१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

आयुर्विज्ञानमा कृत्रिम बुद्धिमत्ता

कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) पछिल्लो दशक सर्वाधिक चर्चामा रहेको शब्द हो। आधुनिक समाजको कुनै पनि क्षेत्र तथा विद्यामा योगदान गर्न सक्ने ठानिएको आर्टिफिसिएल इन्टेलिजेन्सले छोटो समयमै मानव जीवनका सबै क्षेत्रमा प्रभाव पार्न भ्याएको छ। 

कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा अन्वेषणरत कम्पनी ‘ओपन ए आई’ले गत महिना च्याट जिपिटी भन्ने प्रोग्राम स्थायी रूपले सञ्चालनमा ल्याएको छ। इन्टरनेटमार्फत सर्वसाधारणले निःशुल्क प्रयोग गर्न पाउने च्याट जिपिटीले सामान्य दिनचर्याका अधिकांश काममा सहयोग गर्न सक्ने देखिन्छ। इमेल लेख्दा अग्रेजी अशुद्ध हुन्छ कि भनी डराउनेका लागि सामान्य जानकारीका भरमा व्याकरण र प्रसङ्ग समेटेर गहकिलो अनुच्छेद तयार गर्न सक्ने बनाउँछ। त्यस्तै कलेजका विद्यार्थीका लागि क्लिष्ट र अब्बल दर्जाको निबन्ध लेख्न मद्दत गर्छ। 

अफिसमा कम्प्युटर सहयोगी र एडिटरको परनिर्भरता घटेको छ। रिलिजको एक महिनामा संसारभर छाउने च्याट जिपिटीजस्तै चर्चायोग्य सफलता हासिल गर्न नसके पनि कृत्रिम बुद्धिमत्ताका सयौं याप्सहरू बजारमा आएका छन्। आर्टिफिसियल इन्टेलिजेन्स प्रोग्रामले मुद्रा बजार, यातायात, ग्राहक सेवा, पर्यटन, आयुर्विज्ञान, जनस्वास्थलगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको देखिए पनि विषयगत गाम्भीर्यता र कृष्टतालाई मध्यनजर राख्दै मेडिकल साइन्सको क्षेत्रमा कम्प्युटर साइन्सले खेलेको भूमिकाको जानकारी गराउनु यो लेखको मुख्य लक्ष्य रह्यो।  

 इन्टरनेटमार्फत सर्वसाधारणले निःशुल्क प्रयोग गर्न पाउने च्याट जिपिटीले सामान्य दिनचर्याका अधिकांश काममा सहयोग गर्न सक्ने देखिन्छ। 

अनुभवी डाक्टरसँग जँचाउन पाए हुन्थ्यो भन्ने सोच सबै रोगीको हुन्छ। पुराना डाक्टरले आफूजस्तै लक्षण भएका धेरै बिरामीलाई परीक्षण गरिसकेकाले उसको विगतको अनुभव आफ्नो इलाजमा सहयोग सिद्ध हुने ठान्छन् रोगीहरू। भरतपुर क्यान्सर अस्पतालमा अर्बुद रोगका हजारांै पीडितलाई इलाज गरिसकेका चिकित्सकले भर्खर सेवा प्रवेश गरेका डाक्टरको तुलनामा रोगको पहिचान सजिलै गर्न सक्छन् अनि उसको उपचारविधि प्रभावकारी हुन्छ भन्ने सोच अन्यथा होइन।  

कदाचित कुनै चिकित्सकले संसारभरका सबै क्यान्सर रोगीलाई परीक्षण गरे अनि उपचारका सबै विधि उनको दिमागमा ताजै छ भने उक्त डाक्टरको इलाज संसारमै सर्वोत्कृष्ट हुने कुरामा शंका रहेन। तर, यथार्थमा मानिसको दिमागको भण्डारण क्षमता असीमित हुँदैन, बरु केही वर्ष अघिका अनुभव उसको मानसपटलमा धुमिल हुन्छ। मानिसभन्दा फरक आधुनिक कम्प्युटरले संसारका रोगीको तथ्याङ्कलाई भण्डारण गर्नुका अतिरिक्त ती डाटाहरूलाई अविलम्ब प्रशोधनसमेत गर्न सक्छ। डाक्टरलाई रोगका सम्बन्धमा उत्कृष्ट निर्णय लिन सहयोग पुगोस् भन्नका लागि आयुर्विज्ञानका क्षेत्रलाई केन्द्रमा राखी धेरै आर्टिफिसियल इन्टेलिजेन्स प्रोग्रामहरू बने।  

बुद्धि व्यक्तिको अनुभव, अध्ययन अनि जीवनको भोगाइमार्फत खारिँदै जान्छ। अनुकूल र प्रतिकूल परिस्थितिले मानिसको मस्तिष्कलाई परिष्कृत बनाउँदै लान्छ। विषम अवस्थाको सामना गर्न के कस्तो कर्म गर्ने भन्ने सिकाउँछ। बालकको सिकाइको ढाँचा र कृत्रिम बुद्धिमत्ताका प्रोग्राम बन्ने विधि धेरै हिसाबले समान हुन्छन्। कुनै बच्चालाई बिरालो र बाघका बारेमा पुस्तक तथा तस्बिरमार्फत जानकारी दिनुपर्यो भने बालकलाई जति धेरै किसिमका फोटाहरूसँग परिचित गराउँदा उसको विश्लेषण क्षमता तदनुरूप परिष्कृत हुँदै जान्छ। 

विविध फोटाहरूमार्फत बाघ र बिरालोका भिन्नताका बारे जानकारी पाएका बच्चाले सही जनावर पत्ता लगाउने सम्भावना अधिक भएझैं अत्यधिक तथ्याङ्क सेचन गरिएका प्रोग्रामले गलत गर्ने सम्भाव्यता न्यून हुन्छ। डाक्टरको दिमागको तुलनामा मेसिनले अधिक आँकडा सङ्ग्रह गर्न सक्ने भएकाले आर्टिफिसियल इन्टेलिजेन्सका प्रोग्रामको नतिजा यथार्थ नजिक हुन्छ। तनाव तथा थकानले डाक्टरले गलत गर्ने सम्भाव्यता हुन्छ भन्ने कृत्रिम बुद्धिमत्ता उक्त चरित्रका त्रुटिबाट मुक्त हुन्छन्।  

बुद्धि व्यक्तिको अनुभव, अध्ययन अनि जीवनको भोगाइमार्फत खारिँदै जान्छ। अनुकूल र प्रतिकूल परिस्थितिले मानिसको मस्तिष्कलाई परिष्कृत बनाउँदै लान्छ। विषम अवस्थाको सामना गर्न के कस्तो कर्म गर्ने भन्ने सिकाउँछ। बालकको सिकाइको ढाँचा र कृत्रिम बुद्धिमत्ताका प्रोग्राम बन्ने विधि धेरै हिसाबले समान हुन्छन्। 

प्रारम्भिक चरणमै पत्ता लगाउन सके फोक्सोको क्यान्सरको इलाज त्यति चुनौतीपूर्ण हँुदैन। तर, अस्पताल आएका अधिकांश लंग्स क्यान्सरका बिरामीलाई बचाउन असम्भव हुन्छ। फोक्सोको क्यान्सरपछि रोगीमा छाति दुख्ने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छन्। अनि बिरामी चिकित्सक भेट्न पुग्छ। त्यस्तो लक्षण देखिएर रोगी अस्पताल पुग्दा बिरामीको शरीरभर क्यान्सर फैलिइसकेको हुन्छ। त्यस्तो अवस्थाका रोगीको उपचार सम्भव हुँदैन, मृत्यु अवश्यम्भावी बन्छ। लक्षण देखिँदा नै व्यक्तिको शारीरिक अवस्था अन्तिम चरणमा पुग्ने भएकाले फोक्सोको क्यान्सरबाट हुने मृत्यु कम गर्न प्रारम्भिक चरणमै रोग पत्ता लगाउन आवश्यक देखियो। 

उक्त जटिलता हल गर्न म्यासाच्युसेट्स जेनरल हस्पिटल बोस्टनअन्तर्गतको क्यान्सर सेन्टर र म्यासाच्युसेट्स इन्स्टिचुट अफ टेक्नोलोजी (एमआइटी)का वैज्ञानिकहरूले आर्टिफिसिएल इन्टेलिजेन्सको सहारा लिए। न्यासनल लंग्स स्क्रिनिङ ट्रायलमा संलग्न ६ हजार, म्यासाच्युसेट्स जेनरल हस्पिटलका ९ हजार अनि चाङ्ग गुङ्ग मेमोरियल क्यान्सर हस्पिटल ताइबानका १२ हजार लंग्स क्यान्सर रोगीको विभिन्न समयमा गरिएको फोक्सोका स्क्यानलगायतका विभिन्न परीक्षण रिपोर्ट कम्प्युटरमा हालियो। विभिन्न चरित्रका २८ हजार क्यान्सरका रोगीको तथ्याङ्कले भरिएको आर्टिफिसियल इन्टेलिजेन्सलाई ‘सिबिल’नाम दिइयो। लंग्स क्यान्सर पत्ता लगाउन प्रयोग गरिने विधि ‘सिंगल लो डोज चेस्ट कम्प्युटेड टोमाग्राफी’रिपोर्टलाई अनुभवी चिकित्सकले परीक्षण गर्दा क्यान्सरको कुनै सम्भाव्यता नरहेको देखिएका रोगीको त्यही रिपोर्ट हेरेर ‘सिबिल’ले सोही व्यक्तिलाई आउँदो केही वर्षभित्र फोक्सोको क्यान्सर लाग्ने सम्भाव्यता देखायो।

