिने।  

गर्ने त्यही हो, जसले आमनेपालीलाई खुसी तुल्याउँछ। प्रायः नेपाली मठमन्दिर धाउन रुचाउँछन्। आफ्ना प्रधानमन्त्री र मन्त्री पनि पूजाअर्चनामा संलग्न हुन थाले भने तिनलाई खुसी नै लाग्छ।

महाकालेश्वर मन्दिरको पूजामा सरिक अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसमेत थिए। पशुपतिको दर्शनका क्रममा उनीहरू सबै छुट्ने कुरा भएन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती पनि विभागीय जिम्मेवारीका कारण त्यहाँ पुगेको बुझ्न सकिन्छ। मन्त्री किराँतीले त यसअघि पनि पशुपति क्षेत्रको सफाइलगायतका विषयमा ध्यान दिँदै आएका छन्। उनको त्यो सक्रियता देखेर आलोचना गर्नेहरूले हिन्दुको मन्दिर पनि सफा गरिदिनुपर्ने भनेर टिप्पणी गरेकै हुन्। तर मन्त्रीका रूपमा उनले जे गरिरहेका छन्, त्यसले प्रशंसकको संख्या बढाएकै छ।

दाहालको पशुपति दर्शन यात्राले अब धेरै हदसम्म माओवादीसँग उतर्सिनेहरूका निम्ति पनि राम्रो जवाफ प्राप्त भएको छ। सबै धर्म, संस्कृति र जातजातिलाई मिलाएर नेपाली एकतामा जोड दिने हो भने दाहालप्रतिको स्वीकारोक्ति बढ्दै जानेछ।

जुन परिस्थितिमा दाहाल पशुपतिनाथ मन्दिर पुगेका भए पनि उनलाई क्रमशः परिवर्तन उन्मुख पाइएको छ। पशुपतिनाथका पुजारी परिवर्तनमा समेत पहिलो पटक प्रधानमन्त्री हुँदा संलग्न दाहाल विस्तारै अब त्यसका व्यवस्थालाई यथावत् छाड्दै सबैका निम्ति स्वीकारयोग्य हुने बाटामा लागेका छन्। यसलाई कम्युनिस्ट सिद्धान्तबाट च्युत भएको भन्दा पनि नेपाली यथार्थलाई महसुस गरेको रूपमा लिन सकिन्छ। नेपाली समाजले यसै पनि जडसूत्रवादीलाई रुचाउँदैन। विकास–निर्माणका कामलाई अगाडि बढाउँदै उनले नेपाली समाजलाई रूपान्तरण गर्न सके भने कुनै मन्दिरमा पूजा गरेकै आधारमा आलोचित भइरहनु पर्ने छैन।  

नेपाली समाज यसै पनि मान्छेका खोट निकाल्न माहिर छ। जुनसुकै घटनामा ‘बालका खाल’निकाल्न सामाजिक सञ्जालले झन् सजिलो भएको छ। सामाजिक सञ्जाल अरूका विरुद्ध खनिउन्जेल मात्र मजा आउँछ, जुन दिन त्यो आफ्नै विरुद्ध आइलाग्छ, त्यो दिन बल्ल यसको ‘विषाक्तता’ महसुस हुन्छ। 

नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जीउभरि सुनैसुन लगाइदिएर व्यंग्य गरेको देखिएकै छ। आफूले सुनको औँठीसम्म लगाइदिनुपरेको तर यसरी कहिल्यै सुन नलगाएको मानिसलाई सुनैसुनले पुरेपछि उनले आश्चर्य व्यक्त गरेका हुन्। त्यसैगरी प्रधानमन्त्री दाहाललाई भारत भ्रमणपछि भैँसी चढाएर हैरान गरेका पनि हुन्। यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद शोभिता गौतम आफूविरुद्धका साइबर आक्रमणबाट रुनु न हा“स्नुको अवस्थामा पुगेकी छन्।

