आइक्यान किन स्थापना भयो ? र यसले के, के काम गर्छ ?
राष्ट्रको आर्थिक विकासमा लेखाको महत्व हुन्छ । लेखा व्यवसायीले आर्थिक नियमनमा भूमिका खेल्छन् । आइक्यान लेखा नियमनकारी संस्था हो । सामाजिक उत्तरदायित्वप्रति जनचेतना जगाउने, लेखा व्यवसाय सम्बन्धमा सामाजिक मान्यता तथा विश्वास अभिवृद्धि गर्ने उद्देश्यले २०५३ सालमा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था ऐनअन्तर्गत आइक्यान स्थापना भएको हो । यो एउटा स्वायत्त नियमनकारी संस्था हो ।
आइक्यानले लेखाव्यवसाय एवं लेखाको महत्वप्रति लेखाव्यवसायीको उत्तरदायित्व बोध गराएर लेखाव्यवसायको विकास, संरक्षण र सम्वद्र्धनमा भूमिका निर्वाह गर्छ । आइक्यानले नेपालमा चार्टर्ड एकाउन्टेन्टसम्बन्धी शिक्षा सञ्चालन गर्छ । परीक्षा सञ्चालन गर्ने, नतिजा प्रकाशन गर्ने, चार्टर्ड एकाउन्टेन्ट पास गरेकालाई प्रमाणपत्र दिने, सम्बन्धित क्षेत्रमा कार्य गर्न अनुमति दिने, शैक्षिक संस्थालाई सम्बन्धन दिनेलगायत काम पनि यसले गर्छ । हालसम्म देशभर १५ वटा शिक्षण संस्थाले आइक्यानसँग सम्बन्धन लिएका छन् भने सञ्चालनमा भने ८ वटा संस्थामात्र छन् ।
आइक्यानले अहिलेसम्म गरेका काम संक्षेपमा बताइदिनुस न ?
सन् १९९८ मा अन्तर्राष्ट्रिय लेखा व्यवसायी महासंघको सदस्यता लिएको छ । साउथ एसिया फेड्रेसन अफ एकाउन्टेन्सी (साफाको सदस्यता लिएको छ । यसले सन् २००० बाट चार्टर्ड एकाउन्टेन्सी परीक्षा सञ्चालन गर्न थालेको हो । २००३ देखि चार्टर्ड एकाउन्टेन्ट पढाउन थालेकोमा हालसम्म २ सय ८७ जना उत्पादन गर्न सफल भएको छ ।
त्यस्तै सन् २००३ देखि लेखामान र लेखा परीक्षणमान कार्यान्वयन गरी हाल अन्तर्राष्ट्रिय स्तरको वित्तीय प्रतिवेदनमान तथा लेखा परीक्षणमान तयार गरी व्यवहारमा ल्याइएको छ । सन् २०१६ सिपिए अस्ट्रेलियासँग एउटा सम्झौता भएको छ । यो सम्झौतापछि यस संस्थाबाट उत्तीर्ण विद्यार्थीले सिपिए अस्ट्रेलियाको सदस्यता लिन सक्छन् । आइक्यानले नेपाल सरकारलाई अर्थनीति, कर तथा अन्य नीतिगत परामर्श दिने काम पनि गर्दै आएको छ ।
नेपालमा सिए पढाइ अवस्था कस्तो छ ?
चार्टर्ड एकाउन्टेन्सी व्यावसायिक शिक्षा हो । दूरशिक्षा पद्धतिबाट पनि यो शिक्षा पढ्न सकिन्छ । सिए अध्ययनमा प्राविधिकसँगै व्यावहारिक ज्ञान हासिल हुन्छ । त्यही भएर सिए अध्ययन गरेका विद्यार्थीमा अन्य व्यवस्थापनका विद्यार्थीको तुलनामा विश्लेषण क्षमता उच्च हुन्छ । । विद्यार्थी सिए उत्तीर्ण हुनासाथ प्रमुख जिम्मेवारी लिएर काम गर्नसक्ने हुन्छन् । बर्षेनि हजार विद्यार्थी सिए अध्ययन गर्न भर्ना हुन्छन् । समग्रमा सिए अध्ययन गर्ने विद्यार्थीको करिअर सुरक्षित हुने भएकाले यसप्रति आकर्षण बढ्दै गएको छ ।
सकेसम्म नेपालमै सिए अध्ययन गर्नु राम्रो देखिएको छ । किनभने विदेशमा सिए अध्ययन सकेर नेपाल फर्किएपछि पुन नेपालमा आइक्यानले लिने परीक्षा पास गर्नुपर्छ । त्यसपछिमात्र काम गर्न अनुमति पाइन्छ ।
सिएहरूको बजार माग कस्तो छ ?
