सानो बच्चा रुँदा फकाउन टेलिभिजन, फोन तथा ट्याब्लेट हेर्न दिने प्रचलन नयाँ होइन। टेलिभिजनबाट आउने रंगिन प्रकाशले बच्चालाई फुल्याउन मद्दत गर्ने भएकाले आमाबाबुले उपलब्ध साधन प्रयोग गर्नु अन्यथा होइन। त्यसमाथि भर्खरका बच्चाको दिमागलाई टेलिभिजनले पार्ने नकारात्मक प्रभावको जानकारी नभएको अवस्थामा घरमा रहेका इलेक्ट्रोनिक्समार्फत अल्मल्याउन खोज्नु ठूलो कुरा भएन। गत महिना धेरै वर्षदेखि अनुत्तरित उक्त प्रश्नको जवाफ दिए न्यासनल युनिभर्सिटी अफ् सिंगापुरका अन्वेषणकर्ता यभलिन ल नेतृत्वको अनुसन्धान टोलीले। एक वर्ष भन्दा साना बच्चालाई इलेक्ट्रोनिक मिडिया प्रयोग गर्न दिँदा पार्ने असरको अध्ययन गरी जर्नल जामा पेडियाट्रिक्समार्फत संसारलाई जानकारी गराए प्राध्यापक लगायतका अनुसन्धानकर्ता समूहले।
एक वर्षभन्दा कम उमेरमा टेलिभिजन, ट्याब्लेट जस्ता साधन प्रयोग गरेका बच्चालाई ९ वर्ष पुगेपछि विभिन्न विधिमार्फत दिमागी परीक्षण गर्दा उनीहरूको स्मरण शक्ति, योजना बनाउने क्षमता, कामहरूलाई प्राथमिकता दिने तागत जस्ता कार्यकारी क्षमतामा ह्रास आएको देखायो उक्त अध्ययनले। कार्यकारी स्मरण तागत र बच्चाले सानामा इलेक्ट्रोनिक्ससँग बिताएको समयका बीच विपरित कित्ताको संबन्ध देखियो। बच्चामा टेलिभिजनको मुख नदेखेकाको दिमागी तागत इलेक्ट्रोनिक्सको सामीप्यतामा हुर्किएका बालकको तुलनामा मजबुत देखियो। बच्चामा जति धेरै ट्याब्लेट हेर्यो हुर्किएपछि त्यसै अनुपातमा कार्यकारी प्रशोधन क्षमता घट्छ भन्ने डा. लको अनुसन्धानको निचोड हो। आखिर इलेक्ट्रोनिक्सको प्रयोग किन हुर्कँदो दिमागका लागि हानिकारक हुन्छ त ? त्यसका लागि एउटा अनुसन्धानको चर्चा सान्दर्भिक हुन्छ।
एमआरआइ दिमागी अवस्था अध्ययन गर्ने आवधिक मेडिकल संयन्त्र भएकाले उक्त विधिमार्फत वैज्ञानिकले मस्तिष्कको सूक्ष्म अध्ययन गर्छन्। एक अनुसन्धान समूहले १० वर्ष उमेर समूहका ४५ हजार बच्चामा गरिएको एमआरआइ स्क्यानलाई नियाल्दा दैनिक ७ घण्टा भन्दा अधिक आधुनिक सञ्चार उपकरण हेर्ने बच्चाको दिमागको कर्टेक्स पातलिँदै गएको देखियो। उमेर ढल्कँदै गएपछि पातलिनुपर्ने कर्टेक्स स्मार्टफोनको बढी उपभोगले बच्चामै खिएको पाइयो। पाँचवटैै इन्द्रियले ल्याएका सन्देशलाई संस्लेषण गर्ने कर्टेक्सको सतह पातलिएपछि विभिन्न किसिमको मानसिक समस्या देखिनु अन्यथा भएन।
