कोरोना संक्रमण भएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबारदेखि वासिङटनस्थित द वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टरमा उपचाररत छन्।
शुक्रबार बिहान आफू र आफ्नी पत्नी मेलानियालाई समेत कोरोना संक्रमण देखिएको र ह्वाइट हाउस निवासमै क्वारेन्टिनमा बस्ने भन्दै ट्विट गरेका ट्रम्पलाई अचानक त्यही दिन अपराह्नतिर अस्पताल लगिएको हो।
शनिबार ट्विटरमै भिडियो सन्देश जारी गर्दै राष्ट्रपति ट्रम्पले आफू ‘ठीक’ रहेको जानकारी दिए। तर त्यही दिन उनका चिफ अफ स्टाफ मार्क मेडोसले ‘राष्ट्रपतिमा जुन लक्षण देखिएका छन्, त्यो चिन्ता बढाउने खालका छन्’ भने। फेरि ट्रम्पको उपचारमा संलग्न डाक्टर सिन कनलेले भने ‘राष्ट्रपतिले आराम महसुस गरिरहेको’ बताए।
यसरी फरक फरक अभिव्यक्ति आएपछि वास्तवमा ट्रम्पको अवस्था के हो भन्ने अन्योल सिर्जना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
खासगरी उनका चिफ अफ स्टाफ मेडोसको भनाइले शंका उत्पन्न गराएको हो। किनकि उनले भनेका छन्, ‘अबको २ दिन निकै महत्वपूर्ण छ। त्यसबेला मात्र हामीले रोगको गम्भीरताबारे सही जानकारी पाउन सक्नेछौं। अहिले स्पष्ट रूपमा केही भन्न सक्दैनौं।’
वाल्टर रिड अस्पतालका डाक्टरले सञ्चारमाध्यमलाई यस विषयमा खासै जानकारी दिन नमानेको बताइएको छ। कतिपय सञ्चारमाध्यमले ट्रम्प पहिलेदेखि नै बिरामी रहेको आशंका गरेका छन्।
ह्वाइट हाउससम्बद्ध दुई स्रोतका अनुसार ट्रम्पलाई शुक्रबार बिहानैदेखि सास फेर्न गाह्रो भइरहेको थियो। उनलाई ह्वाइट हाउसमै अक्सिजन दिइएको थियो। त्यसपछि उनलाई अस्पताल लगिएको हो।
तर ट्रम्पका डाक्टर कोनलेले यो कुरा अस्विकार गरेका छन्।
यसैबीच आइतबार ट्रम्पले ट्विटरमार्फत फेरि अर्काे भिडियो सन्देश जारी गरेका छन्। चार मिनेटको भिडिओ सन्देशमा उनले आफू उपचाररत अस्पतालका चिकित्सकलाई धन्यवाद दिएका छन्।
उनले भनेका छन्, ‘अहिले म पहिलाभन्दा राम्रो महसुस गरिरहेको छु।’
प्रकाशित: १८ आश्विन २०७७ ०८:५३ आइतबार