१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अन्तर्वार्ता

चुनाव सुरक्षामा सबै ढुक्क भए हुन्छ

निर्वाचन आयोगमा निरन्तर २३ वर्ष बिताएका निलकन्ठ उप्रेती दोस्रो संविधानसभा चुनाव गराउने मुख्य सारथिको रुपमा प्रमुख आयुक्त पदमा छन्। निर्वाचन सफलतापूर्वक गराएर इतिहास निर्माण गर्ने ध्याउन्नमा रहेका उप्रेती यो संविधान सभाको अन्तिम चुनाव हो भन्न रुचाउँछन्। प्रमुख आयुक्त भन्छन्- अहिलेको चुनाव पहिलेभन्दा नितान्त फरक हुनेछ। फोटो सहितको मतदाता परिचयपत्र, नामावली, सरकार, आयोग, चुनावी सुरक्षा केन्द्रित रहेर प्रमुख आयुक्त उप्रेतीसँग नागरिकका उजिर मगरले गरेको अन्तरवार्ताको सम्वादित अंशःप्रमुख आयुक्तज्यू, चुनावको मिति नजिकिँदै गर्दा अहिले के पाउनुभएको छ देशभरको खबर ?
मैले पाएको खबर त मतदाता भोट हाल्न आतुर छन् । निर्वाचनको वातावरण पूर्णरूपमा तयार भएको छ ।

निर्वाचनमा बाहिर रहेको 'शक्ति' ले आह्वान गरेको बहिष्कारबाट मतदाता कता–कता तर्सिएको जस्तो देखिन्छ नि ?
नेपालको चुनावमा कहिले कसैलाई देखाउने, कहिले कसैलाई देखाएर त्रास देखाउने रोग छ । यो निर्वाचनको सन्दर्भमा हुने पक्षहरू हुन । पहिलो चुनावमा पनि त्रास देखाइयो । चुनाव सफल भयो । यस पटक फरक किसिमको त्रास देखाइएको छ । सबै दल, उमेदवार, मतदाता हामी कसैलाई रोक्न सक्दैन । जबकि राष्ट्र पुरै चुनावमा होमिएको छ । चुनाव बिथोलिन्छ भनेर कसैले सोचेको छ भने त्यो गलत सोचाई हुनेछ ।

मतदाता मतदान गर्न आतुर देखिएको बताउनुहुन्छ तर फोटोसहितको मतदाता परिचयपत्र अहिलेसम्म छापिसकिएको छैन । मतदाता यसमा अलमल देखिन्छन् नि ?
यो महत्वपूर्ण विषय हो । हामीले के सोच्नुपर्‍यो भने नेपालमा पहिलो पटक २४० निर्वाचन क्षेत्रमा परिचयसहितको नामावली संकलन गरेका छौं । परिचय दुई किसिमले तयार भएको छ । एउटा, मतदाता नामावलीमै फोटोसहितको परिचय छ । यसैले पनि हुने हो । त्यसमा हामी सबैको परिचय खुल्छ । यो नामावली मतदान केन्द्रमा पुगिसकेको छ । दोस्रो कुरो, भोट हाल्न जाँदा खल्तीमा केही परिचयपत्र भइदिए हुन्थ्यो भन्ने हो । यो हाम्रो प्रतिबद्धता र मतदाताको चाहना हो । परिचयपत्र छापिसकेका छौं । आज (बिहीबार) सम्म छापिसक्यौं । यो सबै मतदाताको हातमा पु¥याउँछौं । अहिले देशै निर्वाचनमय छ । सबै गाउँमा छौं । दल, उम्मेदवार, हाम्रा ३० हजारभन्दा बढी कर्मचारी गाउँमा छन् । हामीले फेरि के गर्दैछौं भने २ लाख १५ हजार 'पुलिङ्ग स्टाफ' गाउँमा जाँदैछन् । आउने हप्ता ४ लाखभन्दा बढी सरकारी कर्मचारी, सुरक्षा निकाय, हामी, सबै दलका १७ हजार उमेदवार, १२२ दल सबै देशै लागिरहेको छ । यस्तो बेलामै परिचयपत्र बाँड्ने हो । सबैको सहयोगमा सबै मतदाताको हातमा पु¥याउँछौं । परिचयपत्र प्रिन्ट गरेर प्लास्टिकको इन्भेलभमा राखेर बन्द गरेर हात–हातमा पु¥याउँछौं । मंसिर ४ को चुनाव हिजोअस्तिको भन्दा फरक हुन्छ अथवा प्रत्येक मतदाताले आफ्नो मत आपूmले मात्रै खसाउन पाउँछ । र, एक जनाको नाम देशभरमा एक ठाउँमा मात्रै हुन्छ । यसरी मतदान हुनु नै निर्वाचन स्वस्थ, निश्पक्ष हुने आधार हो । अब अन्यौलमा जानुहुँदैन । मतदाताले परिचयपत्रसहित मतदान गर्न पाउँछन् । यसमा सबै ढुक्क भए हुन्छ ।

