म वर्षमा दुईपटक स्वास्थ्य शिविर सञ्चालन गर्न नेपाल आउँछु। यसपालि रामेछापमा शिविर सञ्चालन गर्ने सिलसिलामा आएकी हुँ।
पहिलोपटक नेपाल कहिले आउनुभएको थियो?
बुवा टोनी हेगनसँग सन् १९५२ मा सानी बच्ची छँदा पहिलोपटक नेपाल आएकी थिएँ। हामी दुई वर्ष बस्यौं तर त्यतिबेलाको थोरै मात्र सम्झना छ। त्यसपछि सन् १९६१ मा पुनः नेपाल आएको थिएँ। त्यतिबेलाका धेरै कुरा थाहा पाउँछु। बुवाले गरेका कामको फोटो हेरेको र डायरी पढेकाले पनि धेरै कुरा सम्झनामा रहेजस्तो लाग्छ।
सुरुमा तपाईंहरू आउँदा नेपाल कस्तो थियो?
बुवा पहिलोपटक आउँदा नेपालको वातावरण मध्ययुगको जस्तो थियो। बाटो थिएन। एयरपोर्ट थिएन। उहाँले हिँडेरै चन्द्रागिरि पास पार गर्नुभएको थियो। जब म पहिलोपटक आएँ, त्यतिबेला भने एयरपोर्ट बनिसकेको थियो तर बाहिरको सामान केही किन्न पाइँदैनथ्यो। गाडी बोकेर ल्याउनुपर्थ्यो। ६० को दशकपछि भने यहाँ धेरै परिवर्तन भए।
तपाईंलाई नेपालको मनपर्ने कुरा के हो?
मेरो बुवाको नेपालप्रति जस्तो प्रेम छ, मेरो पनि उस्तै छ। स्वास्थ्य शिविर सञ्चालन गर्नुपूर्व मैले धेरै ठाउँको यात्रा गरें। मलाई नयाँ ठाउँ, नयाँ जातजाति र हिमालले आकर्षित गर्छन्। यहाँको मनोरम प्राकृतिक दृश्य लोभलाग्दो छ।
सन् १९७५ यता म हरेक वर्षजसो नेपाल आइरहेकी छु। त्यतिबेला प्रायः सबै ट्रेकिङ रुट दुर्गम थिए। पैदल हिँड्नै पनि कठिन हुन्थ्यो, बस्ने लज थिएनन्। आधुनिकताले छोएकै थिएन। अहिले सबै कुरामा परिवर्तन भइसक्यो।
नेपालको सौन्दर्यमा आधुनिकताले कत्तिको प्रभाव पारेको ठान्नुहुन्छ?
सबैतिरको समस्या एउटै हो। आधुनिकतालाई कसैले पनि रोक्न सक्दैन। आधुनिकता सही हो या गलत छुट्याउन सक्ने स्थितिमा म छैन। हामीले स्विट्जरल्यान्डमा प्रकृति जोगाउन नसकेर ठूलो गल्ती गर्यौंु। अब त्यसलाई जोगाउन लागिपरेका छौं। नेपालीलाई अहिले त्यही गल्ती नगर भन्दा मुर्ख्याइँ हुन सक्छ।
नेपाल र स्विट्जरल्यान्डमा के समानता पाउनुहुन्छ?
प्राकृतिक हिसाबले दुवै देशबीच समानता छ। राजनीतिक हिसाबले एक–अर्काभन्दा कोसौं टाढा छौं। नेपाल र स्विट्जरल्यान्डबीच भएको प्राकृतिक समानताका कारण म नेपालप्रति आकर्षित भएकी हुँ। मलाई हिमाल एकदमै मनपर्छ। स्विट्जरल्यान्डमा पनि बहुभाषी छन् तर नेपालमा जति धेरै नहोलान्। फरक यति मात्रै हो– हाम्रो सरकार राम्रो छ, जनताप्रति उत्तरदायी छ। नेपालको सरकार पनि जनताप्रति उत्तरदायी हुन सके धेरै कुराको समाधान हुन्थ्यो।
तपाईंको बुवाले नेपालबारे लेखेकोमध्ये सबैभन्दा रोचक कुरा के हो?
