राजपा नेपालका संयोजक तथा राजपा–संघीय फोरमका साझा उम्मेदवार महन्थ ठाकुर महोत्तरी निर्वाचन क्षेत्र नं. ३ बाट निकटतम प्रतिद्वन्द्वीभन्दा करिब दोब्बर मतले विजयी भएका हुन् । उनलाई नेपाली कांग्रेसको पनि समर्थन थियो । निर्वाचित भएपछि उनीसँग गरिएको छोटो कुराकानी:
मतदाताले मलाई आफ्नो जन्मथलोमा ल्याएर जिताएर आफ्नो वाचा पूरा गरेका छन् अब उनीहरूसँग गरेका वाचा पूरा गर्नुपर्ने जिम्मेवारी मेरो काँधमा आएको छ ।
विजयी भएपछि कस्तो अनुभूति गर्दै हुनुहुन्छ ?
निकै खुसी लागेको छ ।
सबै प्रतिस्पर्धीको जोड्दा जत्तिकै मत एक्लै पाउनुभयो । के होला यो आकर्षणको कारण ?
एक त राजपाप्रति आकर्षण छ नै । त्यसबाहेक मधेसमा चलेको लहरको प्रभाव पनि छ, मधेसीको मधेसप्रति चेतना बढेको इन्डिकेटर पनि हो ।
चुनाव लड्न कत्तिको गाह्रो भयो ?
चुनौती खासै देखिएन । जहाँ गए मानिसले एकदम मैत्रीपूर्ण व्यवहार गरे । महोत्तरी मेरो जन्मथलो हो, मेरो बचपनमात्र यहाँ बित्यो । त्यसपछि बाहिरको बाहिरै भएको तर एक्कासि आएर उम्मेदवार भएका कारण पनि मानिसको मप्रति आकर्षण थियो । त्यसैले पनि गाह्रो महसुस भएन ।
जनताका अपेक्षा कस्ता रहेछन् ?
मनिपाल कलेजले लिएको जग्गामा निर्माण कार्य नभएको, विकासमा पछाडि परेको, सिँचाइ नभएको र तटबन्धन नहुँदा बाढीले बर्सेनि क्षति पु¥याउने गरेको जस्ता समस्या सुनाए । बाढीले पु¥याएको विनासका केही अवशेष देख्न पनि पाएँ । उनीहरूले मबाट यस्तै समस्यामा निदान अपेक्षा राखेको पाएँ ।
तपाईँको अगामी रणनीति र मुख्य अजेन्डा के हुनेछ ?
संविधान संशोधन हाम्रो मूल अजेन्डा हो । यहाँका जनताले संविधान सभाको दुई चुनावमा पनि जनताको तत्काल आवश्यकताको कुरा उठाएका थिए तर यसपालि पढे÷लेखेका र जान्नेहरूले संविधान संशोधनको विषयमा पनि कुरा उठाएको भेटेँ । अर्थात जनताको म्यान्डेट पनि संविधान संशोधन नै रहेकाले त्यही म्यान्डेट लिएर अगाडि बढ्ने छु ।
नेपाली कांग्रेसबाट राजनीति सुरु गरेर निकै पछि मधेसी दलमा पुग्नुको कारण के हो ? ।
नेपाली कांग्रेसमा रहँदा पनि सुरुदेखि नै पार्टीभित्र मधेसको कुरा उठाइ नै रहेको थिएँ । मधेसको उपेक्षा भइरहेकोबारे पार्टीभित्र सबैलाई थाहा पनि थियो । मधेसका जनताले नेपाली कांग्रेसबाट विकास निर्माणको दृष्टिकोणले केही आशा गरेका थिए तर त्यो भएन । त्यसपछि बाध्य भएर मधेसी दलमा आउनुप¥यो ।
भनेपछि तपाईँको क्षेत्रमा कुन कुन कामले प्राथमिकता पाउँछ त अब ?
हाम्रो क्षेत्र विकासको इन्डिकेटरले शिक्षा, स्वास्थ्य, सडक सबै क्षेत्रमा पछाडि छ । मधेसका आठै जिल्लाको सदरमुकाम एकदम गन्धा छ, सरसफाइ, नाला निकास र लामखुट्टेका कारण हरेक साल कालाजार डेगु रोगी बढ्दै गएका छन् । युवा रोजगारका लागि बाहिर जान बाध्य छन् । जलेश्वर अस्पतालमै डाक्टरको अभाव सुनेको छु । त्यसैले राज्य र प्रान्तीय सरकारले जे गर्नुपर्ने हो, त्यो गर्दै जाने छु यस क्षेत्रमा ।
तपाईँको क्षेत्रमा व्याप्त गरिबी र बेरोजगारीको समस्या हल गर्ने उपाय केही छ ?
हाम्रो क्षेत्रमात्र होइन, सारा मधेसमै सामाजिक÷आर्थिकरूपमा पछाडि परेका समूह पनि छन् । तिनीहरू डेन्जर विन्दु हुन् । अहिलेसम्मका विकास त्यहाँसम्म कहिल्यै पुगेन । विकास नभएकै कारण असन्तोष सुरु भयो जसले अशान्ति जन्माउँछ । तिनीहरूसमक्ष ध्यान दिन्छु । उनीहरूको जीवनस्तर उकास्नु आवश्यक छ ।
राजपाको घोषणापत्रमा मधेसी दलले विवाहको बेला सुन दिने उल्लेख गर्नुको कारण के होला ?
