अग्रगमनको अर्थ राष्ट्र र जनतालाई समर्थ, समृद्ध र कुशल बनाउनु हुनुपर्ने थियो । राष्ट्र सवल भएन भने जनता अराजक हुन्छन् । जनता सवल नभएमा राष्ट्र विघटनको बाटोमा हिँड्न लाग्छ । अग्रगमनले इतिहास मेट्दैन । इतिहास मेट्नुको अर्थ आफ्नो परिचयको अन्त्य हो । नेपालका राजा पृथ्वीनारायण शाहप्रति द्रोह गर्नेहरुले नेपालको परिचयलाई अस्वीकार गरिरहेका छन् । साना ठूला पर्वहरु मनाउने नेपाली परम्परा छ । ती पर्वहरुको आयतन, गहिराइ बुझेर वा लोकलज्जाका लागि हुने गरी राष्ट्रले उत्सव मनाउँछ । राष्ट्रसँग जनता हुन्छन् र उनीहरुसँग राष्ट्रिय संस्कृति हुन्छ । कुनै राष्ट्रको अन्तर्यमाथि प्रहार गर्नु छ भने संस्कृति ध्वस्त पार्नुपर्छ र परिचयलाई तहसनहस बनाउनुपर्छ । सौन्दर्यका प्रशाभनहरुले अनुहार चिल्लो बनाए पनि मुटु, मिर्गाैला, कलेजो, आदि भित्री अवयवहरु क्षयीकृत भए भने बाहिरी आवरणको कुनै औचित्य हुँदैन । परिचय र संस्कृतिबिनाको देश पनि त्यस्तै हुन्छ । परिचयको खोजी गर्नु अग्रगमनविरुद्ध कुनै पनि सन्दर्भमा हँुदैन । परिचय पश्चगमन कहिल्यै पनि मानिँदैन ।
तर नेपाली राजनीतिक नेताहरुको बुद्धि सुल्टो दिशामा हिँडिरहेको छैन । उल्टो गतिले जतिसुकै विकास गरे पनि परिणामसमेत उल्टो नै हुनेछ । राजनीतिक गति उल्टो भएका कारण हाम्रा परिवर्तन अझै संस्थागत हुन सकिरहेका छैनन् । पुरानो सबै भताभुंग पार्ने तर नयाँ जग बसाल्न नसक्ने सोचले परेको रिक्तताको खाल्डो झन् विस्तृत हुँदैछ । एक वर्षमा निर्माण सम्पन्न गर्ने भनी २०६८ सालमा भत्काइएका काठमाडौंका सडकको दुर्दशा जस्तै राजनीतिले दुर्दशा भोगिरहेको छ । मानिसका घर भत्किए, करेसो काटियो, सडक विस्तारको नाउँमा अनेक रडाको देखियो तर सडक भत्काउनेबाहेक केही भएन । वर्षमा हिलो र हिउँदमा धुलो नियति हुन पुगेको छ । आमनागरिकले कपडा धोएपछि बाहिर सुकाउन पाउँदैनन् । धुलाम्य हुन पुग्छ । भत्काएपछि तत्काल बनाउने सामथ्र्य राज्यसँग हुनुपर्ने थियो । अथवा भत्काउनुअघि त्यसको विकल्प योजना हुनुपर्ने थियो । जनतालाई लामो समयसम्म सास्ती दिने विकासप्रति मोह नहुन सक्छ । सास्तीकै कारण विकासप्रति जनताको मोह भंग भएमा अराजकता त्यहीँबाट प्रारम्भ हुन्छ ।
मोहभंग हुन लागेको विकास जस्तै हुन लागेको छ आजको अग्रगामी परिवर्तनको खेल । जुन खेलले नेपालको परिचयलाई, आफ्नो आधारलाई धराशायी बनाउँदैछ । जर्मनको इतिहासमा हिट्लर जस्तै तानाशाह थिए विस्मार्क । तर जर्मनीका जनताले उनलाई फादर अफ जर्मनी मानेका छन् । केही दिन पहिले ओखलढुंगाको सीमान्तकृत गाउँ जन्तरखानीमा पुग्दा त्यहाँ भेटिएका एक जना जर्मन नागरिकले मसँग सोधे– जर्मनीमा फादर अफ जर्मनी भनेजस्तै नेपालमा को छ ? उनको यो प्रश्नको उत्तर म कसरी दिनु र कसलाई भन्नु फादर अफ नेपाल ? जर्मनीका विस्मार्क जस्तै हुन् नेपालका राजा पृथ्वीनारायण शाह । उनी छरिएर बसेका साना राज्यहरुका लागि तानाशाह भए होलान्, साम्राज्यवादी वा विस्तारवादी मानिए होलान् तर आजको नेपालका निर्माता हुन् । आजको नेपालीले उनलाई नेपाल निर्माता नै भनेर हेर्छ । नेपाल निर्माणका क्रममा अनेक सपुतले साथ दिए पनि नेतृत्व उनकै थियो र उनकै नाउँ रहेको छ । जसरी माओवादी हिंसामा अनेक सपुतले जीवन उत्सर्ग गरे तर नाम र प्रतिफलको नायकत्व पुष्पकमल दाहालसँग जोडिएको छ । इतिहास पुष्पकमलकै हुनेछ । २००७ को पृष्ट पल्टाउने हो भने बिपी कोइराला र मातृकाप्रसाद नै रहनेछन्, २०४६ लाई हेर्ने