६ आश्विन २०८१ आइतबार
image/svg+xml
विचार

अमेरिकामा ट्रम्पको नेतृत्व

महाशक्ति राष्ट्र अमेरिकामा मंगलबार सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले विजय हात पारेका छन्। उनले निकटतम प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई उछिनेका हुन्। अमेरिका त्यसै लोकतन्त्रको जननी मुलुक मानिएको होइन। यसले लोकतान्त्रिक विधिलाई महोत्सवका रूपमा त्यस मुलुकले अघि बढाउँछ। निर्वाचनको क्षणलाई अमेरिकी नागरिकले गरेको अभ्यास र प्रयोग संसारका निम्ति लोभलाग्दो छ। कानुनी वा लिखित प्रतिबद्धता मात्रैले लोकतन्त्र कार्यान्वयन हुने भए संसारका कतिपय मुलुकले यो खुल्लापन तथा स्वच्छन्दपनको फाइदा लिइसक्ने थिए। प्रमुख पक्ष त मानवअधिकारको पूर्णपालना, विश्वसनीय शैलीको आवधिक निर्वाचन, जनमतको कदरजस्ता सवालमा अमेरिकाका राजनीतिकर्मी चनाखो छन्। आफूले हार्दा उनीहरू धाँधली भयो भन्दैनन् र जितमा उखरमाउलो पनि गर्दैनन्। निर्वाचनमा पद र गुण्डाको प्रयोग गर्दैनन्। बरु प्रत्येक उम्मेदवारले गर्ने बहस, तर्क र घोचपेचलाई निर्वाचनको अस्त्रका रूपमा उपयोग गर्छन्। निर्वाचनलाई संसारले हेरिरहेको तथ्य मैदानमा उत्रिएका प्रतिस्पर्धीहरूले कहिल्यै बिर्संदैनन्। यस पटकको राष्ट्रपतीय निर्वाचनलाई पनि सारा विश्वले ध्यानपूर्वक हेरिरहेको थियो। नेपालका सञ्चारमाध्यमले यो निर्वाचनलाई यथोचित स्थान दिँदै आएका थिए। कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेको पूर्वानुमानलाई गलत साबित गर्दै ट्रम्पले बाजी मारेका छन्। तर, हिलारीको पराजयबाट अमेरिकाले पहिलो महिला राष्ट्रपतिको इतिहास बनाउने अवसर भने गुमाएको छ। डोनाल्ड र हिलारीबीचको प्रतिस्पर्धा रोचक थियो नै साथमा तिनले उठाएका मुद्दा पनि असरदार प्रतित हुन्छन्।

यतिखेर संसारभरि राष्ट्रवादी हावा चलिरहेको छ। पारिवारिक विरासतलाई आधार बनाएर गरिने राजनीति अब बिस्तारै कमजोर बन्दै गएको छ। नेपाल पनि यसबाट अछुतो छैन। संसारभर प्रायः मध्यमवर्गीय तथा जागिरे जनता राष्ट्रवादी हुने गरेको देखिन्छ। अमेरिकामा पनि त्यही वर्ग बढी राष्ट्रवादी देखियो। र, तिनलाई राष्ट्रवादले ओतप्रोत ट्रम्पको अभिव्यक्ति मन पर्‍यो। केही समयअघि डोनाल्डले भनेका थिए– अमेरिका अब 'अमेरिका' रहेन, यसकारण यसलाई पहिलाकै अवस्थामा फर्काउनु आवश्यक छ। उनको यो भनाइ कतिपय अमेरिकीको स्मरणमा थियो। अर्को कुरा उनले आफ्नो मुलुकबाट क्रमशः संकुचित हुँदै गएको रोजगारीलाई पुनःस्थापित गर्ने वचन पनि दिएका छन्। पछिल्लो समय अमेरिकाका कतिपय लगानीकर्ताले चीनमा लगानी बढाएका छन्। यो अवस्थालाई व्यापार राम्ररी बुझेका ट्रम्पले मन पराएका छैनन्। यसले अमेरिकामा रोजगारीका अवसर गुम्दै गएको उनको बुझाइ छ। मध्यमवर्गीय तथा जागिरेलाई लक्षित गर्दै उनले तिनको सुरक्षित भविष्यमा चिन्ता पनि व्यक्त गर्दै आएका छन्। सोही कारण निर्वाचनमा यही वर्गले उनको साथ दियो र विजयी गराइदियो। आप्रबासीबारे पनि ट्रम्प केही हदसम्म नकारात्मक रहँदै आएका हुन्। अन्य मुलुकका मान्छेको बढ्दो हस्तक्षेपका कारण अमेरिकाबासीले काम नपाएको भन्ने पक्षलाई डोनाल्डले गम्भीरताका साथ लिएको देखिन्छ। उनको जितले कतिपय आप्रबासी, अल्पसंख्यक आदिमा चिन्ता थपिएको हुनुपर्छ।

उनले निर्वाचन अभियानका क्रममा व्यक्त गरेका कतिपय अभिव्यक्तिलाई लिएर तिखो टिप्पणी हुँदै आएको थियो। उनका अभिव्यक्तिलाई स्मरण गर्नेहरूले कतै अमेरिकामा अब मानवाधिकार र वैयक्तिक स्वतन्त्रता संकुचित हुँदै जाने त होइन भन्ने आशंका गर्न थालेका छन्। व्यापार–व्यवसायको दुनियाँ देखेका र भोगेका ट्रम्पले निश्चय पनि 'स्वतन्त्र हुने' मान्छेको सर्वप्रिय चाहना बुझेकै हुनुपर्छ। त्यति मात्र होइन अमेरिकी राजनीतिक प्रणाली बलियो भइसकेको हुनाले व्यक्तिकै कारण त्यसमा धेरै ठूलो उतारचढाव नआउला। तैपनि, ट्रम्पको विजयसँगै सेयर बजारमा प्रभाव पर्नेजस्ता केही प्रारम्भिक प्रतिक्रिया देखापरेका छन्। उनको जितले प्रत्यक्ष ढंगमा नेपालजस्ता दक्षिण एसियाली गरिब मुलुकलाई कुनै असर गर्ने अहिले अवस्था देखिँदैन। महाशक्ति तथा ठूलो अर्थतन्त्र बन्ने होडमा दौडिरहेका हाम्रा दुई छिमेकी भारत र चीनमा भने यो जित–हारले निश्चितरूपमा असर पार्नेछ। अमेरिका आफूलाई महाशक्तिको तहबाट तल ओराल्न पक्कै पनि चाहँदैन। त्यसका निम्ति ट्रम्पले अहिले नै योजना तयार पारिसकेका हुनुपर्छ। र, यसको असर प्रत्यक्ष/परोक्ष ठूला देश चीन र भारतमा पर्छ नै। नेपाललाई अमेरिकाले गर्दै आएको सहयोग र मैत्रीमा उनको कार्यकालमा पनि उत्तिकै प्राथमिकता पाउनेछ। नेपालको प्रगतिका निम्ति सदैव चासो राख्ने मुलुक अमेरिकाका ४५ औैँ राष्ट्रपति बन्न सफल ट्रम्पलाई हार्दिक बधाई तथा सफल कार्यकालका निम्ति शुभकामना!

प्रकाशित: २५ कार्तिक २०७३ ०४:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App