हेर्नूस्, मधेसमा मुस्लिम र महिला शिक्षा निकै पछाडि छ । त्यही भएर कम्तीमा उनीहरू १२ कक्षासम्म पढून् भन्ने हाम्रो सोच हो । स्टेटबाट मंगल सूत्र दिएर प्रोत्साहित गर्ने हो भने कम्तीमा पढ्ने आकांक्षा रहेका महिलाले १२ सम्म त पढ्छन् भन्ने हो । यसले मधेसको शिक्षाग्राफमा वृद्धि ल्याउने हाम्रो बुझाइ छ । तर राजपाको पवित्र उद्देश्यलाई नकारात्मक ढंगले व्याख्या गरियो ।
राजपाको घोषणापत्रमा अलग मधेस र बहुराष्ट्रवादको कुरा उल्लेख छ नि ?
अलग मधेस त्यस्तो कुरा छैन । यो अवस्था राज्यद्वारा सिर्जना गरिँदैछ । राष्ट्रियताको सवालमा जुन किसिमको नेपाली परिभाषा गरिएको छ त्यो खस राष्ट्रियताभन्दा माथि उठ्न सकेको छैन । सत्ताधारीहरूले कमन राष्ट्रियताको कुनै प्रयास गरेका छैनन् । हामी भन्छौं, शक्ति विविधतामा समाहित छ । विद्यविता हाम्रो कमजोरी होइन, शक्ति हो । तर शासन, प्रशासन र सरकारको जति अंग छन् सबैमा चेहरा देखा परिरहेको छैन, खाली नारा दिएर राष्ट्रियता मजवुत हुँदैन । राष्ट्रियता के हो ? भावनात्मक राजनीतिक पहिचान हो । सुरुमा पहिलो संविधान सभामा पनि नेपाल बहुराष्ट्रिय राज्य हो भन्ने स्वीकारिएको थियो । यहाँ विभिन्न किसिमका मानिस बसिराख्या छन् । सबैको आफनो भाषा छ संकृति छ । जसलाई उसले राष्ट्रका रूपमा लिइसकेको छ । त्यो अनुसारको अधिकारको कुरा हामी गर्छौं ।
संविधानमा त...
खाली संविधानमा लेखेर हुँदैन । संविधानमा त लेखिन्छ ‘अल आर इक्वेल’ तर अवसर पनि इक्वेल हुनुप¥यो नि । यो पनि आफ्नो देशको नागरिक हो भने मान्नुप¥यो । तर हरेक ठाउँमा ऐतिहासिकरूपमै विभेद भइरहेकाले त्यो सन्दर्भ उठाइएको हो । त्यसमा सहमति भएको जनआन्दोलनपछि अजेन्डामै थियो । केन्द्रीकृत र एकात्मक सरकार चल्दैन, त्यसका लागि राज्य पुनर्संरचना गर्ने भनेर । राज्यको पुनर्संरचना कसरी गर्ने ? पहिचानका आधारमा भेदभाव गरिएको छ । जातिको आधार धर्म, भाषा, संस्कृतका आधारमा विभेद गरिएको छ । नेपाली भाषालाई राष्ट्रिय भाषा भन्दा हुने त्यही मैथिलभाषीहरू भन्छन् भने त्यो साम्प्रदायिक कसरी भयो ? बहुमतले भनेको कुरा साम्प्रदायिक नहुने र अल्पमतले त्यही कुरा उठाउँदा साम्प्रदायिक कसरी हुन्छ ?
भनेपछि बहुराष्ट्रको अवधारणा ठीक हो ?
माथि भनिएकै आधारमा सबैले संरक्षण पाउनुपर्छ भन्ने हो । सांस्कृतिक मामिला हाम्रो पहिचान हो । पहिरन, भाषा सबै हाम्रो पहिचान हो, हामी कहीँ जाँदा हामीलाई मैथिलभाषी भनेर हाम्रो पहिचान हुन्छ । धर्म पनि पहिचान हो । यी सबका आधारमा भेदभाव गर्ने हो भने एकल जातीय, एकल भाषा राज्य संरचना गर्ने हो भने अरुले के गर्ने हो ? उसको मानमर्यादा, हक अधिकार सुरक्षित भएन भने जसरी पढ्नका लागि मान्छे विदेश जान्छ, उपचारका लागि विदेश जान्छ, रोजगार पाएन भने विदेश जान्छ, त्यस्तै हकहित, मर्यादा मानसम्मान नेपालको सीमाभित्र पाएन भने उसले आफ्नो बाटो खोज्न थाल्छ ।
अन्तिममा, आफ्ना मतदातालाई के भन्नुहुन्छ ?
तपाईँहरूले मलाई आफ्नो जन्मथलोमा ल्याएर जिताएर आफ्नो वाचा पूरा गर्नुभएको छ । अब तपाईँहरूसँग गरेको वाचा पूरा गर्नुपर्ने जिम्मेवारी मेरो काँधमा आएको छ । सबै जनताको इच्छा÷आकांक्षा पूरा गरेर देखाउँछु । जीतको सबै मूल्य पनि थोरै हुन्छ । कुनै पनि जीतको मूल्यांकन गर्दा थोरै हुन्छ, जीत त्यस्तो चिज हो । लडाइँ हुन्छ, परिश्रमको केही किमत लगाउन सकिँदैन । राम्रो लागेको छ, सबैमा उल्लास छ, उत्साह छ, यस्तो अवस्थामा अरु सबै कुरा गौण हुन जान्छ ।
प्रस्तुति : महेशकुमार दास
प्रकाशित: २७ मंसिर २०७४ ०६:०५ बुधबार