गत जुनमा कोलम्बोको समुद्री तटमा टेन्टले बनाएको क्याम्पमा केही दर्जन अभियन्ताले सरकारविरुद्ध कमजोर हुँदै गएको प्रदर्शनलाई कसरी सशक्त पार्ने भन्ने विषयमा छलफल सुरु गरेका थिए। एक क्याथोलिक पुजारी, डिजिटल रणनीतिका, नाटककार समेत सहभागी उक्त समूहले कल्पना नै नगरेको सफलता हासिल गरेको छ।
यो तयारीको केही सातामै हजारांै प्रदर्शनकारी कोलम्बोका सडकमा उत्रे। सुरुमा प्रहरीसँग झडप गर्दै प्रदर्शनकारी सरकारी तथा आवासीय भवन कब्जा गर्न सफल भए। यसै क्रममा उनीहरूले राष्ट्रपति गोटाबय राजपाक्षे र प्रधानमन्त्रीलाई राजीनामा गर्न बाध्य पारे।
हामी अझै पनि यसको समीक्षा गर्दैछौं,’ एक विज्ञापन कम्पनीका डिजिटल रणनीतिकार समेत रहेका चमेरा डेडुवागे भन्छन्। उनी सरकारविरुद्ध प्रदर्शन आयोजना गर्ने टोलीका महत्त्वपूर्ण सदस्य हुन्। ‘यो ५० प्रतिशत पूर्वचिन्तन र समन्वय, ३० प्रतिशत सर्वसाधारणको चाहना र २० प्रतिशत भाग्य हो,’ उनी थप्छन्।
प्रदर्शनको तयारीका लागि हुने ससाना बैठकमा अग्रजहरूले कसरी संघर्षलाई नयाँ जीवन दिने भनेर सुझाव दिन्थे। सुरुमा लामो समयसम्म बिजुलीको कटौती र मूल्यवृद्धिको विरोधमा केन्द्रित रहेको यो अभियानले क्रमशः पछिल्ला २ दशकसम्म लगातार सत्तामा रहेको राजपाक्षे परिवारले सत्ता छाड्नुपर्ने माग गरेको थियो।
सन् २००५ देखि २०१८ सम्म राष्ट्रपति रहेका गोटाबय राजापाक्षेका जेठा दाजु महिन्दा राजपाक्षेले गत मे ९ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। जुन ९ मा उनका कान्छा भाइ बसिलले सांसद पदबाट राजीनामा दिएका थिए।
यसै क्रममा अभियन्ता र प्रदर्शनकारीले जुलाई ९ मा राष्ट्रपति राजापाक्षेलाई लक्षित गरी उनको निवासब कब्जा गरेका थिए।राजनीतिक दल, मजदुर युनियन र विद्यार्थी युनियनसँग छलफललाई अगाडि बढाउने, अनलाइन आन्दोलन जारी राख्ने तथा घरघरमा गएर सर्वसाधारणलाई सडकमा उत्रिन प्रेरित गर्ने काम अभियान्ताले गरेका थिए। अत्यावश्यक सामानको अभाव, ठप्प भएको अर्थतन्त्र, राजीनामा गर्न इन्कार गर्दै आएका राष्ट्रपतिका कारण सर्वसाधारण आक्रोसित बनेका थिए। यो क्रम कयौं सातासम्म जारी रह्यो।
गत शनिबार(जुलाई ९) रेल, बस, लरी, साइकलमा तथा पैदल हिँडेर कोलम्बो पुगेका प्रदर्शनकारीको संख्या हजारौंं थियो। सुरक्षाकर्मीको संख्याभन्दा कयौं गुणा बढी प्रदर्शनकारी राष्ट्रपति ‘गोटा गो होम’ अर्थात् घर फर्क भन्ने नारा लगाउँदै अगाडि बढेका थिए।
