३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अन्तर्वार्ता

'नाकाबन्दीको असर बल्ल बुझेँ'

विभिन्न द्वन्द्व तथा युद्धका समाचारले चर्चामा रहेका भारतीय टीभी पत्रकार बर्खा दत्त अहिले एनडीटीभीमा कन्सल्टिङ एडिटर छिन्। कार्गिल युद्ध, मुम्बई आक्रमणलगायतको समाचारले उनलाई दृश्यपत्रकारितामा लोकप्रिय बनायो र भारत सरकारले उनलाई पद्मश्री सम्मान दियो। टीभी पत्रकारिताका सम्भावना, चुनौती, नाकाबन्दीलगायतका विषयमा नेपाल लिटरेचर फेस्टिभलमा भाग लिन पोखरा आएकी दत्तसँग नागरिककर्मी राजेन्द्र पराजुलीले गरेको कुराकानी:एउटै सञ्चार माध्यम एनडीटीभीमा झन्डै २० वर्षदेखि हुनुहुन्छ। कस्तो महसुस हुन्छ?

त्यहाँ म भिन्नभिन्न भूमिकामा रहेकाले खासै फरक परेको छैन। अहिले त म कन्सल्टिङ एडिटरका रूपमा कार्यरत छु, पहिला गु्रप एडिटर थिएँ। अहिले म त्यहाँ पूर्णकालीन पत्रकार छैन, तर सम्बद्धता छाडेको छैन। पहिला लामो समय रिपोर्टिङ गरेँ। मलाई कठिनखालका रिपोर्टिङ गर्न अझै पनि मन लाग्छ। म टीभीबाहेकका केही काम पनि गर्ने सोच्दैछु, त्यो डिजिटल दुनियाँको काम हुने छ र स्वतन्त्र रहने छ।

चुनौतीपूर्ण रिपोर्टिङको कुरा गर्नुभयो, कार्गिल युद्ध (सन् १९९९) र मुम्बई आक्रमण (२००८)बारे तपाईंको रिपोर्टिङ निकै चर्चित रह्यो। साथै कस्मिर, पाकिस्तान, अफगानिस्तान इराकलगायतका द्वन्द्वको समाचारका कारण भारतको सम्मानित पद्मश्री सम्मान पनि पाउनु भयो। अहिले सम्झँदा ती रिपोर्टिङमा केही कमजोरी देख्नु हुन्न?

हेर्नुस् हामीले गरेका कामलाई पछाडि फर्केर हेर्दा केही न केही कमजोरी देखिन्छ नै। अझै राम्रो गर्न सकिन्थ्यो भन्ने पनि रहन्छ। त्यसमाथि लाइभ रिपोर्टिङ गर्दा सामान्य गल्ती पनि हुन सक्छ। मुम्बइ आक्रमणलगायतका रिपोर्टिङको विरोध पनि भएको सुनेकी हुँ, तर नबुझी। लाइभ गर्दा ठूलै हानि हुन्छ भने त सम्बद्ध सरकारी कार्यालयले रोक्नुपर्यो नि! पत्रकारबाट भएको मिस्टेक इन्टेन्सनल हो कि अनइन्टेसनल भन्ने कुरोचाहिँ महत्वपूर्ण हो।

नेपालको पत्रकारिताबारे कत्तिको चासो राख्नु हुन्छ?

अलिअलि छ। नेपालमा कुनै ठूला घटना भएका बेला यहाँका समाचार हेर्ने–पढ्ने गर्छु। नाकाबन्दीका समाचारमा पनि चासो छ। नाकाबन्दी सुरु भएदेखिकै घटना मलाई थाहा छ, तर यसको असर भने यहाँ आएपछि राम्ररी महसुस भयो।

बढीमात्रामा पाकिस्तानबारे चासो हुन्छ हैन तपाईंहरूलाई?

त्यस्तो पनि होइन। हाम्रा छिमेकी त श्रीलंका पनि हो, अरु पनि छन्। ती देशका पत्रकारले कभरेजबारे कहिलेकाहीँ 'कम्प्लेन' पनि गरेको सुनेकी छु। घरेलु समाचारले अन्तर्राष्ट्रिय घटनालाई ओझेल पार्छ। विभिन्न कारणले पाकिस्तानका खबरले भारतीय मिडियामा केही प्राथमिकता पाउँछन्, किनकि दुई देशबीचको सम्बन्ध केही जटिल पनि रहँदै आएको छ। ठूलो समुदायलाई असर पार्नेखालको समाचार हुँदा त कभर भइहाल्छ।

नेपालमा करिब १० महिनाअघि आएको भूकम्पको रिपोर्टिङ गर्न भारतीय टीभी पत्रकार यहाँ आएका थिए। कतिपय गलत रिपोर्टिङले 'गो ब्याक इन्डियन मिडिया' भन्नेसम्मका अवस्था आयो। यसलाई कसरी लिनु भएको छ?

