१७ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलङ्काका राष्ट्रपति राजापाक्षले राजीनामा दिने प्रधानमन्त्रीद्वारा पुष्टि

श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षले पदबाट राजीनामा दिने तयारी गरेका छन्। उनले राजीनामा दिने बारेमा प्रधानमन्त्री रनिल विक्रमासिङ्गेलाई जानकारी गराइसकेकाे प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।  

आन्दोलनकारीहरुको चर्को दबाबपछि उनले राजीनामा दिने तयारी गरेका हुन्। उनको राजीनामाको माग गर्दै आन्दोनलकारीहरुले शनिबारदेखि अहिलेसम्म पनि राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेका छन्। उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नगर्दासम्म निवास कब्जा गरिरहने बताएका छन्।  

राष्ट्रपति भवन प्रदर्शनकारीको कब्जामा पुगेपछि राष्ट्रपति गोटाबाया राजापाक्ष राष्ट्रपति भवन छोडेर भाग्नुभएको थियो। प्रदर्शनकारीको आक्रोशित भीडले त्यसपछि प्रधानमन्त्री रनिलविक्रमासिंघेको सरकारी निवासमा समेत पुगी आगजनी गरेको थियो।

सभामुख महिन्दा याप अबेवार्डेनले पनि पत्रकार सम्मेलन गरेर राष्ट्रपति राजापाक्षले यही असार २९ गते राजीनामा दिने जानकारी दिए। उनले यसअघि संसदमा पनि यस बारेमा जानकारी दिएका थिए।

श्रीलङ्काको संविधानअनुसार राष्ट्रपतिले सभामुखलाई पत्र पठाएपछि मात्र राजीनामा स्वीकृत हुन सक्छ। तर अहिलेसम्म उनले राजीनामा बुझाएका छैनन्। राष्ट्रपतिले औपचारिक रूपमा पदत्याग गरेको एक साताभित्र सभामुखले राजनीतिक दलहरूले संयुक्त सरकार आह्वान गर्ने व्यवस्था छ। प्रदर्शनकारीले प्रधानमन्त्रीले समेत राजीनामा दिनु पर्ने माग गरेकाले प्रधानमन्त्री विक्रमासिङ्घे पनि राजीनामा दिन तयार भएका छन्।

राष्ट्रपति राजापाक्षले राजीनामा दिने प्रधानमन्त्री विक्रमासिङ्घेले बताएपनि राष्ट्रपतिले नै भने यस बारेमा अहिलेसम्म केही बताएको सार्वजनिक भएको छैन। उनले आफैले सार्वजनिक रुपमा नभन्दासम्म विश्वास गर्न नसकिने प्रदर्शनकारीको भनाई छ।  

यसअघि आन्दोलनकारीहरुकै दबाबमा तत्कालिन प्रधानमन्त्री महिन्दा राजापाक्षले राजीनामा दिनु भएको थियो। मुलुकको आर्थिक सङ्कटको मुख्य कारण राजापाक्ष दाजु भाइ नै भएको भन्दै दुवै जनाको राजीनामा माग गरिएको छ। चरम आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा केही महिनादेखि सरकारविरुद्ध प्रदर्शन भइरहेको छ।

विदेशी मुद्रा सञ्चितिको अभावमा श्रीलङ्कामा महिनौँदेखि खाद्यान्न, इन्धन, औषधि लगायतका अत्यावश्यक वस्तुको आयात रोकिएकाले अभाव र मूल्य वृद्धि सृजना भएको छ।  

प्रदर्शनकारीहरूले राष्ट्रपति भवनमा करोडौँ रूपैयाँ नगद भेटिएको दाबी गरेका हुन्। सामाजिक सञ्जालमा केही भिडियोहरू सार्वजनिक भएका छन्, जसमा प्रदर्शनकारीहरूले नोट गनिरहेको देख्न सकिन्छ। ठूलो सङ्ख्यामा प्रदर्शनकारी राष्ट्रपति भवनमा प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। 

प्रकाशित: २७ असार २०७९ १०:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App