हाम्रो सामाजिक सञ्जालको चरित्र सबैलाई खुइल्याउने हो। त्यसमा पनि आजको सूचना प्रविधिको समयमा कुनै गहिरो अध्ययन वा खोज भन्दा पनि ‘टु मिनट नुडल्स’ शैलीमा जथाभावी भन्ने र गर्ने हो। पहिले पत्रपत्रिकाले गरेको अलिअलि आलोचना पचाउन नसक्नेहरूलाई अहिले सामाजिक सञ्जालले थला पारेको छ। त्यति मात्र होइन, निर्वाचनमै यी सञ्जालले तल-माथि गराउन सक्ने खतरा बढाएको छ। अहिले आएर बल्ल नियमनका कुरा उठ्न थालेका छन्। तर, बोल्न चाहने जनतालाई कसरी नियमन गर्नु? यसका निम्ति सार्वजनिक चेतना अभिवृद्धि मात्र उपाय हो।

प्रधानमन्त्री दाहाललाई जतिसुकै आलोचना गरे पनि अहिले उनी यसअघिका आफ्ना कार्यकाल भन्दा भिन्न बनाउन सक्रिय भएको देखिन्छ। उनी सत्ता गठबन्धनलाई सँगै लिएर हिँड्न र यसलाई दिगो बनाउन पनि उत्तिकै प्रभावकारी हुँदैछन्।

प्रचण्डका निम्ति यसअघि ‘पति’अर्थात् पशुपति, राष्ट्रपति, सेनापति केही पनि फापेको थिएन। अब दाहाल देशका सबै ‘पति’लाई आफूअनुकूल राखेर राजनीतिमा अग्रसर भएका छन्।

प्रधानमन्त्री दाहालले आफूलाई कट्टर कम्युनिस्टका रूपमा उभ्याएर यहाँका सबै आध्यात्मिक र सांस्कृतिक प्रणालीविरुद्ध जान खोज्ने हो भने केही दिन क्रान्तिकारी देखिन सकिन्छ तर काम गर्न सकिँदैन। यो अवस्थालाई उनले राम्ररी बुझेका छन्। व्यावहारिक राजनीतिमा लागेका नेताबाट आफैँलाई सिध्याउने किसिमको गल्ती हुँदैन।

त्यसमा पनि उनका निम्ति यसअघि ‘पति’अर्थात् पशुपति, राष्ट्रपति, सेनापति केही पनि फापेको थिएन। अब दाहाल देशका सबै ‘पति’लाई आफूअनुकूल राखेर राजनीतिमा अग्रसर भएका छन्। वास्तवमा दाहालका निम्ति यतिबेला देशमा सबै अवस्था अनुकूल देखिएको छ। भारत भ्रमणपछि उनलाई जतिसुकै ‘भैँसी’अर्थात् ‘मुर्रा राँगा’ल्याएको घटनामा व्यंग्य गरे पनि त्यो पशुपालनमा नश्ल सुधारका निम्ति आवश्यक रहेको पक्ष हो। त्यति मात्र होइन, उनले भारतसँगको सम्बन्धलाई धेरै हदसम्म सकारात्मक बनाएर फर्केका छन्।  

प्रधानमन्त्री दाहालको विशेषता त्यही हो, उनी कम्युनिस्ट पार्टीको नेता भए पनि लचिलो हुन जानेका छन्। भारत भ्रमणका निम्ति उनी इच्छित व्यक्ति होइनन् भन्ने चर्चा चलाइएको भए पनि त्यसपछि जारी वक्तव्यले धेरै कुरा प्रष्ट पारेको छ। भारतीय समकक्षी नरेन्द्र मोदीले समेत सीमा समस्या समाधान गर्न, जलविद्युत् क्षेत्रमा सहयोग गर्न देखाएका प्रतिबद्धताले उनी भ्रमणमा केही हदसम्म सफल भएको देखिन्छ। यति हो, उनले भारतीय प्रधानमन्त्री र अन्य नेतासँगका बैठकमा परराष्ट्र मन्त्रालयका प्रतिनिधिलाई समेत सहभागी गराएका भए अहिले यति धेरै आलोचना हुने थिएन।