कतिपय टीभी समाचारलाई अनावश्यकरूपमा 'सेन्सेसनल' विषय बनाउन चाहन्छन्, त्यसकारण समस्या पर्न सक्छ। परिवारका मान्छे मरिरहेका हुन्छन्, त्यसबेला 'तपाईंलाई कस्तो महसुस भइरहेको छ' भनी सोध्ने वा अनावश्यक अथवा काल्पनिक पात्रलाई हिरो बनाउने कुराको म विरोधी हुँ। यस्तो गम्भीर विषयमा 'ड्रामाटिक भिजुअल' बनाउनु गलत हो। तर, हाम्रा टीभीले हालै पठानकोटमा मारिएका एक जना सुरक्षाकर्मीको छोरीको अन्तरर्वार्ता लिए, उनको स्वीकृतिमा। त्यस्तोखालको अन्तरवार्ता लिन क्यामरा तेर्स्याउनुअघि एक पटक पीडितलाई सोध्नुपर्छ। पीडितको स्वीकृतिमा मात्र यस्तो काम गर्नु राम्रो हुन्छ। नेपालका कतिपय घटनाको रिपोर्टिङ मैले गरेँ, तर भूकम्पका बेला गर्न सकिनँ। त्यसकारण त्यसबारेको समाचारबारे मैले टिप्पणी गर्न मिलेन। नेपालको नाकाबन्दीबारे भारतीय मिडियाले समाचार बनाउनुपर्छ भन्ने सवालमा भने मलाई दुविधा छैन।

भूकम्पका बेला नेपाल ओइरिएका भारतीय च्यानलले नेपालमा लगाइएको नाकाबन्दीलाई किन समाचार नदेखेका होलान्?

समाचारको पनि हाइरार्की हुन्छ। विगतमा भारतकै उत्तरपूर्वी क्षेत्रमा भएका नाकाबन्दीको समाचार टीभीले दिएनन्। वास्तवमा भारतका टीभी भारतकै लागि हुन्। प्राकृतिक प्रकोपका समयमा भने अन्यत्र पनि पुग्छन्। मलाई कहिलेकाहीँ हाम्रा टीभी दिल्लीकेन्द्रित त भएनन् भन्ने लाग्छ।

कतै तिनले भारतले नेपालमा लगाएको नाकाबन्दीमा नरेन्द्र मोदी सरकारको पक्षपोषण त गरेका होइनन्?

त्यस्तो हो जस्तो मलाई लाग्दैन। तर पनि नेपाल र नेपालीलाई नाकाबन्दीले पारेको समाचार दिँदा राम्रै हुन्थ्यो। यसैबेला भारतमा अन्य महŒवपूर्ण घटना भएका कारण ध्यान नगएको पनि हुन सक्छ। नाकाबन्दीबारे एउटै कोणबाट मात्र बुझेर हुन्न भन्ने मलाई लाग्छ, नेपालका तराईका बासिन्दाका कुरा पनि सरकारले सुन्नुपर्छ। नेपाल आएपछि नाकाबन्दीको असरबारे मलाई पनि नमीठो महसुस भयो। तर, हाम्रा प्रधान मन्त्री नेपालका अधिकारीसँग यसबारे कुरा गर्न लालायित हुनु हुन्छ भन्ने मलाई लाग्छ। भारत नेपालको शुभेच्छुक र सहयोगी बन्न सक्छ, उसले 'ठूल्दाइ' प्रवृत्ति राख्नु हुन्न।

समाचारका आयु किन यतिविधि छोटा हुँदै गएका होलान्?

ठीक भन्नु भयो। अचेलका समाचारका आयु निकै छोटा बन्दै गएका छन्। यसको कारण पत्रकारहरू आवश्यकरूपमा सचेत हुन नसक्नुका साथै 'मास इन्टरेस्ट'का विषयको गहन खोजी र अनुसन्धान गर्न नसक्नु हो। हामी पत्रकारले के बुझ्नुपर्छ भने, पाठक–दर्शकले चाहेको कुरा दिन नसक्दा वहिष्कृत हुने दिन पनि आउन सक्छ।

भारतमा पत्रकारिता गरेर परिवार राम्ररी पाल्ने दिन आइसकेको हो?

