टि्रङ्! टि्रङ्!! टि्रङ्!!!
– हेलो! हेलो, कौन?
– मैं प्रचण्ड बोल रहा हुँ। आप कौन?
– कौन प्रचण्ड? कपडेवाले?
– नहीं। नेपाल के प्रधानमन्त्री प्रचण्ड। पहचाना?
– ओहो! प्रचण्डजी? नमस्कार नमस्कार! हालखबर के छ तपाइँको? आज बहुत दिनपछि फोन गर्नुभएछ। सबकुछ ठीकठाक तो छ?
– ठीकठाकै छ। नरेन्द्र मोदीजी हुनुहुन्छ?
– उहाँ त सुत्न लागेको छ। के कुरा छ?
– सानो कुरा छ। तपाईं को बोल्नुभएको?
– म त यहाँ कमरा साफ गर्ने स्वीपर हुँ। यता सब जना युपी इलेक्सन जितेको खुशहाली मनाउन गएका छन्। कोही नभएर मैले फोन उठाएको।
– ए.. अनि पीएमजी?
– उहाँ पनि भर्खर खुशहालीबाट फर्कनुभएको छ। बहुत थकान भएर सुत्न जानुभएको। अहिले त उठाउन पनि मिल्दैन। के गर्ने?
– ए...ठीक छ, ठीक छ उसो भए उठाउनु पर्दैन। उहाँलाई किन डिस्टर्ब गर्ने!
– अनि के कामले फोन गर्नुभएको त प्रचण्डजी? कतै त्यता सरकार–वरकार गिराउने खेल त फेरि सुरु भएन? नभए त किन फोन गर्नुहुन्थ्यो तपाईं? सरकार त ठीक चलिरहेको छ तपाईंको?
– ठीक छ। अस्तिसम्म ठीक थिएन, अहिले ठीक भएको छ।
– सरकार ठीकै चलिरहेको छ भने फोन किन गर्नुभयो त प्रचण्डजी?
– अँ..त्यो अस्तिको गोली काण्डबारे कुरा गरुँ कि भनेर फोन गरेको...
– ए...गोली कांड? हो नि, त्यो के गर्नुभएको यार तपाईंहरूले? सिधै पाँच जना मान्छेको ज्यान लिनुभएछ। त्यसरी त गोली हान्नु हुँदैन नि! के गरेको त्यो?
– पाँच जनाको ज्यान? हैन तपाईं कुन गोली काण्डको कुरा गर्दै हुनुहुन्छ?
– अरे वही सप्तरीवाला कांडको बात गर्दैछु। तपाईंको पुलिसले सिधै पाँच जना मान्छेको ज्यान लिएछ। यो त बहुत नराम्रो भयो।
– हैन, म त्यो गोली काण्डको कुरा गर्न लागेको होइन।
– त कुन गोली कांडको कुरा गर्ने?
– उही कञ्चनपुरमा भारतको एसएसबीको गोली लागेर एक जना नेपालीको ज्यान गएको छ। म त्यसबारे कुरा गर्न खोज्दै थिएँ।
– कहाँ चलायो एसएसबीले गोली?
– कञ्चनपुरमा चलायो नि! त्यही कल्भर्ट बनाउने कुरामा झगडा भएर गोली चलाएको के! त्यसले गर्दा यता धेरै बबाल भएको छ। त्यही विषयमा पीएमजीसँग कुरा गर्न खोजेको।
– यसमा के कुरा गर्नुहुन्छ, प्रचण्डजी? एसएसबीले गोली चलाएको भए पो कुरा गर्ने! जब एसएसबीले गोली चलाएकै छैन भने किन कुरा गर्ने?
– एसएसबीले चलाएको छैन रे? अनि कसले चलाएको त?
– अब त्यो हामी कसरी थाहा पाउने? तपाईंको नागरिक मरेको छ, तपाईंलाई नै थाहा होला।
– यहाँ त सबैजना एसएसीबीले नै चलाएको भनिरहेका छन् नि!