युनिभर्सिटी अफ् क्यालिफोर्निया स्यान्डियागोका अनुसन्धानकर्ताहरू इलेक्ट्रोनिक मिडियाप्रति बच्चाहरूको आशक्तिको बायोलोजिकल कारण पत्ता लगाउन तल्लीन भए। उक्त अनुसन्धानका क्रममा इन्स्ट्याग्राम प्रयोग गर्ने युवा समूहको दिमागमा उक्त याप्स प्रयोग गरेका बखत मस्तिष्कमा कुन रासायनिक पदार्थ उत्पादन हुन्छ भनी अध्ययन गर्न एमआरआइ विधि उपभोग गरियो।
एमआरआइ स्क्यानले सामाजिक सञ्जाल प्रयोग गरेका बखत व्यक्ति दिमागमा डोपामिन भन्ने रासायनिक पदार्थ अत्यधिक उत्पादन भएको देखियो। गाजा, भाङ जस्ता नसालु पदार्थको सेवन गर्दासमेत डोपामिन पैदा हुने अनि उक्त रासायनिक पदार्थका कारण ड्रग्सको लत लाग्ने यथार्थ बिर्सनु हुँदैन। नशालु पदार्थ जस्तै जति बढी सामाजिक सञ्जाल प्रयोग गर्यो त्यति बढी फेसबुक चलाउन व्यक्तिमा आशक्ति जाग्छ। व्यक्ति सामाजिक सञ्जालबाट हट्न नखोज्नुको बायोलोजिकल कारण पत्ता लाग्यो।
सान डियागो स्टेट युनिभर्सिटीको साइकोलोजीको प्राध्यापक जिन ट्विड्गेले संयुक्त राज्य अमेरिकामा सन् १९९५ देखि २०१२ का बीचमा जन्मिएका बच्चालाई उनले आइ जेनेरेसनको नाम दिइन्। उक्त पुस्ताको जीवन पद्धति, बानी र मूल्य/मान्यता समेटेर आइ जेन भन्ने पुस्तक लेखिन् उनले। स्मार्ट फोनको जगजगीमा हुर्किएका बच्चाका विविध पक्ष समेटिएको उक्त अन्वेषणात्मक पुस्तकले उक्त पुस्ताका बारेमा सकारात्मकभन्दा अत्यधिक चिन्ता व्यक्त गर्यो। जसै आइ जेनेरेसनसामु स्मार्ट फोनको पहुँच बढ्दै गयो त्यसै अनुपातमा उक्त पुस्ताको मानसिक स्वास्थ्य खस्कँदै गयो भन्ने उक्त पुस्तकको मुख्य निचोड हो।
सन् २०११ देखि २०१९ मा पुग्दा स्मार्ट फोनको प्रयोग दुगुना बढ्यो अनि अमेरिकी युवा युवतीमा मानसिक रोग पनि झण्डै दोब्बर देखियो। आइ फोनमार्फत युवा पुस्ता सामाजिक सञ्जाल तथा टेक्स्ट म्यासेजमार्फत साथीसंगीको संपर्कमा पुगे तर फेस टु फेस कुराकानी जस्तो सद्भाव विकास हुन सकेन। त्यसै कारण आइ जेनेरेसनमा मानसिक रोग बढ्यो भन्ने ठान्छिन् डा. ट्विड्गे।
स्मार्ट फोन, ट्याब्लेट जस्ता इलेक्ट्रोनिक साधन र फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जाल अनि विभिन्न किसिमका भिडियो गेमले मानिसको मानसिक तागतलाई कसरी असर पारेको छ भन्ने संबन्धमा धेरै अध्ययन/अन्वेषण भए। प्रकाशित सबै नै अध्ययन/अन्वेषणले सामाजिक सञ्जाल तथा भिडियो गेमहरूको अत्यधिक प्रयोगले बच्चादेखि वृद्धसम्म सबैको मानसिक क्षमतालाई क्षीण बनाउँदै लाने देखाए।
स्मार्ट फोनले सामाजिक सञ्जाल र भिडियो गेमलाई सहजीकरण गर्ने भएकोले सबै किसिमका अपजस आइ फोनलाई जान्छ नै। यसरी दिमागी थकानको मुख्य स्रोतका रूपमा रहेको स्मार्ट फोनको व्यवस्थापन जरुरी हुन्छ। तर के आइ फोनको बन्देज संभव छ त?
