१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

अभिनेत्रीलाई गाली!

काम, नाम र दामले मालामाल देखिने फिल्म क्षेत्रमा सक्रिय अभिनेत्रीहरु अन्य कलाकारको तुलनामा गाली र आलोचनाका बढी नै शिकार हुने गरेका छन्। नेपाली फिल्म क्षेत्रमा सक्रिय अभिनेत्रीले पनि यस्ता गालीगलौजको शिकार हुनुपरेको छ। धेरै अभिनेत्रीले त यस्ता गालीगलौजलाई गोप्य नै राख्ने गरेका छन्। ब्यस्त अभिनेत्री प्रियंका कार्कीले हालै सामाजिक सञ्जालमार्फत् गालीगलौज गर्नेहरुप्रति लक्षित गरेर 'मेरो मन रुवाउने' शीर्षकमा पोस्ट सार्वजनिक गरेपछि एकपटक फेरि यस विषयले धेरैको ध्यान खिचेको छ।

बिहान उठेदेखि दिनरात ब्यस्त रहने अभिनेत्रीहरुलाई गाली गर्दा अहिले पनि हामी कस्तो समाजमा छौं भन्ने प्रश्न उब्जन्छ। आफ्नो घरमा छोरीचेलीलाई कसैले हेर्योु भने पनि काँचै खाउँलाझैँ गर्ने यही समाजले अभिनेत्रीलाई हेर्ने दृष्टिमा भने यो संहिता पालना गर्न आवश्यक ठानेको देखिन्न। नेपाली समाजमा अभिनेत्रीहरुको ट्यागलाइनलाई नकारात्मकरूपमा प्रस्तुत गर्न हौसिएका कमजोर मानसिकता राख्ने मानिसका कारण सिंगो फिल्मी क्षेत्र नै चिन्तित बन्न पुगेको छ। घरका दिदीबहिनी, आमा, भाउजू, छोरीहरुमात्र आफ्ना हुन्, अन्यलाई जतिसक्दो तल्लो स्तरको गाली गर्दा पनि हुन्छ भन्ने सोचमा सकारात्मक परिवर्तन नआएसम्म अभिनेत्रीले गालीगलौज खेप्नुपर्ने दिन समाप्त हुने छैनन्।

हाम्रो समाजमा स–साना कुराले समेत ठूलो असर गर्ने हुँदा गालीगलौज खेप्नुपरेका अभिनेत्रीको परिवारका सदस्यको मानमर्दनमा समेत चोट पुग्ने गरेको छ। धन्न, उनीहरुको धैर्यलाई भने सम्मान गर्नैपर्छ जसले यसका बाबजुद पनि आफ्ना चेलीलाई कर्मक्षेत्रमा जुट्न प्रोत्साहित गरिरहेका छन्। आफ्नाबाहेक अरुलाई नराम्रो देखाउने प्रवृत्ति नेपाली समाजमा विद्यमान एक विकराल समस्या नै हो। जति पढे/लेखेका भए पनि कमजोर र तल्लोस्तरको सोच राख्नेहरु छ्यास्छ्यास्ती भेटिन्छन् यहाँ। यस्ता प्रवृत्तिका मानिसको मानसिक उपचार नगराएसम्म समाजलाई दुर्गन्धित गराउने क्रम रोकिने छैन। काल्पनिक संसारमा देखिएजस्तो घर, गाडी, बैंक ब्यालेन्स र मस्तीको जीवनशैलीका लागि गर्नुपरेको संघर्ष र मेहनतको मूल्य नदेख्ने कमजोर दिमागीहरुका कारण अभिनेत्रीहरु निराशाको सागरमा समेत डुब्न पुग्छन्। जसले उनीहरुको गतिलाई धक्का दिन्छ।

आर्थिक र शारीरिक शोषणबाट घरिघरि प्रताडित अभिनेत्रीहरु यस्तो अपमान सहेर बस्नुपछाडिका बाध्यता अनेकौँ हुन सक्छन्। उनीहरुले यसबाट आफूलाई परेको अन्याय सार्वजनिक गर्ने र पीडकलाई कारबाहीको दायरामा ल्याउने प्रयास नगर्दा पनि न्याय बिर्सनेहरुले सहजै उन्मुक्ति पाउने गरेका छन्। अझै भन्नुपर्दा हौसिने गरेका घटना पनि देखिएका छन्। तनावबाट छुटकारा लिन मनोरञ्जनको दुनिया प्रयोग गर्ने र आफूलाई 'बौद्धिक' दाबी गर्नेहरुको तुच्छ सोचका कारण केही गलत मानसिकता भएका अभिनेत्रीकै कोटीमा सबैलाई सामान्यीकरण गर्ने क्रम पनि फैलँदो छ। त्यसैले त प्रियंकालाई पनि आफ्नो स्ट्याटसमार्फत अश्लील शब्द प्रयोग गर्नेहरुप्रति कटाक्ष गर्नैपर्ने बाध्यता आइलाग्यो।

फिल्म रिलिज हुँदा मनोरञ्जनका लागि टिकट काटेर पर्दामा कलाकार हेर्छन्। उनीहरुको अटोग्राफ लिनेको भिड लाग्ने गर्छ। अभिनेत्रीको रूप र यौवनमा लठ्ठिने त्यस्ता मानिसको व्यवहार रियल लाइफमा चाहिँ किन रिल लाइफको जस्तो हुन सक्दैन? के यसले उनीहरु दिमागी बिमार भएको संकेत उजागर गर्दैन र? जे होस्, अभिनेत्री कार्कीले यस्ता मानसिक रोगीहरुलाई सबैसामु सार्वजनिक गरेर यस्तै मर्कामा परेका अन्यलाई समेत अन्याय लुकाउन नहुने सन्देश दिएकी छिन्। हिटफ्लप फिल्मको चर्चा, गसिप र स्क्यान्डलले भरिएको फिल्म क्षेत्रमा अभिनेत्रीहरुको कलाबाट प्रभावित भएर धेरै फ्यान हुने गरेका छन्। यसको मतलव उनीहरुको काम सम्मानजनक छ भन्ने पनि हो। यही कारण अरुलाई सम्मान गरेमात्र आफू पनि सम्मानित होइन्छ भन्ने बुझ्नु आवश्यक छ। त्यसैले त भनिएको होला– तिमी अरुलाई त्यस्तै व्यवहार गर जस्तो आफू चाहन्छौ।

प्रकाशित: ७ वैशाख २०७३ ०९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App