उनीहरू एकैछिनमा राष्ट्रपतिको निवास र त्यहाँबाट साढे २ किलोमिटर टाढा रहेको प्रधानमन्त्रीको निवासमा प्रवेश गरेका थिए। निवासमा प्रदर्शनकारी पसेपछि राष्ट्रपति राजपाक्षे र प्रधानमन्त्री र निल बिक्रमासिंघेलाई अज्ञात स्थानमा पुर्याइएको थियो। त्यसको केही घण्टामै उनीहरूले पदबाट राजीनामा दिन तयार भएको घोषणा गरेका थिए। घोषणाअनुसार बुधबारराष्ट्रपति राजपाक्षेले राजीनामा दिए।
‘यो श्रीलंकामा भएको पहिलो अभूतपूर्व जमघट थियो,’ अभियन्ता समूहका सदस्य नाटककार रुवान्थी डे चिकेराले रोयटर्सलाई भनिन्। किन राजीनामा दिइयो भन्ने रोयटर्सको प्रश्नमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीको कार्यालयबाट कुनै प्रतिक्रिया दिइएनन्। दुवै नेता को कहाँ छन भन्ने अझै सार्वजनिक गरिएको छैन।
सबैको सहभागिता
श्रीलंकामा ५० लाख घर धुरी छन्, ८० लाख मानिस फेसबुकमा सक्रिय छन्। यही कारणले अनलाइनबाट विरोध प्रदर्शन आयोजनामा सहयोग पुगेको डिजिटल रणनीतिककार डेडुवागे ठान्छन्। ‘कुनै खर्च नगरी हामी देशका हरेक कुनामा पुग्न सक्छौं,’ समुद्री किनारस्थित टेन्टमा बसिरहेका उनले रोयटर्सलाई भने।
जुलाइको सुरुमा अभियन्ताहरूको समूहले पठाएको सन्देश पाउनेमा मार्केटिङ व्यवसायमा सम्बद्ध रहेका तथा कोलोम्बोबाट २० किलोमिटर टाढाको मोराटुवाका सथ्या चारि थ अमारातुगें पनि थिए। सरकार विरोधी एकाध प्रदर्शनमा भाग लिएका ३५ वर्षका उनले ह्वाट्सएपमा पाएको कोलम्बो जाने सन्देश पुनः अरूलाई प्रवाह गरेका थिए।
उनले आफ्नो फेसबुकमा पनि यो सन्देश राखे। आइयुएसएफ नाम गरेको विद्यार्थी संगठन श्रीलंकामा राजनीतिक आन्दोलन गर्न र प्रहरीसँग झडप गर्नमा अगाडि थियो। सरकार विरोधी प्रदर्शनमा यो संगठनलाई पनि परिचालन गरियो। प्रदर्शन सफल पार्न हरतरहको तयारी गरिएको डेडुवागे बताउँछन्। जुलाइ ८ तारिखमा प्रहरीले कोलम्बो वरपरका कतिपय जिल्लामा कफ्र्यु लगाएको थियो।
यसको उद्देश्य प्रदर्शनकारीलाई रोक्नु थियो। क्याथोलिक पुजारी जेभन्थ पेरिस केही हजार प्रदर्शनकारी मात्र सहभागी हुने चिन्तामा थिए। ‘हामीले ५ देखि १० हजार मानिस सहभागी हुने आशा गरेका थियौं,’ उनले भने। तर जुलाई ९ को बिहान मार्केटिङ व्यवसायी अमारातुगें पनि मोराटुवाबाट पैदल यात्रामा निस्कँदा २ हजार प्रदर्शनकारीसँगै थिए। तर कोलम्बो पुग्दै गर्दा त्यो संख्यामा व्यापक बढोत्तरी भयो। प्रहरीका अनुसार जुलाई ९ मा कोलम्बोर मा २ लाख मानिस प्रदर्शनीमा उत्रेका थिए। (रोयटर्स)
प्रकाशित: २९ असार २०७९ ०२:०२ बुधबार