श्रीलङ्कामा घर बाहिर जाँदा मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था गर्न लागिएको छ। कोरोना भाइरसको महामारी फेरि बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले मास्क लगाउन अनिवार्य गर्नुपर्ने सिफारिस गरेका हुन्।
भिडभाड भएका ठाउँमा जाँदा, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा मास्क लगाउनु पर्ने नियमलाई कडाइका साथ पालना गराउन पनि सिफारिस गरिएको छ। स्वास्थ्य सेवा महानिर्देशक असेला गुनावार्डेनाले नयाँ सङ्क्रमितहरुको सङ्ख्या बृद्धि हुदै गएकाले सतर्कता पनि बढाउनु पर्नेमा जोड दिए।
विषेशगरी देशको पश्चिमी प्रान्तहरुमा महामारी धेरै फैलिदै गएको पनि उनले मङ्गलबार जानकारी दिए। महामारी सुरु भएदेखि नै मास्क अनिवार्य गरेको श्रीलङ्काले गत जुनदेखि मास्क अनिवार्य गरिएको नियम हटाएको थियो।
प्रकाशित: १० श्रावण २०७९ ०७:२९ मंगलबार