बार्बरा बुस र जेना बुस हेगर
अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्ल्यु. बुसका छोरीहरुले ह्वाइट हाउस छाड्दै गरेका सासा र मलिया ओबामालाई खुला चिठ्ठी लेखेका छन्। राष्ट्रपति बाराक ओबामाको शुक्रबार कार्यकाल सकिएको छ। सासा र मलिया बाराक ओबामाका छोरी हुन् र उनीहरु दुवै जना राष्ट्रपति बुवाको सरकारी आवास ह्वाइट हाउसमै बस्ने गर्थे। चिठ्ठीमा जेना बुस– हेगर र बार्बरा बुसले आउँदा दिनमा उनीहरुको सहयोगका लागि आफूले सक्दो सहयोग गर्नेबारे लेखेका छन्। बुसका दुवै छोरी ह्वाइट हाउसमा सन् २००१ देखि २००९ सम्म बसेका थिए र पछि विश्वविद्यालयमा पढे भने जागिर पनि गर्न थाले। ओबामा पुत्री मलिया यसै वर्ष हार्वर्ड विश्वविद्यालय पढ्ने तयारीमा छिन्।
जे कुरा तिमीले देखेकी छ्यौ, जोसँग तिम्रो भेट भएको छ, जे कुराको ज्ञान तिमीले पाएकी छ्यौ, ती सबैको सहयोगले सकारात्मक परिवर्तनको प्रयास गर्नू। हामीलाई कुनै शंका छैन, त्यो गर्न तिमीहरू सक्षम पनि छौ।
टाइम पत्रिकामा छापिएको चिठ्ठी
मलिया र सासा, आठ वर्षअघि नोभेम्बरको एउटा चिसो बिहानीमा ह्वाइट हाउसका सिँढीमा हामीले तिमीहरू दुवैलाई स्वागत गरेका थियौँ। नयाँ घरलाई एक टकले हेरिरहँदा हामीले तिमीहरू दुवैको आँखामा एउटा चमक र साथै एक सावधानी पनि देखेका थियौँ। तिमीहरूलाई यहाँका चिजवस्तुलाई परिचित गराउन बाल्टिमोर र न्युयोर्कमा रहेको हाम्रो जागिरबाट छुट्टि लिएर वासिङ्टन पुगेका थियौँ। तिमीहरूलाई लिङ्कनको बेडरुम देखाउन र कुनै बेला हामीले सुत्ने गरेको खाट देखाउन हामी इच्छुक थियौँ। त्यो खाटमा कुनै बेला हामी सुत्थ्यौँ। तिमीहरूलाई फूलवाला, मैदानको रेखदेख गर्ने, भान्सेसमेत ती सबै मानिसहरुलाई भेट्टाउन लाग्यौँ, जसले यस ऐतिहासिक भवनलाई आफ्नो घरजस्तो बनाउन आफूलाई पूर्ण रुपमा समर्पित गरेका थिए।
हामी चारै जना यस घरको राजसी हलमा घुमिरहेका थियौँ र यस घरमा आउनुबाहेक तिमीहरूसँग कुनै विकल्प पनि थिएन। जसै तिमी सोलरियम (सूर्यघडी)को रेलिङमा चिप्लियौ, त्यो बेला तिम्रो खुसी र हाँसो यति मोहक थियो कि जोकोही पनि प्रभावित नभइरहन सक्तैनथ्यो। हामी पनि त आठ वर्षको हुँदा चिप्लिएका थियौँ र तिमी चिप्लिँदा जवानीमा कदम राखेका हामी मज्जाले हाँस्यौँ।
आठ वर्षमा तिमीहरूले धेरै काम गर्यौ, धेरै कुरा देख्यौ। खासगरी तिमी रबिन द्विपमा बुवाको हात पक्डँदै त्यो जेलको द्वारमा उभिएकी थियौ, जहाँ दशकौँसम्म दक्षिण अफ्रिकाका नेल्सन मण्डेलालाई हालिएको थियो।
तिमीले आफ्नी आमाका साथ लाइबेरिया तथा मोरक्कोको यात्रा गर्यौ र महिला शिक्षाको महŒवबारे कुरा गर्यौ। ती महिला तथा युवतीले तिमीभित्र र तिम्रा मातापितामा आफूलाई झल्को पाए। त्यो बेला उनीहरुले के बुझे भने पढाइलाई जारी राख्यो भने मान्छे केसम्म बन्न सक्ने रहेछ!