त्यति मात्र होइन, कम्प्युटर प्रोग्राम ‘सिबिल’ले आगामी दिनमा अर्बुद रोग लाग्छ भन्ने आँकलन गरेका मध्य करिब ९४ प्रतिशतलाई फोक्सोको क्यान्सरले सताएको देखे रिसर्चरहरूले। डाक्टरले प्रक्षेपण गर्न नसकेको काम गर्यो कम्प्युटरले। फोक्सोको क्यान्सरको भविष्यवाणी गर्न सक्ने ‘सिबिल’को विलक्षण सफलता ‘जर्नल अफ् क्लिनिकल अंकोलोजी’को जनबरी २०२३ को अङ्कमा प्रकाशित भयो। डाक्टरको आँखाले नदेखेको हाई डेफिनिसन डिजिटल स्क्यानलाई सिबिलले पृथक् ढंगले बुझ्यो। सिबिल फोक्सो क्यान्सर पहिल्याउने सबालमा भविष्यवेत्ता देखियो।  

अमेरिका र ताइवानका नागरिकमा गरिएको केवल २८ हजार टोमोग्राफी स्क्यानलाई आधार मान्दा त सिबिलले ९४ प्रतिशत रिजल्टको सही पूर्वानुमान गर्न सक्छ भने संसारभरका लंग्स क्यान्सरका रोगीको लाखांै आँकडा खुलाउने हो भने उक्त प्रोग्रामले दिएको रिजल्ट शतप्रतिशत सही हुनसक्ने अन्दाज गर्न सकिन्छ। 

खानपिन, रहनसहन, वर्ण, अणुवांशिक बनोटले क्यान्सरलाई प्रभाव पार्ने भएकाले संसारभरको उपलब्ध डाटा थप गरी सिबिललाई थप सशक्त बनाउन सकिने ठान्छिन् उक्त अन्वेषणमा सहभागी म्यासाच्युसेट्स जेनरल हस्पिटल कि क्यान्सर विशेषज्ञ डा. लिसा सिक्बेस्ट। डाइग्नोस्टिकका लागि अहिलेसम्म ‘एफडिए’ले अनुमति नदिएको भए पनि सिबिल केही प्राविधिक अड्चनपछि डाक्टरी इलाजमा प्रयोग हुने देख्छन् भान्डरबिल्ट युनिभर्सिटी रेडियोलोजिस्टका डा. किम सान्डर्स। फोक्सोका क्यान्सरका बिरामीलाई सन्चो पार्न प्रारम्भिक चरणमै रोगको पहिचान हुन आवश्यक रहेकाले यो आर्टिफिसियल इन्टेलिजेन्सले लंग्स क्यान्सरको मृत्युलाई घटाउन मद्दत गर्ने ठान्छन् डा. सान्डर्स।  

अहिलेसम्म ३०० आर्टिफिसियल इन्टेलिजेन्सका टुल्स मेडिकल डाइग्नोसिसका लागि एफडिएले अनुमति दिएको बताउँछन् इमोरी विश्वविद्यालयमा बायोमेडिकल इन्जिनियरिङका प्राध्यापक अनन्त मादभुसी। अहिलेको अवस्थामा कुनै पनि रोग ठम्याउन रगत तथा शरीरका अङ्गको ल्याब परीक्षण अथवा ‘रेडियोलोजिकल स्क्यान’अपरिहार्य बन्छ। चिकित्सकको अनुभवको भरमा मात्र ल्याब परीक्षणको सही प्रशोधन सम्भव हुँदैन बरु कम्प्युटरको मद्दत अपरिहार्य बन्छ। 

