७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
विचार

कसरी धान्ने भोलिको संसार?

मैले पत्रकारिता थाल्दा सरकारका मान्छेहरूको दृष्टिकोण फराकिलो थिएन ,साँघुरो थियो। सहयोग गरेको कुरो पनि उल्लेख गर्न पर्छ भन्ने सोच थिएन। कुनै जिल्ला सदरमुकाममा आगलागी भो, जनता मिलेर आगो निभाइयो, आगलागीपीडितहरूलाई सरकार र जनताले नगद जिन्सी ज/जसले जे/जे सक्छ सहयोग गरे, उद्धार गरे तर सिंहदरबार आगलागी भएको खबर मात्र दिन्थ्यो, सहयोग गरेको कुरा दिँदैनथ्यो।

मैले नेपाल सरकारका सहसचिव रञ्जनराज खनाललाई उद्धार पक्षबारे कोट्याउँदा उनले उद्धार गर्न सरकारले सक्ने सहयोग गरेको कुरा उल्लेख गरे। मैले त्यो आगलागीको खबरमा सरकारले सहयोग गरेको कुरा जोडेर समाचार बनाएँ, उत्तम समाचार बन्यो। उनले पनि सरकारको सहयोगको प्रशंसा भयो भने।

मैले पत्रकारिता थाल्दा सरकारका मान्छेहरूको दृष्टिकोण फराकिलो थिएन ,साँघुरो थियो। सहयोग गरेको कुरो पनि उल्लेख गर्न पर्छ भन्ने सोच थिएन।

अर्को एउटा कुरा उठाउँ, एउटा जिल्ला सदरमुकाममा मोटर पुग्यो। सचिवले समाचार दिए। मैले सोधेँ–सबै जिल्ला सदरमुकाममा कति कति वर्षमा मोटर पुग्छ? सचिवले जिब्रो टोके। उनमा मेरो जिज्ञासाबारे कल्पना नै रहेनछ। त्यस्ता ठूलो कुरा भन्न हामी सक्दैनौँ, मेरो जिज्ञासा कति भनेर टारे। मैले यो प्रसंग २०८० वैशाख ६ गते बिहान मदन भण्डारीको नाममा काठमाडौँमा स्थापित एउटा कलेजमा विचार व्यक्त गर्ने सिलसिलामा भनेको हुँ।

कलेज, बैंक थिएनन् तर सार्वभौमसत्ता सम्पन्न

मैले आफूले आफैँलाई प्रश्न गरेँ–चारकोशे झाडीमा यामानका सखुवाका रुख नभएका भए भारतमा नेपालको मेचीदेखि महाकालीसम्म नेपालको सिमानामा रेलवे सेवा चल्थ्यो होला? अर्को सन् १८५७ जलालावादमा विद्रोह नभएको भए रक्सोल अमलेखगन्ज रेल र अमलेखगन्ज भीमफेदी मोटरबाटो बन्दो होला? त्रिभुवन राजपथ त अस्तिमात्र १९१४ असार १८ गते मात्र नेपाललाई समर्पण गरेको हो।

 मैले पैदल हिँडेको चित्लाङ, मार्खु, कुलेखानी, चिसापानी गडी, भीमफेदी बाटो छैन अहिले। कुलेखानीको माछा भात कति मिठो? त्यहाँ भात पकाउने मान्छेले धोती फेरेको हुँदैनथ्यो तर भात खाने बाहुनहरू भने धोती फेरेर पिर्कामा बसेर भात खान्थे, आज त्यो कुलेखानी इन्द्रसरोवर भएको छ, प्लास्टिकको झोलामा माछा पालिन्छ।

मैले आफूले आफैँलाई प्रश्न गरेँ–चारकोशे झाडीमा यामानका सखुवाका रुख नभएका भए भारतमा नेपालको मेचीदेखि महाकालीसम्म नेपालको सिमानामा रेलवे सेवा चल्थ्यो होला?

पहाडमा चुरेमा सुरुङ मार्ग बनाएको उहिल्यै शंकरदेव पन्तले कलेज खोलेर उच्च शिक्षाको अर्को ढोका उघारे। अमृतप्रसाद प्रधानले अमृत साइन्स कलेज खोलेर शिक्षाको ढोकाको अर्को फग्लेटो खोले। विश्वेश्वरप्रसाद कोइराला युवा छँदा दौरा/सुरुवाल कोट टोपी लगाएर वनारसमा ठूलो ऐना हेरेर कल्पना गर्थे रे, जस्ता कुरा गरेँ मैले। पहिले नेपालमा कलेज थिएन, बैंक थिएन, युग कस्तो थियो, देश सार्वभौम सम्पन्न तर कलेज एउटा पनि थिएन न त थियो बैंक नै।