हो भने गणेशमान सिंह र कृष्णप्रसाद नै हुनेछन्, २०६२ र २०७२ लाई बुझ्न गिरिजाप्रसाद र सुशीललाई नै पढ्नुपर्ने हुन्छ । तर के तिनीहरु मात्र हुन् त इतिहास निर्माता ? पक्कै पनि होइनन् । अनेक सपुत, नायक, महानायकहरु इतिहाससँग जोडिएका छन्, तैपनि नाउँ मुखियाको मात्र हुन्छ । पृथ्वीनारायण शाह मुखिया थिए एकीकरणका त्यसैले उनको नाउँ पहिलो हुन्छ नेपाल निर्माणको इतिहास अध्ययन गर्दा । यसैकारण म पृथ्वीनारायण शाहलाई फादर अफ नेपाल मान्न तयार छु । राज्यले स्वीकार गरेको छैन । बाघका छालामा स्यालको रजाइँ भएर रहेको राजनीतिले पृथ्वीनारायण शाहको स्मृति सभा आयोजन गर्दैन, बिदा दिने परम्परा तोडेको छ र राष्ट्र निर्मातालाई चिनाउने सबै विषय र पक्ष धमिलो बनाइँदैछ । राजा÷महाराजा पद्धति सामन्ती प्रथा हो भन्ने विश्लेषण आफैँमा अराजकबाहेक केही होइन । राजा वा महाराजा राज्यको एक प्रतिनिधिबाहेक केही होइन । केही राजा क्रूर भए, निरंकुश भए र शासकीय पारिवारिक उत्तराधिकारित्व स्थापित गरे, त्यसैले तिनीहरु बदनाम भए ।
शासन आफँै सामन्ती चरित्रको पर्याय हो । राजतिलक वरण गरेको व्यक्तिमात्र खराब हुने अरु असल हुने भन्ने हँुदैन । हिट्लर, मुसोलिनी, पोलपोट, स्टालिन, अनेक गैरराज घरानाका तानाशाह प्ौदा भए र राज गरे । जिया उल हक चर्चित तानाशाह भए दक्षिण एसियामा । इरानमा धार्मिक तानाशाहको राज लामो समय चलिरह्यो भने बर्मामा सैनिक तानाशाह चर्चित थियो । अहिले साम्यवादले राजतन्त्र स्थापना गरेको छ । उत्तर कोरियालाई किम इल सुङले साम्यवादी सत्तामा रूपान्तरित गरेका थिए । उनीपछि उनकै छोरा किम जोङ र अहिले किमकै नाति राष्ट्रपति हुन पुगेका छन् । तीन पुस्ता भयो उत्तर कोरियामा निरंकुश पारिवारिक सत्ताले काम गरेको । खराव शासनको सूत्राधार यसैकारण राजा वा महाराजाहरु मात्र नभएर आमनागरिक शासनमा पुग्नासाथ खराव शासनको आधार हुनसक्छ भन्ने प्रतीकात्मक उदाहरणमात्र हुन् यी नामहरु । किम इल जोङका पक्षमा वकालत गर्नेहरु र राजा पृथ्वीनारायण शाहको योगदानविरुद्ध उभिनेहरुका लागि जवाफ पनि हुन् यी नाम ।
नेपाल निर्माणको कला उनमा पर्याप्त थियो । उनका पछि जंगबहादुर राणामा त्यस्तो कला देखिन्छ । शासन भावना, सौर्य र उद्वेगमात्र होइन कला पनि हो । कलाबिना शासन असम्भव हुन्छ । पृथ्वीनारायण शाहमा शासन कला प्रशस्त देखिन्छ । उनले कुनै कूटनीतिको आजका जस्ता दर्शन थाहा पाएका थिएनन्, विशेषज्ञहरु उनका सामान्य थिए । केही गुरु÷पुरोहितको ज्ञानबाहेक रणनीतिक कुशलताको त्यस कालखण्डमा अरु आधार थिएन । तैपनि संसारको पहिलो साम्राज्यवादी शक्ति वेलायतलाई घुँडा टेकाए र ठूलो मैदानीसहित पहाडी भूखण्ड जोगाए । उनले नेपालका साना राज्यहरु कब्जा गरेका होइनन् बरु उनीहरुको अस्तित्वलाई विशाल राष्ट्रमा परिणत गरेका हुन् । विशाल राष्ट्र भएकै कारण यो देश र यो क्षेत्र सुरक्षित भएको थियो । आजका दिनमा साम्राज्यवाद र विस्तारवाद अनि हस्तक्षेपका कुरा गर्नेहरुलाई पृथ्वीनारायण शाह आफँै विशेष आदर्श हुनुपर्ने थियो । राष्ट्रियता र राष्ट्रवादका कुरा गर्नेहरुका लागि उनी नायक मानिनुपर्ने थियो । तर उल्टो भइरहेको छ । पृथ्वीनारायण शाहको नाउँ नलिनेहरु साम्राज्यवाद, विस्तारवाद र हस्तक्षेपका नारा उरालिरहेका सुनिन्छ । साम्राज्यवाद, विस्तारवाद र हस्तक्षेपविरुद्ध प्रतिरोधात्मक युद्ध गर्ने पृथ्वीनारायण शाहका विषयमा मौन रहेर कसरी देशको स्वाभिमान रहन्छ ?
