केपी पाठक खासमा चलचित्रकर्मी हुन्। उनको नेतृत्वमा हरेक वर्ष नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल हुँदै आएको छ। यस वर्ष पनि महोत्सवको तेस्रो संस्करण काठमाडौंमा चलिरहेको छ। यसै सन्दर्भमा उनीहसँग गरिएको कुराकानी।
चलचित्र महोत्सवको उदेश्य के हो ?
अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल भनेकै हाम्रा फिल्महरु सबैसामु देखाउनका लागि हो। र बाहिरका चलचित्र यहाँ हेर्ने र उनीहरुका अनुभव सेयर गर्नका लागि हो। कस्तो किसिमका न्यारेटिभमा फिल्म बनेका छन्, कुन प्रविधि अपनाइएको छ भन्ने कुरा पनि यस्ता महोत्सवले प्रत्यक्ष जानकारी दिन्छ। अडियन्स र मेकर सँगै बसेर यहाँ छलफल गर्न पाउने थलो पनि यो हो। अहिले यहाँ हामीले नेपाली नेपालीबीच मात्र प्रतिस्पर्धा गराएका छौं। यो अनुभवको आदान प्रदान पनि हो।
नेपाली फिल्ममा खास कमजोरी कहाँ निर हो? स्टोरी नै स्ट्रङ नभएको हो वा टेक्निकल पार्टमा केही समस्या छ?
खास समस्या भनेको हाम्रो इमान्दारितामा छ। हाम्रो कथा बाचनमा शैलीमा समस्या हो। हामीले हाम्रा कथा आफ्नो तरिकाबाट भन्न सकिरहेका छैनौ। हामीसँग प्रशस्त अर्ग्यानीक विषय छन्। चलचित्रमा आफ्नै ग्रामर बनाउन जरुरी छ। अरुको ग्रामर फलो नगरौ। भाषा हाम्रो तरिका अरुको भएर त भएन नि! तरिका पनि हाम्रो हुन पर्यो। हामी हामीसँग भएका कुराहरुमा लजाएर विदेशीको नक्कल गर्छौ। हामीले आफ्नो फरक प्रस्तुति बनाउनु पर्छ। तर त्यसमा कमजोर देखिएको छ। आफ्नै शैलीको बनाउने हो भने अवार्डले पनि हामीलाई पछाउँछ।
स्थानीय कथा बोल्ने फिल्मले राम्रो गरिरहेका छन् फेरि किन हामी नक्कल मात्रै गर्ने ?
इमान्दारिता, सिरियसनेस, अध्ययन, बजेट केही पनि पुगेको छैन। एउटा फिल्म बनाउनका लागि त्यहाँको भूगोलमा भिज्नुपर्छ। त्यहाँको रहनसहन भेषभूषा परिवेश सबैसंग डुबेर फिल्म बनाउनुपर्छ। त्यती हुँदा फिल्म आफै बोल्छ कलाकार बोलिरहन जरुरी छैन। अध्ययन बजेट सबै चिजको कमी छ।
नेपाली चलचित्रलाई सरकारले सहयोग गरेको छैन भन्छन्। राज्य पनि कारण हो?
प्रमुख कारण त फिल्म मेकरकै हो। यस्तो नीति बनाऊँ भनेर दबाब दिन नसक्नु हाम्रो गल्ती हो। नीतिगत रुपमा सहयोग नगर्नु पोलिसी नबनाउनु सरकारको पनि असहयोग नै हो। पुरानै नियम कानुनमा रहेकर काम गर्न पर्ने अवस्था पनि समस्या हो। चलचित्रको विकासको लागि सरकार खुलेर लाग्नु पर्छ। मेकरले आफुलाई पनि त्यही अनुसार विकास गर्नु पर्छ।
प्रकाशित: ४ फाल्गुन २०७६ ०८:१५ आइतबार