९ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोभिड–१९ बाट अफ्रिकामा २ लाख २५ हजारभन्दा बढी संक्रमित

अफ्रिकी महादेशमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या २ लाख २५ हजार नाघेको छ। कोभिड–१९ तिब्र रुपमा फैलिएसँगै अफ्रिकाका ४३ मुलुकको अन्तर्राष्ट्रिय सीमा पूर्ण रुपमा बन्द गरिएको छ।  

अफ्रिका सिडीसीको पछिल्लो विवरण अनुसार कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या करिब ६ हजार पुगेको छ भने एक लाख २ हजार ८४६ जना निको भएर घर फर्किएका छन्।  

अफ्रिका सिडीसीको अध्ययनमा कोविड–१९ बाट उत्तर अफ्रिकी मुलुकहरु सर्वाधिक प्रभावित भएको उल्लेख छ। उत्तर अफ्रिकी क्षेत्रमा कोविड–१९ बाट भएको मृत्यु र संक्रमित दुबैको संख्या बढी छ।  

यद्यपी कोविड–१९ बाट सर्वाधि असर परेका मुलुकहरुमा दक्षिण अफ्रिका, इजिप्ट, मोरक्को, जिबुटी, नाइजेरिया र अल्जेरिया रहेका छन्।  

इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार इजिप्टमा विगत २४ घण्टाको अवधिमा एक हजार ६७७ जना नयाँ संक्रमित भेटिएका छन्। यो सहित इजिप्टमा संक्रमितको कूल संख्या ४२ हजार ९८० पुगेको छ। यहाँ हालसम्म एक हजार ४८४ जनाको मृत्यु भइसकेको छ।  

यस्तै अफ्रिकामै सबैभन्दा बढी जनसंख्या रहेको इथियोपियामा कोरोना संक्रमितको संख्या ३ हजार १६६ पुगेको छ।  

अफ्रिकी महादेशका मुलुकमध्ये सर्वाधिक असर परेको दक्षिण अफ्रिकामा हालसम्म कूल संक्रमितको संख्या ६५ हजार ७३६ पुगेको र त्यसमध्ये एक हजार ४२३ जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।  

अफ्रिकाका ४३ मुलुकले आफ्ना सीमा बन्द गर्नुका अलावा अफ्रिका सिडीसीका अनुसार कोरोना फैलिनबाट रोक्न ३५ वटा देशमा रातिको समयमा निषेधाज्ञा (कफ्र्यु) समेत लगाइएको छ।  

सातवटा देशमा अन्तर्राष्ट्रिय हवाई उडान रोकिएको छ भने दुई वटा देशले अन्य मुलुकसँगको आउजाउमा प्रतिबन्ध लगाएका छन्।  

केही अफ्रिकी मुलुकले कार्गो, फ्राइट र आपतकालीन यातायात भने खोलेका छन्।  

अफ्रिकाका ५४ वटा मुलुकले सार्वजनिक भेला, समारोहमा प्रतिबन्ध लगाएका छन् भने ३८ वटा मुलुकले शैक्षिक प्रतिष्ठानहरु बन्द गरेका छन्।

प्रकाशित: ३२ जेष्ठ २०७७ ०८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App