अबको विकास काँचो होइन, विधिको

अब सन् २०२३ को नेपाल पाल्नु छ। ८ अरब जनसंख्या नपुग्दैको यो विश्वमा सबैले ट्वाइलेट पेपर प्रयोग गरे भने कच्चा पदार्थका लागि मात्र सातवटा जति पृथ्वी चाहिन्छ रे। तपाई आजका युवाले भोलिको मान्छेलाई कसरी बचाउनुहुन्छ? त्यसका लागि तपाईँको पुस्ताले अनुसन्धान र गवेषणमा लागिहाल्नुपर्‍यो।

प्लास्टिकको झोलामा धान फलाउनुपर्‍यो। इन्द्र सरोबरमा प्लास्टिकको थैलोमा माछा पालेझैँ खोला र नदीहरूबाट विनापोखरी, विनानहर र विनाघामपानी सोझै विद्युत् झिक्नुपर्‍यो। चुम्बकले फलामबाहेक अरू केही नताने जस्तो स्वाद एउटा वस्तुबाट अर्को वस्तुमा प्रत्यारोपण गर्नुपर्‍यो। इस्कुसमा परवरको स्वाद आउने, निगुरोमा कुरिलोको स्वाद र गुण आउने प्रविधि पत्ता लगाउनुपर्‍यो।

तपाई आजका युवाले भोलिको मान्छेलाई कसरी बचाउनुहुन्छ? त्यसका लागि तपाईँको पुस्ताले अनुसन्धान र गवेषणमा लागिहाल्नु पर्‍यो।

बझांगी राजा जय पृथ्वीबहादुरसँग काठमाडौँका शासककी छोरीको बिहे नभएको भए पश्चिम सेती नदीमा पक्की फलामे झोलुंगे पुल बन्थे र? जाजरकोटका सम्पन्न ठकुरीका छोरीहरू राणा र शाहहरूले बिहा नगरेका भए ती ठाउँमा त्यो जमानामा धाराको पानी र फलामे पक्की झोलुंगे पुल सम्भव थियो र? राणा शासनमा झारा (निःशुल्क श्रमदान) थियो।

ल्हासामा वकिल जाने बेला भएपछि गाउँका मुखियाले गाउँलेहरूबाट निःशुल्क बाटो बनाउन लगाउँथेँ। त्यो बेलामा नै हेटौँडादेखि टेकुसम्म रज्जुमार्ग रोपवे थियो। सिँचाइका लागि चन्द्रनहर बनाइएको थियो। चुरेमा सुरुङमार्ग थियो। बससमेत चल्ने। यस कारण गर्न खोज्यो चोखो मनले भने सकिन्छ। नसकिने कुरै होइन।

देखेरै/छोएरै मात्र अघाउने

सन् २०२३ को सन् २०२४ को संसारलाई के खुवाएर चुठाउने? यो समस्या तपाईँको आजको किशोरको भोलिको किशोरको काँधमा छ। सय वर्षपछिको मान्छेलाई ओछ्याउन ओड्न के दिने? हुन त तपाईँको पुस्ताले नयाँ नयाँ कुरा विस्तार गर्ला पक्कै पनि।

म किशोर हुँदा प्रधानमन्त्री जिल्ला भ्रमणमा जाँदा ओड्ने ओछ्याउने र तकिया समेतको गुन्टा लैजानुपर्थ्याे तर अहिले सामान्यतः जिल्ला भ्रमणमा जाँदा स्लिपिङ ब्याग पनि लानुपर्दैन, होटल वा अतिथि सदन बनिसके। प्लास्टिकका हलुका र दोब्राउन बोक्न मिल्ने साधन पाइन्छ। चिसो पटक्कै नछिर्ने, बोझ हुँदै नहुने ओछ्याउने पाइन्छ। पैसा पनि धेरै पर्दैन। यस्तै के के आविष्कार गर्लान्।

त्यसो भनेर कसैले अघि सरेन भने त्यसै त आविष्कार हुँदैन। अब आजको एउटा उमेरको मान्छेले जति खान्छ २०२३ औँ शताब्दीको मान्छेले पनि त्यत्तिकै खायो भने यो पृथ्वीले कतिलाई पाल्नु? कसरी पाल्नु? अब त केही वस्तु खाएर होइन, छोएर, केही हेरेर मात्रै अघाउने वस्तु उत्पादन गर्नुपर्‍यो।

सन् २०२३ को सन् २०२४ को संसारलाई के खुवाएर चुठाउने? यो समस्या तपाईँको आजको किशोरको भोलिको किशोरको काँधमा छ।

भनेँ, अब भोलिको पर्सिको मान्छेले पनि आजको मान्छेले जति नै खायो भने कति पाइएला खाने कुरा? यसर्थ आजका र भोलिका मान्छेले यस्तो विद्या जान्नुपर्‍यो जो देखेरै तृप्त होस्, कुनै पदार्थ छोएरै मात्र अघाओस्। मैले यसो भन्दा सबका मुख उज्याला थिए, हँसिला थिए। तसर्थ सोचेँ, मेरो कुरा घत लाग्यो होला। मलाई बोलाउनेहरूप्रति कृतज्ञता।

प्रकाशित: ११ वैशाख २०८० ००:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %