नयाँ दिल्ली– कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रण गर्न भारतमा आज राति १२ बजेदेखि ‘लकडाउन’ गरिने भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राति देशवासीका नाममा सम्बोधन गर्दै राति १२ बजेदेखि २१ दिनका लागि ‘लकडाउन’ गरिएको घोषणा गरे ।
उनले यो समयमा हरेक भारतीयको जीवन बनाउन आफ्नोसँगै भारतीय सरकार, राज्य सरकार तथा स्थानीय निकाय सरकारको सबैभन्दा ठूलो प्राथमिकता भएको बताए । कोरोनाबाट बच्न यसका अलावा अन्य केही तरिका नभएको उनको भनाइ थियो । ‘कोरोना संक्रमण फैलन नदिन यसको संक्रमणको साइक्लिङलाई तोड्न जरुरी छ,’ उनले भने ।
‘लकडाउन’को समयमा घरबाट बाहिर निस्कन निषेध गरिएको छ । ‘मलाई थाहा छ कि यो सबैभन्दा कठिन फैसला हो । तर, तपाईंलाई र देशलाई बचाउन यस्तो कठिन फैसला लिनै पर्छ,’ उनले भने, ‘२१ दिनको ‘लकडाउन’ लामो समय भए पनि तपाईंहरूको जीवन रक्षाका लागि यो एकदमै महत्वपूर्ण छ ।’
उनले ‘लकडाउन’को फैसला आउने पिढिका लागि भएको जिकिर गरे । ‘यदि हामीले २१ दिनको ‘लकडाउन’ पालना गरेनौं भने हामी २१ वर्षपछि धकेलिनेछौं,’ उनले भने ।
सम्बोधनका क्रममा उनले हल्ला र अन्धविश्वासका पछि नलाग्न देशवासीलाई आग्रह गरे । उनले चिकित्सकको सल्लाहबिना औषधि नखान बिरामीलाई आग्रह गरे ।
वल्र्डओमिटरडटइन्फोका अनुसार भारतमा पाँच सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसको संक्रमणबाट १० जनाको ज्यान गइसकेको छ ।
बेलायतमा पनि लकडाउन
कोरोना भाइरसको संक्रमण लगातार बढेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागु हुनेगरी आवतजावत एवम् जमघटमा कडाइ गर्न ‘लकडाउन’को घोषणा गरेका छन् । प्रधानमन्त्री जोनसोनले सर्वसाधारणलाई घरभित्रै बस्न आह्वान गर्दै दुई जनाभन्दा बढीको जमघट तथा सामाजिक कार्यक्रम नगर्न प्रतिबन्ध लगाएका छन् ।
आफ्नो देशमा कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासका रूपमा प्रधानमन्त्री जोनसनले नयाँ नियन्त्रणका उपाय अघि सारेका हुन् । यो नियम तत्काल लागू हुने भएको छ । आवश्यक किनमेल, दैनिक व्यायाम, औषधोपचार तथा अत्यावश्यक सेवाबाहेक अब घरबाहिर निस्किन निषेध गरिएको छ ।
यी नियम नमान्नेविरुद्ध प्रहरीले जरिवाना गराउन सक्ने प्रधानमन्त्री जोनसनले बताएका छन् । प्रधानमन्त्री जोनसनले यस्ता घोषणा गर्ने कुनै प्रधानमन्त्रीलाई पनि रहर नहुने भन्दै तीन सातामा यी नियमको समीक्षा गरिने बताएका छन् ।
बेलायतमा कोरोना भाइरस संक्रमणबाट हालसम्म तीन सय ३५ व्यक्तिको मृत्यु भइसेकेको छ । ६ हजार एक सय ८० व्यक्ति संक्रमित भएका छन् । यसैबीच, एक सय ३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
युरोपमा सबभन्दा धेरै प्रभावित इटालीमा पछिल्लो २४ घन्टामा त्यहाँ ६ सय जनाभन्दा बढीको ज्यान गएको छ । उक्त संख्या पछिल्लो दुई दिनभन्दा कम भएको बताइएको छ ।
यसअघि कोरोना भाइरस महामारी फैलिन नदिने उद्देश्यले जर्मनीले घर तथा कार्यालयबाहेक अन्य स्थानमा दुई जनाभन्दा धेरै जम्मा हुन नपाइने नियम लागू गरिसकेको छ । टेलिभिजनमा सम्बोधन गर्दै चान्सलर एञ्जेला मार्केलले संक्रमणको दर घटाउन आफ्नै व्यवहार सबैभन्दा प्रभावकारी माध्यम भएको बताएका थिए ।
जर्मनीमा कोरोना भाइरसको संक्रमणबाट एक सय २३ व्यक्तिको मृत्यु भएको छ । हाल २८ हजार चार सय ८० जना संक्रमित रहेका छन् । यस्तै, चार सय ५३ उपचारपछि निको भएर घर फर्किएका छन् ।
प्रकाशित: १२ चैत्र २०७६ ०५:०४ बुधबार