संयुक्त राज्य अमेरिकामा गरिएको एक सर्वेक्षणका आधाभन्दा अधिक सहभागीले स्मार्ट फोनबिनाको जीवन कल्पना गर्न नसक्ने बताए। त्यस्तै, अर्को पृथक अध्ययनमा संलग्न करिब करिब शतप्रतिशत उत्तरदाताले आफ्नो दैनिकीको सुरुआत र विसर्जन आइ फोनबाट हुने गरेको भने। बिउँझिनेबित्तिकै अनि सुत्नुअघि मात्र होइन, बरु मध्यरातमा बाथरुम प्रयोग गर्न उठ्दा पनि फोन हेर्ने बानी परेका मानिस संसारभर छन। उक्त संख्या नेपालमा समेत कम छैन।
पछिल्लो दशकमा फेरिएको दैनिकीले आइफोन मानिसको जिन्दगीको अभिन्न अंग भएको देख्छ। यसरी आधुनिक सभ्यताको नवीन आवश्यकता बन्न पुगेको स्मार्ट फोनको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पारेको खबर नवीन होइन। भर्खरका बच्चादेखि वयस्कसम्मका लागि आइ फोनका कारण विभिन्न शारीरिक समस्या देखिने गरेको प्रमाण देखिए पनि स्मार्टफोनको प्रतिबन्ध संभव छैन।
आइ फोनलाई बन्देज गर्न संभव नभएपछि यसलाई कसरी संयमित प्रयोग गर्ने भन्ने संबन्धमा ध्यान दिन आवश्यक देखियो। स्मार्ट फोनको प्रयोगलाई कसरी व्यवस्थित गर्ने अनि आधुनिक प्रविधिको दुरूपयोगबाट कसरी समाजलाई जोगाउने भन्ने संबन्धमा भएका अध्ययन र विज्ञका सल्लाह सार्वजनिक गर्नु यो आलेखको लक्ष्य हो।
विज्ञानका क्षेत्रमा कलम चलाउने पत्रकार क्याथरिन प्राइसले स्मार्ट फोनको दुरूपयोगको सिकार भएको महसुस गरेका तर आदतले मजबुर भएर आइ फोनको नशामा डुबेका व्यक्तिहरूलाई राहत दिने उद्देश्यले हाउ टु ब्रेक अप बिथ योर फोन भन्ने पुस्तक लेखिन। प्रकाशनको छोटो समयमै उनको पुस्तक २२ भाषामा अनुवाद भयो, संसारभर किताबका लाखौँ प्रति बिक्री भए।
सालाखाला हिसाब गर्दा मानिसले दैनिक ४ घण्टा स्मार्ट फोनमा बिताउने गरेको अध्ययनले देखायो। उत्पादनशील समयको एक चौथाइ फोनसँग बिताउने अनि कार्यालयमा खर्चिने ८ घण्टाको हिसाब गर्दा मानिससँग परिवार, साथीभाइसँग बिताउने समय नै बाँकी रहेन। स्मार्ट फोनको दुरूपयोगका कारण व्यक्ति अत्यधिक व्यस्त तर न्यून उत्पादनशील बन्न पुग्छ भन्ने देखियो। दैनिकी फेरिँदा सामाजिक र पारिवारिक प्राणी मानिस समाज अनि परिवारसँगको दायित्व पालन गर्न नसक्ने अवस्थामा पुग्छ।