मेरो बुवाले नेपालमा रहँदा–बस्दा लेखेका डायरीबाट धेरै कुरा थाहा हुन्छ। ती डायरीमा रोचक कथा छन्। एउटामा उहाँले लेख्नुभएको छ, 'पहिलोपटक नेपाल आउँदा नेपालीलाई अंग्रेज भन्ने मात्र थाह थियो। सबै विदेशीलाई उनीहरू अंग्रेज भन्ठान्थे। जब अमेरिकन आउन थाले, नेपालीले तिनलाई धनी अंग्रेज भनेर बुझे। र, स्विसलाई चाहिँ मिहिनेती अंग्रेज भनेर चिन्थे।'
उहाँको बुझाइमा नेपाल र नेपाली कस्ता हुन्?
मेरो बुवा नेपालीलाई मिलनसार र शान्तिप्रिय भनेर सम्बोधन गर्नुहुन्थ्यो। म पनि भन्न सक्छु नेपाली वास्तवमै मिलनसार र शान्तिप्रिय नै छन्। भूकम्पको बेलामा हेर्नुस्, नेपालमा कुनै लुटपाट भएन। तपाईं त्यस्तो बेला युरोपमै जानुभयो भने पनि पुलिस भएन भने जहाँत्यहीँ लुटपाट भइरहेको भेट्नुहुन्छ। त्यसैले त्यहाँ प्राकृतिक विपत्तिको बेला सकेसम्म चाँडै प्रहरी परिचालन गरिन्छ। यहाँको अवस्था बेग्लै थियो, मानिसहरूले आफ्नो घर अन्जानका लागि खुला गरेका थिए। एक–अर्कालाई मद्दत गरेर अगाडि बढ्नुपर्छ भन्ने भावना देखिन्थ्यो। नेपालीमा सकारात्मक सोच छ। जस्तोसुकै विषम परिस्थितिमा पनि कुनै न कुनै उपायबाट समाधान निकाल्न सक्ने क्षमता उनीहरूको रगतमा छ।
तपाईंले कहिलेदेखि नेपालमा स्वास्थ्य शिविर सञ्चालन गर्न थाल्नुभयो?
हामीले चार वर्ष अघिबाट नेपालमा स्वास्थ्य शिविर सञ्चालन गर्न थालेका हौं।
कहाँ–कहाँ शिविर चलाउनुभयो अहिलेसम्म?
पूर्वको पाँचथर (फिदिम), ताप्लेजुङदेखि पश्चिमको बझाङसम्म गरेका छौं। यसपालि रामेछापमा सञ्चालन गरेका छौं। चैततिर जाजरकोट जान्छौं। मंसिर महिनामै रामेछापमा शिविर सञ्चालन गर्ने भनेका थियौं तर प्रशासनले मानेन। इन्धन अभावले समस्या हुन्छ भनेकाले रोकियौं।
शिविरका लागि कस्तो ठाउँ छान्ने गर्नुभएको छ?
सकेसम्म दुर्गम ठाउँका गरिब बस्तीमा पुग्न चाहन्छौं। हामी शिविर सञ्चालन गर्नुपूर्व त्यो ठाउँबारे अध्ययन पनि गर्छौं। सानो अस्पताल र केही नर्स भएको ठाउँ भयो भने अप्रेसन पनि गर्न सकिन्छ। समुदायसँग मिलेर काम गर्छौं। शिविरमा धेरैभन्दा धेरै बिरामी आउन् भनेर सामुदायिक रेडियोबाट प्रचार गर्छौं। बझाङमा ६०० जना बिरामी आए। भिड नियन्त्रण गर्न प्रहरी नै परिचालन गर्नुपर्योु।
प्रकाशित: २२ माघ २०७२ २०:४१ शुक्रबार