तिमी राजकीय भोजमा बस्यौ, राष्ट्रिय उद्यान घुम्यौ, अन्तर्राष्ट्रिय नेताहरूसँग कुराकानी गर्यौ र वार्षिक थ्याङ्क्सगिभिङ कार्यक्रममा बुवाका चुट्किला सुनेर मज्जैले हाँस्यौ। यी सबै कुरा तिमीले बालापन नगुमाई, स्कुल जाँदै गर्दा र साथी बनाइकन पनि सम्भव तुल्यायौ।
हामीले तिमीहरू निकै आकर्षक र सहज तरिकाले एउटी साधारण केटीबाट प्रभावशाली युवती बन्दै गरेको देख्यौँ। अनि यस अवधिमा तिमीहरु दुवै एकअर्कालाई साथ दिन तम्तयार देखिएका थियौ। वास्तवमा तिमीहरूमा हामीले आफ्नो प्रतिविम्ब पाउँथ्यौ। हामी पनि त त्यो बेला तिमीहरूजस्तै त थियौँ!
अब तिमीहरू एउटा असाधारण क्लबको अंश बन्दैछौ, पूर्व राष्ट्रपतिका सन्तानहरूको क्लबको सदस्य। यो एउटा यस्तो पदवी हो, जसलाई तिमीले कहिल्यै मागेकी थिइनौ न त कुनै दिशानिर्देश नै छ।
तर भविष्यमा आउने दिनहरूमा गर्नका लागि तिमीहरूसँग निकै कुरा छन्। तिमी आफ्ना प्रख्यात बुवाआमाको छायाँबाट इतर रहेर आफ्नो जीवनको कथा लेख्नेछौ। फेरि पनि विगत आठ वर्षका अनुभव तिमीहरूसँगै हुनेछ।
ह्वाइट हाउसमा काम गर्ने उम्दा मानिसहरूलाई कहिल्यै नबिर्सनू। हाम्रा हजुरबुवाको उद्घाटन समारोहका बेला म सात वर्षकी मात्र थिएँ। त्यो बेला ह्वाइट हाउसमा फूलको सजावट गर्ने न्यान्सीले हामीलाई ह्वाइट हाउसमा स्वागत गरेकी थिइन्। हाम्रा हजुरबुवाको ओछ्यानको सिराने छेउमा राख्नका लागि फूलको गुच्छा बनाउन उनले हामीलाई सहयोग गर्थिन्। ती नान्सीलाई माया गरेर राख्नू।
हामी हाम्रो सेवामा रहने गुप्तचर निकायका मानिसहरूको सम्पर्कमा रहिरह्यौँ। हामी हुर्कंदै गर्दा उनीहरू सदैव हाम्रो सुरक्षामा उभिइरहन्थे। पहिलो डेटिङ (भेटघाट), बिहेको कुरा छिन्दा होस्, बिहेका बेला होस् या हनिमुनमा जाँदाका बेला होस्। उनीहरूले हाम्रो सुरक्षामा कुनै चुक हुन दिएनन्।
कलेज पढ्दाको आनन्द लेऊ। जसरी हामीले लिएका थियौँ, त्यसरी नै लेऊ। संसारका धेरैजसो मानिसहरूलाई थाहा छ, तिम्रा कलिला काँधमा संसारको बोझ अब रहने छैन। आफ्ना सोख पूरा गर। आफूलाई चिन। वास्तवमा म को हुँ भन्ने बुझ। गल्ती पनि गर। गल्ती गर्ने छुट सबैलाई हुन्छ।