छोराछोरीलाई समय दिन अनि उनीहरूको हेरचाह गर्न असमर्थ भएपछि पारिवारिक विखण्डनसम्मको अवस्था आउन सक्छ। साथै, अत्यधिक आइ फोनको प्रयोगले सोच्ने क्षमता तथा गहन चिन्तन गर्ने शक्ति क्षीण हुन्छ भने स्मरण शक्ति समेत नास हँुदै जान्छ। व्यक्ति मानसिक रोगको सिकार मात्र हुँदैन, बरु व्यक्ति आत्महत्या गर्ने अवस्थामा समेत पुग्न सक्छ। आफ्नो अनुभव र प्रकाशित अन्वेषणका कारण आइ फोनबाट टाढा बस्न चाहने तर हालातले गर्दा असमर्थ रहेकालाई सहयोग पुर्याउने उद्देश्यले प्रकाशित क्याथरिनको पुस्तकले विश्वभर चर्चा भयो।
फोनलाई व्यवस्थित गर्ने संबन्धमा विज्ञका राय हेरौँ-सामाजिक सञ्जाल तथा इमेलका अलर्टले मानिसलाई सदैव फोनको समीपमा पुर्याउने भएकाले हरदम नोटिफिकेसन आउने सेटिङको बदला आवधिक सजगताको व्यवस्था गर्दा फाइदा हुने देखियो। सञ्जालका कारण व्यक्ति सदैव फोनको समीपमा पुग्ने हुँदा सोसल मिडियाका याप्सहरू हटाइ इन्टरनेटमार्फत सामाजिक सञ्जाल खोल्दा व्यक्तिलाई आइ फोनसँग लामो समय पृथक राख्न मद्दत पुग्छ।
उपकरणलाई आफूभन्दा अलि टाढा राख्ने अनि फेस आइ डीको बदला फोन खोल्न नम्बर थिच्नुपर्ने अवस्थाले व्यक्तिको गजेटप्रतिको लगाव कम हुन्छ। अध्ययनले फोटो भएको रंगीन स्क्रिनको बदला ग्रे कलरको फोन ब्याकग्राउन्ड राख्दा मानिसको आइ फोनप्रतिको झुकाव कम हुने देखाएकाले तद्नुरूपको सेटिङ गर्नु हितकर देखियो। अझ सबैभन्दा महत्वपूर्ण कुरा बच्चाका लागि इलेक्ट्रोनिक मिडिया निकै घातक पुष्टि भएकाले केटाकेटीलाई हाइस्कुल नपुगुन्जेल फोनसँगको सहबासबाट टाढा राख्न प्रयास गर्नु उचित हुन्छ।
बच्चालाई स्मार्ट फोनको पहँुचबाट जोगाउँदै सामाजिक सञ्जालबाट टाढा राख्ने उद्देश्यले युरोपियन युनियनले सन् २०२२ मा डिजिटल सर्भिस एक्ट जारी गर्यो। अमेरिकी राष्ट्रपतिको स्वास्थ्य सल्लाहकारका रूपमा रहने सर्जन जेनरलले बच्चालाई स्मार्टफोनबाट पृथक राख्न अत्यावश्यक रहेकाले तद्नुरूपको कानुनी तर्जुमा आवश्यक देखी सन् २०२१ मा सूचना जारी गरे। त्यही उद्देश्य प्राप्तिका लागि बेलायतको संसद्मा अन लाइन सेफ्टी बिल विचाराधीन रहेको यथार्थलाई स्मरण गर्दा नेपालको संसद्ले समेत सामाजिक सञ्जालको कूलतबाट जनतालाई जोगाउन समान प्रकृतिको कानुन बनाउनु राम्रो हुन्छ। सामाजिक सञ्जालको बेथितिले बच्चादेखि वृद्धसम्मलाई नछाड्ने भएकाले व्यक्तिगत, सामाजिक तथा कानुनी रूपले जनतालाई स्मार्ट फोनको कुलतबाट जोगाउन सबैले आआफ्नो स्थानबाट भूमिका खेल्न आवश्यक छ।
प्रकाशित: ९ फाल्गुन २०७९ ००:२७ मंगलबार