निजी क्षेत्रमा सिएको माग अत्यधिक छ । त्यस्तै सरकारी एवं आर्थिक सरोकार राख्ने संस्थामा पनि सिएको उपस्थिति देखिएको छ । सिएको कार्यक्षेत्र लेखापरीक्षणमात्र नभई अन्य विभिन्न विधामा जस्तै विजनेस एडभाइजर, इन्टरनल अडिट, ट्याक्ससेसन, म्यानेजमेन्ट, इनभेस्ट, प्लानिङ, प्रोजेक्ट म्यानेजमेन्टलगायत विभिन्न क्षेत्रमा भएको हुँदा स्कोप राम्रो छ ।
बजारको आवश्यक्ता तुलनामा सिएको संख्या अतिकम भएकाले यो शिक्षाको भविष्य उज्वल छ । आइक्यानबाट उत्पादित सिएले विदेशी संस्थामा समेत राम्रो आउटपुट दिएको पाइएको छ ।
नेपालमा सिए शिक्षाको गुणस्तरबारे पटकपटक प्रश्न उठ्छ । ठूलो संख्यामा भारतलगायत देशमा नेपाली सिए पढ्न जान्छन् । किन यस्तो ?
हामीले गर्ने अनौपचारिक सर्वेमा नेपालबाट उत्पादित सिए उत्कृष्ट नतिजा दिने वर्गमा पर्छन् । नेपालको सन्दर्भमा विभिन्न कम्पनी तथा अन्य संस्थाले अन्य देशबाट सिए उत्तीर्णभन्दा नेपालबाटै पास गरेका सिए बढी रुचाएको देखिन्छ । यो कार्यक्षमताको आधारमा गरिएको विश्लेषण हो ।
जहाँसम्म भारतलगायत देशमा नेपाली विद्यार्थी सिए पढ्न जाने विषय छ । त्यसको प्रमुख कारण नेपालमा सिए पढाइ हुन्छ भन्ने जानकारी नभएर हो भन्ने मलाई लाग्छ । केही संस्थाले जनमानसमा गलत जानकारी गराउने प्रवृत्तिका कारण पनि विदेश गएर सिए अध्यय गर्ने गरेको मलाई लाग्छ ।
सिए पढ्न भर्ना हुने धेरै हुन्छन् तर कोर्र्स पूरा गर्नेचाहिँ कम हुन्छन् ? किन बीचमै पढाइ छाड्छन् विद्यार्थी ?
बीचैमा पढाइ छाड्नु गलत हो । पढाइभन्दा पनि अन्य व्यक्तिगत कारणले विद्यार्थीले बीचमै छाड्ने गरेको हामी पाउँछौं । अन्य विषयमा भर्ना हुनुअघि प्रवेश परीक्षा पास गर्नुपर्छ । तर सिए पढ्न कुनै प्रवेश परीक्षा दिनुपर्दैन । सिएमा उत्तीर्ण हुन ५० प्रतिशत अंक ल्याउनुपर्छ र सबै समूह एकैपटक उत्तीर्ण गर्नुपर्ने हुन्छ । सिएको पढाइको अन्तिम तहमा पढाइसँगै आर्टिकलसिप तालिम गर्नुपर्छ । आफ्नो पढाइको सबै लगानी विद्यार्थीले यही अवधिमा उठाउन सक्छन् । पढाइमा लगनशील र समयको उचित व्यवस्थापन गरी पढ्न नसक्नेलाई सिए उत्तीर्ण गर्न गाह्रो हुन्छ । सिए पढ्न परिश्रम त गर्नैपर्छ तर यो निकै गाह्रो पनि छैन ।
सिएको अध्ययनमा नीतिगत चुनौतिहरु केके हुन् ?
चार्टर्ड एकाउन्टेन्सी शिक्षामा नीतिगतभन्दा पनि व्यक्तिगत चुनौती बढी हुनसक्छ । विद्यार्थी लगनशील र गतिशील हुनुपर्छ । संस्थाको हिसाबले भन्नुपर्दा समयसापेक्ष पाठ्यक्रम तथा पाठ्यपुस्तक बनाउन चुनौती देखिएको छ । विद्यार्थी अन्य संकायमा जस्तै चाँडै सफल नहुँदा उनीहरूमा आउने निराशालाई हामीले सम्बोधन गर्नुपर्ने मुख्य चुनौती हाम्रा अघि छ । यो शिक्षाबारे बजारमा गलत प्रचार निवारण गर्ननसक्नु र नेपाल सरकार तथा मातहतका निकायमा आइक्यानको हैसियतबारे जानकारी गराउन नसक्नु पनि हाम्रो कमजोरी हो । समग्रमा प्राविधिक शिक्षा भएकाले समसामयिक विषयमा पनि जानकार भइरहनुपर्छ ।
सिए पढाइ निकै खर्चिलो हुन्छ भन्छन्, तपाईं के भन्नु हुन्छ ?
अन्य विषयभन्दा चार्टर्ड एकाउन्टेन्सी शिक्षा खर्च निकै कम छ । चार्टर्ड एकाउन्टेन्सी शिक्षा अध्ययन सिलसिलामा विद्यार्थीले खर्च होइन उल्टो कमाउने मौका प्राप्त गर्छ ।
सिए पढ्न छात्रवृत्तिको व्यवस्था कत्तिको छ ?
सिए पढ्न आइक्यानले आर्थिक अवस्था कमजोर भएका जेहेन्दार तथा परिश्रमी विद्यार्थीलाई छात्रवृत्तिको पनि व्यवस्था गरेको छ । यस्तो छात्रवृत्ति आवश्यकता हेरी ५० देखि शतप्रतिशतसम्म हरेक तहमा प्रदान गरिँदै आएको छ ।
प्रकाशित: ३० वैशाख २०७३ २१:०३ बिहीबार