११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्व ठूलो संकटमा: गुटेरस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिओ गुटेरसले विश्व समुदायले आगामी तीन वर्षभित्रै जलवायु संकट, द्वन्द्व, बढ्दो गरिबी र असमानतालाई गम्भीर भएर सम्बोधन गर्नुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको ७७औं महासभाको पूर्वसन्ध्यामा उनले युक्रेनमा रूसी आक्रमण भएयता विश्वका प्रमुख शक्तिबीचको सम्बन्ध नराम्ररी बिग्रेको बताए। उनले विश्वका नेताले संकटमा पर्दै गएको विश्वलाई जोगाउन र कोभिड महामारीलाई सम्बोधन गर्न यथेष्ट प्रयास गर्नुपर्नेमा जोड दिए।

उनले विकासोन्मुख देशलाई शिक्षा, स्वास्थ्य तथा महिलामाथिको विभेदजस्ता समस्या सम्बोधन गर्न आर्थिक सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए। उनले मंगलबार ‘स्टेट अफ द वल्र्ड’ विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम छ। ‘आफ्नो सम्बोधनमा महासचिवले मिठा कुराभन्दा विश्वका कटु यथार्थ र आशावादिताका पक्षमा बोल्नेछन्’, संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेभेन डुजारिकले सञ्चारमाध्यमसँग भने।

दोस्रो विश्वयुद्धपछि युरोपमा जारी युद्धको पृष्ठभूमिमा संयुक्त राष्ट्रसंघको ७७औं महासभा सुरु हुँदै छ। विश्वका १५० देशका सरकार प्रमुख तथा प्रतिनिधिले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। विश्व विभिन्न हिसाबले विभक्त भए पनि संयुक्त राष्ट्रसंघ विश्वका नेताहरूको साझा मञ्च रहँदै आएको छ। यसपटकको महासभामा युक्रेनमाथि रूसी आक्रमणका विषयमा  महत्वका साथ छलफल हुने बताइएको छ।  

प्रकाशित: ५ आश्विन २०७९ ०१:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App