पक्कै पनि। आफूलाई दक्ष बनाउन सक्दा भारतमा पत्रकारको आम्दानी राम्रो छ। यद्यपि, मोफसल वा सानातिना स्थानमा सञ्चालित पत्रिका वा अन्य माध्यममा काम गरेर परिवार पाल्न गाह्रो पनि हुन सक्छ। केन्द्र वा ठूला सहरका सञ्चारमाध्यम अब व्यावसायिक भइसकेका छन्।

पत्रकारितामा 'सोर्स'सँगको सम्बन्धबारे जहिले पनि विरोधाभास देखिन्छ। तपाईं आफ्ना सोर्ससँग कत्तिको नजिक रहनु हुन्छ?

समाचारका निम्ति सोर्स महŒवपूर्ण हुन्छ नै। कतिपय राजनीतिकर्मी, व्यवसायी वा अन्य जिम्मेवार निकायका पदाधिकारीसँग मेरो राम्रो सम्बन्ध छ। तर, त्यो सम्बन्ध भन्को व्यावसायिक मात्र हो। तिनले कहीँकतै काम बिगारेका छन्, अनियमितता भएको छ भने त्यसलाई म सार्वजनिक गर्न सक्छु। सोर्ससँगको सम्बन्ध उसका गल्तीबारे लेख्नै नसक्ने तहको हुनु हुन्न।

उमेर ढल्कँदै गएपछि पत्रकारहरू रिपोर्टिङ छाड्ने र डेस्क वा सम्पादनका जिम्मेवारीतिर लाग्ने गरेको देखिन्छ, यस्तो किन होला?

परिपक्व मान्छे रिपोर्टिङमा जानै नहुने भन्ने मान्यतासँग मेरो तीव्र विमति छ। हालै पठानकोटमा भएको आतंककारी हमलाको रिपोर्टिङ केही पत्रकारले गरे। त्यस्तो कुराको रिपोर्टिङ गर्न पाउँदा आनन्द लाग्छ, सँगसँगै युद्धको वातावरणले मन दुख्छ पनि। अहिले म 'टीभी सो' चलाइरहेकी छु, त्यसका निम्ति हरेक दिनजसो बाहिर जानुपर्छ। मलाई अझै पनि रिपोर्टिङ गर्न मन लाग्छ।

दृश्य माध्यम र छापा माध्यममा काम गर्न कुनचाहिँ गाह्रो?

टीभीमा रिपोर्टिङ गर्दा अत्यन्तै कम समय हुन्छ। पत्रिकामा कम्तीमा एक दिन त समय हुन्छ। अलिकति सोच्ने समय पाइन्छ, तर टीभीमा त्यस्तो हुन्न। यो बढी चुनौतीपूर्ण छ।

अहिले अनलाइन जर्नालिज्मले टीभीलाई कत्तिको असर पारेको देख्नु हुन्छ?

टीभी जर्नालिज्म भाइब्रेन्ट हुँदा पत्रिकालाई असर गरेको भनिन्थ्यो, अहिले अनलाइनले टीभी ओझेल परेको कुरा गरिँदैछ। मान्छेका हातहातमा मोबाइल छ, त्यसैमा समाचार हेर्न पाइन्छ, चुनौती त छ नै। तर, कतिपय मानिस यस्ता पनि छन् तिनले समाचार वा अन्य विचारको गहिराइ बुझ्न टीभी हेर्छन्, पत्रिका पढ्छन्। सामाजिक सञ्जालबाट पनि सूचना लिने पंक्ति सानो छैन। तर, सञ्चारका माध्यम कहिल्यै कमजोर हुँदैनन्, त्यसमा संलग्न व्यक्ति पो कमजोर हुन सक्छ त! अहिले भारतका कतिपय च्यानलले समाचारलाई मनोरञ्जनात्मक बनाउन पनि थालेका छन्, मलाई भने अलि गम्भीर नै बनाउन मन लाग्छ।

अन्त्यमा, भर्खरै तपाईंको पुस्तक 'दिस अनक्वायट ल्यान्ड' प्रकाशित भएको छ। कस्तो छ त्यसको बजार?

म एकदम उत्साही छु। यतिखेर भारतमा उपन्यास, आत्मकथा वा संस्मरणका पुस्तकको बजार बढ्दै गएको छ। मेरो पुस्तक त्यो कोटीमा पर्दैन, यो त मैले आफ्नो देश भारतमाथि लेखेकी हुँ। तर पनि जेजस्तो प्रतिक्रिया पाठक र बजारबाट पाएकी छु, त्यसले मलाई निकै खुसी बनाएको छ।

प्रकाशित: १८ माघ २०७२ २२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App