– भनेर हुन्छ? नभन्नेहरू पनि त छन् नि! तपाईं खालि भन्नेहरूको मात्रै कुरा सुन्ने? नभन्नेहरूको कुरा नसुन्ने?
– हैन त्यो त एसएसबीले नै चलाएको हुनुपर्छ। हामीलाई पूरै विश्वास छ।
– तपाईं कसरी यकिनसाथ भन्न सक्नुहुन्छ कि त्यो एसएसबीले नै चलाएको हो? कुनै प्रमाण–स्रमाण त छैन होला। कसरी भन्नुहुन्छ?
– हैन, यहाँ त देख्ने मान्छे नै छन्। देख्नेहरूले नै भनेका हुन्।
– अरे त्यो त नदेख्नेहरू पनि त हजारौं छन् नि! नदेख्नेहरूले के भनिरहेका छन्, त्यो सुन्नु पर्दैन?
– हामी दाबीसाथ भन्न सक्छौं कि त्यो एसएसबीले नै चलाएको हो।
– यो दाबी–वाबीको कुनै मतलब छैन हेर्नोस्। अस्ति तपाईंको सप्तरीमा गोली चल्यो। त्यो गोली कसले चलाएको हो, तपाइँलाई थाहा छ?
– थाहा त किन नहुनु...
– कसरी थाहा हुन्छ? पुलिस भनिरहेको छ कि यो सशस्त्र प्रहरीले चलाएको हो, उता सशस्त्र प्रहरी भनिरहेछ कि हामीले चलाएको होइन। त कसले चलायो?
– त्यो त छानबिन हुँदैछ।
– छानबिन त थाहा नभएरै गरेको हो नि, होइन? थाहा भएको भए किन छानबिन हुन्थ्यो?
– त्यही थाहा पाउन त छानबिन गरेको नि!
– त्यही त म भन्दैछु, जब तपाईंलाई आफ्नै देशमा चलेको गोली त कसले कहाँबाट चलायो थाहा छैन भने अर्काको देशमा चलेको गोलीबारे कसरी थाहा हुन्छ?
– त्यो त हाम्रो आन्तरिक मामिला हो तर यो एसएसबीको कुरा आएकोमा मोदीजी के भन्नुहुन्छ त्यो कुरा त आउनु पर्यो नि!
– के आउनु, यही त आउने हो नि! एसएसबीले गोली चलाएकै होइन। त्यो आरोप सब झुठा और बकवास हो।
– हैन, नरेन्द्र मोदीजीको कुरा आउनुपर्यो नि...
– उहाँको कुरा पनि यही हो, मेरो कुरा पनि यही हो। कुनै फरक पर्दैन।
– त्यसो भनेर भएन। मैले त यहाँ मिडियालाई भन्नुपर्छ। नरेन्द्र मोदीजीसँग टेलिफोन वार्तामा के भयो भन्ने उत्सुकता आइरहेको छ। मैले के भन्ने?
– उसो भए मसँग टेलिफोन वार्तामा भएको कुरा भनेर लेखिदिनोस्। मामिला साफ भइहाल्यो।
– स्वीपरसँग टेलिफोन वार्ता गरेको भन्ने?
– अनि के? म भारतीय प्राइममिनिस्टरको निजी कमरा साफ गर्ने स्वीपर हुँ। तपाईंले मसँग वार्ता गरेको भनेर लेखे पनि चल्छ। कुनै डराउनु पर्दैन।
– ए...त्यसो भए त्यही भनिदिउँ त?
– भनिदिनोस्। कुनै फरक पर्दैन। ल त, बरु मेरो पनि सुत्ने टाइम भयो। आजको लागि बाई बाई।
(क्लिक्)
प्रकाशित: ४ चैत्र २०७३ ०३:३९ शुक्रबार