आज (बिहीबार) सम्म छापिँदैछ परिचयपत्र । हुम्ला, जुम्ला, रसुवा जस्ता जिल्लाका विकट गाविस भएका ठाउँमा परिचयपत्र कहिले पुग्छ त ?
अन्यत्र सबै ठाउँमा पुग्यो आजसम्म । एउटा मात्रै बाँकी छ दार्चुला । तराईका जिल्लामा सबै पुग्यो । आज (बिहीबार) तपाईंले मेरो अन्तर्वार्ता लिँदै हुनुहुन्छ । भोलि यो प्रकाशन हुँदै गर्दा २४० क्षेत्रमा परिचयपत्र पुग्छ । परिचयपत्रमा मात्रै हैन, चुनावका लागि आवश्यक पर्ने बाँकी सरसामान सबै पुग्छ ।

एक सातामा घरघरमा मतदाता परिचयपत्र पुर्‍याउने काम अलिक अव्यावहारिक कुरा भएन र ?
एक जनालाई एउटा काम गर्न ३६५ दिन लाग्छ । त्यही काम ३६५ जनाले गर्दा एकै दिनमा सम्पन्न हुन्छ । १ करोड २१ लाख ४७ हजार हाम्रा मतदाताले एकै दिन काम गरेर मत खसालेपछि सकिन्छ नि, त्यस्तै हो परिचयपत्र बाँड्ने काम पनि । हामी सबै बाहिर निस्केर काम गरे हुन्छ । मतदाताहरू जसरी मतदान गर्न लाम लागेर जान्छन् त्यसरी नै मतदाता परिचयपत्र लिन निस्किएपछि बाँड्नमा कुनै अप्ठेरो छैन । घर–घर, व्यक्ति–व्यक्तिभन्दा पनि परिचयपत्र बाँडने केन्द्रमा मतदाताहरू आइदिनुपर्‍यो।

चुनावकै दिन परिचयपत्र बाँड्ने तयारी हो कि पहिल्यै ?
हामीले मंसिर ४ गतेअघि नै बाँडने तयारी गरेका छौं । निर्वाचनका दिनमा बाँडने भनेका छैनौं । नगरपालिकाको वडामा बाँड्छौं । जुन जिल्लामा नगरपालिका छैन, त्यहाँ निर्वाचन कार्यालयबाट बाँड्छौं । अरु सबै मतदान हुने स्थलमा बाँड्ने तयारी गरेका छौं । पहिले मतदान गर्न जान एक दिन, २–४ घन्टा लाग्थ्यो । अहिले २ दिनअघि आइदिनूस् । तपाईंको मतदान गर्ने अधिकार सुरक्षित गर्न एक पटक २ दिन दुःख पाउनूस् भनेर मतदातालाई भन्छौं । मतदाताले ढुक्कसँग गोजीमा मतदाता परिचयपत्र हालेर आउनुहुन्छ । त्यसका लागि हामीले मतदातालाई विशेष आह्वान गरेका छौं । यसले उहाँहरूको मत कसैले खसाल्न पाउँदैन । उहाँहरूले आफ्नो मतदान गर्ने अधिकार सुरक्षित राख्न पाउनुहुनेछ ।

मतदाताको परिचयपत्र पहिल्यै गाउँमा कुनै समूहले लुटने, कब्जा गरिदिने डर त यथावत् रह्यो नि ?
त्यसका लागि पनि वैकल्पिक व्यवस्था गरेका छौं । लुट्ने, कब्जाबाट बचाउने मुख्य पक्ष भनेको सुरक्षा हो । वातावरण निर्वाचनमय बन्ने र सुरक्षा मजबुद बनेपछि गौंडा कुरेर मतदातालाई रोक्ने, परिचयपत्र खोस्ने काम हुँदैन भन्ने विश्वास गर्छु । कसैले परिचयपत्र लग्यो भने उसको मतदान गर्ने अधिकार वञ्चित नभई मतदान गर्ने व्यवस्था मिलाउँछौं । कसैले परिचयपत्र लगिदियो भने त्यसको ब्याकअपसमेत तयार छ । परिचयपत्र खोसिएका मतदाताले कसरी मतदान गर्ने भन्ने व्यवस्था गरेका छौं ।