निश्चित प्रकृतिको रोगका सम्बन्धमा संसारभरबाट सङ्कलित तथ्याङ्कलाई आर्टिफिसियल इन्टेलिजेन्सका टुल्सहरूमा भरी एउटा बिरामीको प्याथोलोजिकल तथा रेडियो इमेजिङ डाटालाई संसारका लाखौं बिरामीको तथ्याङ्कसँग दाँजी रोगको सही पहिचान गर्न सकिन्छ। कम्प्युटर टुल्सहरूले कम्प्युटर बग तथा अन्य कुनै टेक्निकल कारणले अप्रत्यासित परिणामसमेत दिन सक्ने भएकाले बिरामीको क्लिनिकल परीक्षण र सम्भाव्य रोगका बीच तालमेल छ छैन भन्ने ठम्याउने काम चिकित्सककै हुन्छ। तसर्थ, आर्टिफिसियल इन्टेलिजेन्स चिकित्सा विज्ञानको सहायक मात्र हो भन्ने कुरा बिर्सनु हँुदैन। कम्प्युटरले केवल रोगको पहिचानमा मात्र मद्दत गर्दैन, ओखतीको आविष्कार र विकास, बिरामीको हेरचाह, उपलब्ध उपचार विधि र रोगीको निरन्तर निगरानीमा समेत सहयोग पुर्याउँछ भन्ने नभुलौं।  

अहिलेको अवस्थामा कुनै पनि रोग ठम्याउन रगत तथा शरीरका अङ्गको ल्याब परीक्षण अथवा ‘रेडियोलोजिकल स्क्यान’अपरिहार्य बन्छ। चिकित्सकको अनुभवको भरमा मात्र ल्याब परीक्षणको सही प्रशोधन सम्भव हुँदैन बरु कम्प्युटरको मद्दत अपरिहार्य बन्छ। 

एउटै क्यान्सर भए पनि विभिन्न व्यक्तिमा पाइने ‘ट्युमर’को प्रकृति फरक फरक हुन्छ। तसर्थ सबै रोगीमा केमोथेरापीको प्रभावकारिता समान हँुदैन। क्यान्सरको कारकका रूपमा रहने आनुवंशिक पदार्थ (डिएनए) को बनोट व्यक्तिपिच्छे पृथक् हुने भएकाले सबै व्यक्तिमा अर्बुद रोगको प्रभाव पृथक् हुन्छ। त्यसैले क्यान्सरका रोगीपिच्छे फरक इलाज गर्ने गरी ‘पर्सनलाइज्ड मेडिसिन’को अवधारणा आयो।  

कसैलाई रोगले घेरै थलाउनु, ओखतीले काम नगर्नुजस्ता विषम अवस्था सिर्जना हुनुमा ४ अर्ब एकाइले बनेको डिएनएको भूमिका देखियो। सामान्यतः क्यान्सर लागेको व्यक्ति धेरै समय बाँच्दैनन्। अर्बुद रोगीको हकमा प्रत्यक पलले महत्व राख्ने भएकाले अविलम्ब इलाजको आवश्यकता पर्छ। बिरामीको अर्बुद कोष (सेल) र सामान्य सेलको आनुवंशिक भिन्नता ‘डिएनए सिक्वेन्सिङ’मार्फत तुरुन्तै पत्ता लगाउन सकिन्छ। तर, अर्बौंको संख्यामा रहने डिएनएका एकाइहरूको विश्लेषण नगरी कुन अणुवाशिंक विचित्रताले रोग लाग्यो भन्ने ठम्याउन सहज छैन। त्यस्तो अवस्थामा समेत ‘डिएनए’ विश्लेषणको करोडौं डाटा भण्डारण गरी बनाइएको कृत्रिम बुद्धिमत्ता एप्सहरू सहायक सिद्ध हुन्छन्।  

केही दशक अघिसम्म अनुभवी चिकित्सकको परामर्शपछि रोगको जड छिटै पत्ता लाग्ने अनि सहज उपचार हुने अवधारण थियो। तर, कम्प्युटर प्रविधिमा आएको हालैको विकासले उक्त सोच फेर्यो। अनुभवी डाक्टरको परामर्शको बदला कृत्रिम बुद्धिमत्ता टुल्स प्रयोग गरी बिरामीको उपचार गरांै भन्ने मान्यता आयो। त्यसका लागि संसारका सबै अन्वेषणकर्ताले तथ्याङ्क संकलनमा हालेमालो गर्न आवश्यक देखियो। नेपाली डाक्टरहरूले समेत देशमा संकलित चिकित्सकीय तथ्याङ्क संसारसँग साटी आर्टिफिसियल इन्टेलिजेन्स टुल्स निर्माणमा सहयोग गर्नुपर्छ। बहुजातीय तथा विविध उद्गम समूहका नेपालीको आनुवंशिक बनोट संसारका अन्य बासिन्दाभन्दा पृथक् हुने भएकाले हाम्रो सहकार्य आयुर्विज्ञान क्षेत्रको गहकिलो संयन्त्र बनाउन सहयोगी हुन्छ नै।  

प्रकाशित: ५ वैशाख २०८० ००:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App