आफ्ना इमानदार साथीहरू जसले तिमीलाई माया गर्छन् र उनीहरूले तिमीलाई सधैँ सुरक्षा दिन्छन्, तिनीहरूसँगको साथ कहिल्यै नछाड। जसले तिम्रा बारेमा नराम्रा धारणा राख्छन्, बनाउँछन्, तिमीहरूलाई माया पनि गर्दैनन्, त्यस्ताका कुरामा ध्यान नदेऊ। बरु जे कुराको महŒव छ र जे कुरा तिम्रा छन्, त्यसलाई चाहिँ बढी ध्यान देऊ, महŒव देऊ।
जे कुरा तिमीले देखेकी छ्यौ, जोसँग तिम्रो भेट भएको छ, जे कुराको ज्ञान तिमीले पाएकी छ्यौ, ती सबैको सहयोगले सकारात्मक परिवर्तनको प्रयास गर्नू। हामीलाई कुनै शंका छैन, त्यो गर्न तिमीहरू सक्षम पनि छौ।
हाम्रा बुवा–आमासँगै यात्रा गर्दा हामीले जे सिक्यौँ, त्यो कुनै कक्षामा पनि सिक्न सक्ने थिएनौँ। हामीले संसारका नयाँ मानिस, नयाँ संस्कृति र विचारहरूका बारेमा थाहा पायौँ।
मिसिगनमा हामीले फ्याक्ट्री मजदुरहरूसँग भेट्यौँ। क्यालिफोर्नियामा शिक्षक, बर्माको सीमामा सर्वसाधारणको उपचार गरिरहेका चिकित्सकसँग पनि भेट्यौँ। अमेरिकी राष्ट्रपतिलाई हेर्न मात्रै भए पनि कम्पालाको धुलाम्य सडकमा पंक्तिबद्ध भएका बालबालिकाहरुसँग भेट्यौँ। ती एचआइभीपीडित बालबालिकासँग पनि भेट गर्यौँ, जो औषधिको प्रतीक्षामा थिए र त्यो पाए उनीहरूको ज्यान बच्न सक्थ्यो।
एउटी सानी केटी आफूसँग भएको राम्रो कपडा लगाएकी थिई, जो निकै कम उमेरको देखिन्थी तर थिइन। ऊ सानी थिई किनभने रोगी थिई। उसकी आमाले भनिन्, ‘ती औषधिले असर देखाउञ्जेल म बाँचुली कि नाइँ! तैपनि यसका भाइ र बहिनीले भने उसलाई देख्न पाउलान्!’
त्यो बालिकाको अवस्था देखेपछि र भेटेपछि त बार्बराले पढाइको विषय नै बद्लिई र जीवनको दिशा पनि परिवर्तन गरी।
तिमीले ह्वाइट हाउसको अविश्वसनीय दबाबलाई पार गरिसकेकी छौ। तिमीले आफ्ना बुवा–आमाका कठोर आलोचकलाई पनि देखेकी छ्यौ, जसले कहिल्यै भेटेका छैनन् तर गलत धारणा बनाएका छन्। तिम्रा अमूल्य बुवाआमा समाचारका शीर्षक बनेका छन् र गलत तरिकाले पेस गरिएको छ। तिम्रा बुवाआमाले सुरुमा तिम्रो परवाह गरे। तिनले तिमीहरूलाई संसार मात्र देखाएनन् बरु संसार नै तिम्रा कदममा राखिदिए।
आजदेखि तिमीहरूको नयाँ अध्याय सुरु हुँदैछ। सधैँझैँ उहाँहरुले तिमीलाई सहयोग गर्नुहुनेछ। अनि, हामीसँग पनि सहयोगको आशा गर है!
अनुवादः अच्युत कोइराला
प्रकाशित: ९ माघ २०७३ ०४:३३ आइतबार