जिल्ला निर्वाचन आयोगलाई स्थानीय तहमा राजनीतिक दलहरूले कत्तिको सहयोग गरेका छन्, आचारसंहिता पालनालगायत् विषयमा ?
देशव्यापीरूपमा खटेका छौं । कति खटेका छौं भने १७ हजार उमेदवार, १२२ दल, १८ हजार मतदान केन्द्रमा खटिइरहेका छौं । यस्तो अवस्थामा १०÷१५ ठाउँमा आचारसंहिता उल्लंघन भयो भने त्यसलाई देशैभर आचारसंहिता उल्लंघन भयो भनेर हल्ला गर्ने कुरा भएन । केही ठाउँमा भएका छन् । त्यस्ता दल, उमेदवारलाई कारबाई अघि बढाएका छौं । त्यति मात्रै नभएर दैनिकरूपमा निर्वाचन आयोग, गृह मन्त्रालय फ्लाइङ स्क्वार्ड भन्छौं हामीले सुरक्षासहितको निर्वाचन आयोगका अधिकृत गएर उल्लंघन भएका काम रोकेका छौं । हुन लागेकालाई गर्न दिएका छैनौं । आचारसंहिता उल्लंघन गरेर राखेका सामग्रीलाई समेत हटाएका छौं । हटाउन नपरोस् भन्ने हाम्रो चाहना हो । हामीले दलहरूलाई पनि त्यही आह्वान गरेका हौं । कस्तो हुँदोरहेछ भने लुकिछिपी भए पनि जे गरेर हुन्छ, जनतालाई प्रभाव पारिहाल्ने । जित्नैपर्ने । आफ्नो प्रचार÷प्रसार अघि हुनैपर्ने भन्ने दल र उमेदवारमा हुँदोरहेछ । रंगीन अनुहार, नाम देखाउनैपर्ने भन्ने हुँदोरहेछ । त्यस्ता प्रचारका लागि निर्वाचन आयोग अलिकति आँखा चिम्लिदिए हुन्थ्यो भन्ने दल र उमेदवारको चाहना हुँदोरहेछ । दलहरुको अलिकति बल मिचाई हुँदोरहेछ । यो बल मिचाई लोकतन्त्रमा अलिक नराम्रो कुरा हो । यसलाई मतदाता, राष्ट्रिय, अन्तर्राष्ट्रिय समुदायले मूल्यांकन गर्नेछन् ।

निर्वाचन आयोगमा तपाईंको लामो अनुभवका आधारमा अहिलेको चुनावी माहोलबारे कस्तो अनुभूति गर्नुभएको छ ?
तडकभडक पहिलेभन्दा धेरै कम भएका छन् । केही प्रयोग नगर्न भनिएका प्रयोग भएका छन् । अलिअलि गन्जी, टि–सर्ट, टोपी नबाँड्न भन्दाभन्दै बाँडिएको छ । पोष्टर रंगीन नबनाउनूस् भन्दाभन्दै बनाइएको छ । सार्वजनिक स्थलमा नगर्नूस् भनिएको काम पनि गरिएको छ । फ्ल्याक्स ब्यानरहरू टाँगिएको छ । हाम्रो जस्तो लोकतान्त्रिक देशमा अलिकति तडकभडक नहोस् भन्ने हो । तर हुनेखानेले गर्दारहेछन् । हामीले सबैको बराबरी प्रचार–प्रसार होस् लोकतन्त्रमा भन्ने मान्यता राखेका थियौं । खेल मैदान समथर बनाउन खोजिएको हो । अलिकति बलियाले बल मिच्याइँ गरेका छन् । नकारात्मक पक्ष हुँदाहुँदै चुनावी माहोल बनाउनका लागि झण्डा, ध्वजापटका लिएर घरदैलो, आमसभा गर्दा चुनावी ज्वरो आउँदो रहेछ । त्यो सकारात्मक ज्वरो हो । त्यसले निर्वाचनको माहोल बढाउँदो रहेछ । पहिला–पहिलाको निर्वाचनभन्दा अहिले निर्वाचन आचारसंहिता धेरै उल्लंघन भएको छैन ।