नेपालको भूगोल र समाजका आधारमा पृथ्वीनारायण शाहका विचार सर्वाधिक महत्वका छन् । शासकीय कुशलता र अनुभवले सिर्जना गरेका ती विचार कालजयी यसैकारण यथार्थपरक छन् । उनले पश्चिमा साम्राज्यवाद सांस्कृतिक अतिक्रमण र आर्थिक व्यावसायिक क्षेत्रबाट हुन सक्ने राम्ररी बुझेका थिए । परनिर्भर देश नै विस्तारवादको सिकार हुन्छ भन्ने उनको बुझाइ थियो । उत्तर दक्षिणसँगका सम्बन्धहरुमा उनी स्पष्ट थिए । उनको जोड आन्तरिक उत्पादनमुखी अर्थतन्त्रका पक्षमा थियो । राष्ट्रियताको आधारलाई उनले सम्पूर्ण जनताको सांस्कृतिक मूल्यलाई मानक बनाएका थिए र नै सबै जातजाति, धर्म, भाषा र संस्कृतिलाई समानरूपमा व्यवहारमा स्वीकार गरे । कोही पनि पराया होइन भन्ने मान्यताले काम गरे । उनको कुनै आधुनिक शिक्षा थिएन । उनका समयमा ठूला वैचारिक आविष्कार भएका थिएनन् र भए पनि नेपालको राजनीतक वृत्त यसमा पूर्ण निरपेक्ष थियो । प्राचीन पूर्वीय दर्शनबाट दीक्षित पृथ्वीनारायण शाहमा देश चलाउने चेतनाबोध आफैँमा आश्चर्यजनक लाग्छ । आजको नेपाली राजनीतिका लागि पृथ्वीनारायण शाहको त्यो युगीन चेतना पाठ हुनसक्छ । देश भनेको एउटा कालखण्डको प्रतिनिधि होइन सर्वकालीन प्रतिनिधित्व गरेको हुन्छ देशले । देश पृथ्वीनारायण शाहले बसाएको त्यही सार्वकालीन प्रतिनिधिका रूपमा आज पनि कार्यरत छ । राष्ट्रपति विद्यादेवी भण्डारी हुन् कि प्रधानमन्त्री पुष्पकमल दाहाल, त्यही सार्वकालीन लिगेसी हुन् । तर तुलना गर्न मिल्दैन ।
नेपालको राजनीतिक विचारको आन्दोलनमा पृथ्वीनारायण शाह पहिलो नै हुन् । रणनीतिक कुशलताका हिसावले जंगबहादुर राणा र आधुनिक विचारका दृष्टिले बिपी कोइराला, पुष्पलाल श्रेष्ठ र सामाजिक चेतका हिसावले महाकवि लक्ष्मीप्रसाद देवकोटा नै विचार प्रवाहका नायक ह्ुन् । आजका सबै विचारको जगमा यिनै नेपालीको महत्वपूर्ण योगदान देखिन्छ । तर पृथ्वीनारायण शाहलाई किन अपमान गरिँदैछ ? के इतिहास नामेट पारेर देशको परिचय स्थापित हुन्छ ? के असल इतिहासको अपमान गर्दा परिवर्तनले पूर्णता पाएको मानिन्छ ? आजका दिनमा राजनीतिक नेतृत्वले यसमा विचार गर्ने कि नगर्ने ?
प्रकाशित: २७ पुस २०७३ ०४:२४ बुधबार