यो उनको मात्र दोष होइन, सबैजसो प्रधानमन्त्रीको यही बानी रहँदै आएको छ। भारत, चीन वा अन्य मित्र मुलुकलाई नजिक पारेपछि शासन गर्न सजिलो हुन्छ भन्ने ठान्छन्। यथार्थमा नेपाली जनतालाई नजिक पारे मात्र शासन गर्न सजिलो हुन्छ। त्यसैले भविष्यमा हुने सबैखाले यस्ता अन्तर्राष्ट्रिय कूटनीतिक भेटघाटमा परराष्ट्र मन्त्रालयलाई सरिक गराउनु उचित हुन्छ।

२०५२ फागुन १ देखि सुरु भएको ‘दीर्घकालीन’जनयुद्धलाई १० वर्षपछि शान्तिपूर्ण बाटोमा हिँडाउन दाहालले पाएको सफलता उनको लचिलो नीतिले नै हो। वास्तवमा उनी कम्युनिस्ट पार्टीको नेता भएर पनि प्रधानमन्त्री हुँदा समाजमा धेरै तनाव देखिएको छैन। अरू लोकतन्त्रवादी नेतासरह उनको पनि उदार दृष्टिकोण रहँदै आएको छ। उनमा आएको यो परिवर्तन विगतमा ‘सुकिलामुकिला’विरुद्धको आन्दोलनभन्दा भिन्न देखिएको छ।

यही समाज हो, पहिलो पटक मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा सबै सकियो भन्ने सोच केहीमा पलाएको हो। पछि कम्युनिस्ट पार्टीका नेता प्रधानमन्त्री हुँदा पनि यहाँका व्यवस्थामा खासै अनावश्यक हस्तक्षेप हुने रहेनछ भन्ने पुष्टि हुँदै गएको छ। अझ अहिले त संसद्को तेस्रो ठूलो दलका रूपमा रहँदा पनि सरकारको नेतृत्व गर्ने मौका पाउनु उनको व्यवहारकै कारण हो। यतिबेला नेकपा (एमाले) सँग भन्दा नेकपा (माओवादी केन्द्र) सँग नेपाली कांग्रेसले पनि सहज महसुस गर्नुको कारण दाहालको व्यवहार हो। बोलीको पक्का नहुने कम्युनिस्ट वा प्रजातन्त्रवादी जुनसुकै खेमाका भए पनि अस्वीकार्य हुन्छन्। त्यसैले बचनको पक्का हुनु राजनीतिमा आशंका हटाउने सजिलो उपाय हो।

दाहालको पशुपति दर्शन यात्राले अब धेरै हदसम्म माओवादीसँग उतर्सिनेहरूका निम्ति पनि राम्रो जवाफ प्राप्त भएको छ। सबै धर्म, संस्कृति र जातजातिलाई मिलाएर नेपाली एकतामा जोड दिने हो भने दाहालप्रतिको स्वीकारोक्ति बढ्दै जानेछ। उनी पशुपति गएकामा टिप्पणी गर्ने जति छन्, नगर्नेहरू त्यो भन्दा बढी छन् भन्ने पनि बुझ्नु आवश्यक छ। नेताका निम्ति यी सांकेतिक कुरा मात्र हुन् भन्ने पनि विचार गर्नुपर्छ। पशुपतिनाथको दर्शन गरेर न दाहाल रातारात पथभ्रष्ट भएका छन्, न उनी भोलिदेखि गेरुवावस्त्र लगाएरै हिँड्छन्। यो प्रधानमन्त्रीको पूजापाठभन्दा पनि परिपाठ बढी हो।

प्रकाशित: २९ जेष्ठ २०८० ००:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App