पहिलेका चुनाव भन्दा यो निर्वाचन धेरै फरक छ । त्यो फरक किन छ भन्दा यो २०७० सालमा चुनाव हुन लागेको छ । राष्ट्रको जीवनमा ४÷५ वर्ष भनेको लामो मान्नुपर्छ । हिजो नाम नभएकाहरु अहिले थुप्रै मतदाता बनेका छन् । ८÷१० लाख मतदाता थपिएका छन, त्यसकारण पनि यो चुनाव फरक छ । निर्वाचनमा प्रविधिको नयाँ प्रयोग गरेका छौं । हिजोको अवस्थामा जस्तो अर्काले मत खसालेपछि पुग्ने अवस्था आउँदैन । आफ्नो फोटोसहितको परिचयपत्र देखाएर मतदान गर्ने पहिलेको भन्दा फरक प्रयोग हो । यो अन्तिम चुनाव हुनुपर्छ । यो राष्ट्रमा फेरि संविधान सभा चुनाव सम्भव नभएकाले यो चुनाव फरक छ । अर्को फरक इतिहासमा १२२ दल चुनावमा होमिएका छैनन् । यसले पनि यो चुनाव फरक छ । यति धेरै उमेदवार भएको पनि यही चुनाव भएकाले पनि फरक छ । फरक भएकाले नकारात्मक कुरा मात्रै होइन । यी विभिन्न फरक कारण भएकाले धेरै मतदाताले मतदान गर्नेछन् । पहिलेको भन्दा बढी मत खस्छ भन्ने लागेको छ । ८० प्रतिशतभन्दा बढी पुलआउट हुन्छ भन्ने अनुमान गरेको छु । र, निर्वाचन स्वच्छ, धाँधलीरहित हुने सबै आधार, वातावरण तयार भइसकेको छ । अब दलहरुले लोकतान्त्रिक पद्धतिमा गएर एक आपसमा भैmझगडा, लडाइँ नगरेर प्रतिपर्धा गरुन् भन्ने हो । मानसिक र वैचारिक लडाइँ हुन्छ, त्यो स्वाभाविक हो । भौतिक लडाइँ हुनुभएन । त्यो कुरा बारम्बार दलहरूलाई निर्वाचन आयोगले आग्रह गरिरहेको छ । दलहरुले सहयोग गर्छन् भन्नेमा छु । पहिलेको भन्दा यो चुनाव राम्रोसँग सम्पन्न हुन्छ भन्नेमा विश्वस्त छु ।

मुख्य गरी चार दलको 'रिमोट' मा आयोग चलेको छ भन्ने छ नि ?
परिस्थिति विषम हो । चुनाव पनि विषम हो । निर्वाचनका लागि यस्तो सरकार कहिल्यै बनेको थिएन । सरकारको नामै निर्वाचन सरकार भएकाले निर्वाचन आयोग र सरकार नजिक छ । सरकारले जे भन्छ त्यही आयोगले मानेको भन्ने होइन । आयोगले भनेको सरकारले पनि मानेको छ । अर्थात् हामी मिलेरै काम गरिरहेका छौं । चुनाव गराउन गठन भएको सरकार, चुनावकै लागि गठित निर्वाचन आयोग यी दुईवटाको तादात्म्य त असाध्यै हुने नै भयो । त्यसपछि सबभन्दा नजिकको सरोकारवाला राजनीतिक दलहरूसँग बस–उठ हुनु आवश्यक छ । फेरि वातावरण बनाउन सरकारले मात्रै सक्दैन । दलहरूले गाउँमा कार्यकर्तालाई सुरक्षित अवतरण गराएनन् भने चुनावी माहोल बन्दैन । आफ्ना मतदातालाई मतदान केन्द्रमा पु¥याएनन् भने चुनाव सफल हुन सक्दैन । त्यही कारणले हामी तीन पक्षको राम्रो सम्बन्ध हुनु स्वाभाविक हो । यसो भनिरहँदा कुनै दलले यसो गर भन्दैमा हामीले आफ्नो विवेक गुमाएका छैनौं । विवेक प्रयोग गरेर निर्णय गर्छ आयोगले । संवैधानिक र कानुनभित्र रहेर आयोगले निर्णय गर्छ । विषम परिस्थितिको यो विषम चुनावमा केही नकारात्मक पक्ष हुँदाहुँदै हामीले सकारात्मकरूपमा चुनाव सम्पन्न गर्दैछौं । कोही कसैलाई त्यस्तो लागेको छ भने त्यो भ्रम हो । हामी संविधान र कानुनभित्रै रहेर निर्णय गरिरहेका छौं । आयोग आफ्नो मूल्य, मान्यता विपरित कहीँ कतै विचलित नभई निर्वाचन सम्पन्न गर्ने दृढ अडानमा छ ।

प्रकाशित: २१ कार्तिक २०७० २३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App