५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न निर्देशन दिएका छन्।

सरकारी उच्च अधिकारीहरुलाई सोमबार उनले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण प्रक्रिया शुरु गर्न निर्देशन दिएका हुन्।

उनले यसअघि सत्ता हस्तान्तरण गर्न अस्वीकार गर्ने आशंका गरिँदै आएकोमा अहिले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न निर्देशन दिएपछि सकारात्मक सन्देश गएको छ।

राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै आफू पराजित नभई पराजित गराइएको दाबी गर्दै आएका थिए। उनले बाइडेनको जित र आफ्नो पराजय अस्वीकार गर्दै आएका थिए।

निर्वाचनमा धाँधली भएको भन्दै उनले विभिन्न अदालतमा मुद्दा दर्ता गरे पनि ट्रम्पको दावीका लागि पर्याप्त प्रमाण नभएकाले कतिपय न्यायाधीशहरुले मुद्दा नै खारेज गरिदिएका थिए।

अदालतबाट समेत आफ्नो दाबी पुष्टी नहुँदा पनि उनले आफू अन्यायमा परेको र आफूलाई नियोजित रुपमा पराजित गरिएको भन्दै उनले न्याय माग्ने क्रमलाई निरन्तरता दिने दावी गरेका छन्।

यही नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनबाट राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएका थिए।

उनीहरुले आगामी सन् २०२१ जनवरी २० मा सपथ ग्रहण गर्दै जिम्मेबारी सम्हाल्नेछन्। त्यसका लागि उनीहरुले पनि आआफ्नो तर्फबाट तयारी थालेका छन्।

बाइडेनले आफूले सरकारमा प्रमुख भूमिका दिने चाहेका व्यक्तिहरूको नामावली तयार पर्न थालेका छन्।

पूर्व विदेश मन्त्री जोन केरीले जलवायुसम्बन्धी विशेष दूतको भूमिका निर्वाह गर्नु हुने भएको छ भने यसअघि सशक्त रूपमा अन्तर्राष्ट्रियवादमा विश्वास गर्ने एन्टोनी ब्लिङ्केनको नाम विदेशमन्त्रीको रूपमा प्रस्तुत गरिसकिएको छ।

प्रकाशित: ९ मंसिर २०७७ ०७:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App