२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दिल्ली विधानसभा निर्वाचन: आम आदमीले दुई तिहाइ ल्याउने एक्जिट पोलको दाबी

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा विधानसभाका लागि शनिबार सम्पन्न निर्वाचनमा ५७ प्रतिशत मत खसेको छ। दिउँसो ३ बजेसम्म करिब ३० प्रतिशत मतदान भएकोमा दिन ढल्किएपछि उल्लेख्य मत खसेको भारतीय निर्वाचन आयोगले जनाएको छ। दिल्लीको सहरी क्षेत्रमा आफ्नो काम सकेर मतदानमा सहभागी हुन आएका मतदान केन्द्रमा खटिएका अभिकारीहरूले बताएका छन्।

कुल ७० सदस्यको दिल्ली विधानसभाका लागि मतदान गर्न साँझ ६ बजे मतदान केन्द्रमा पुगी लाइनमा बसेका मतदातालाई अवसर दिइएको निर्वाचन आयोगले बताएको छ। ‘दिल्ली विधानसभाका लागि सम्पन्न निर्वाचनमा ५७ प्रतिशत मत खसेको छ,’ प्रमुख निर्वाचन आयुक्त रनबिर सिंले भने।

दिल्लीबाट राष्ट्रपति रामनाथ कोविन्द, पूर्वउपराष्ट्रपति हामिद अन्सारी, पूर्वप्रधानमन्त्री मनमोहन सिंह, दिल्ली उपराज्यपाल अनिल बैजल, मुख्यमन्त्री अरविन्द केजरीवाल, कांग्रेस अध्यक्ष सोनिया गान्धी, भाजपा नेता लालकृष्ण आडवाणी र केन्द्रीय मन्त्री हर्षवर्धन र एस जयशंकरले शनिबार मतदानमा सहभागिता जनाएका छन्।

कांग्रेस नेता राहुल गान्धी र प्रियंका गान्धी वाड्राले पनि दिल्लीबाट मतदान गरेका छन्। दिल्ली विधानसभाका लागि हुने शनिबारको मतदानका लागि एक करोड ४० लाख मतदाता छन्, जसमध्ये ८१ लाख पाँच हजार २३६ पुरूष र ६६ लाख ८० हजार २७७ महिला मतदाता छन्। दिल्लीमा ८६९ तेस्रो लिंगी मतदाता रहेका थिए।

मतदानका लागि १३ हजार ५७१ मतदान केन्द्र रहेको दिल्लीमा करिब तीन हजार मतदानका हिसाबले संवेदनशील र १४४ अति संवेदनशील केन्द्रहरू रहेका भन्दै ती स्थानमा कडा सुरक्षा व्यवस्था मिलाइएको थियो। प्रतिस्पर्धामा सत्ताधारी आम आदमी पार्टी, भाजपा र कांग्रेसबीच धेरै हदसम्म त्रिकोणात्मक प्रतिस्पर्धा रहने बताइएको छ। भाजपा र कांग्रेस दुवैले आफ्ना सहयोगीहरूलाई केही सिट दिएका छन्। सन् २०१५ मा सम्पन्न निर्वाचनमा मुख्यमन्त्री केजरीवालको दलले ६७ सिटमा विजय प्राप्त गरेको थियो। निर्वाचन परिणाम आगामी मंगलबारसम्म घोषणा गरिने बताइएको छ।

भ्रष्टाचार विरोधी आन्दोलनकारीले स्थापना गरेको नयाँ दल भएकाले उसप्रतिको आशा र भरोसाका कारण आम आद्मी पार्टीले त्यतिबेला दिल्ली विधानसभामा अत्यधिक मत हासिल गरेको थियो। अहिले भएको मतदानको नतिजा दुई दिनपछि आउनेछ।

दिल्लीमा यस पटकको चुनावका लागि कूल ६७२ जना उम्मेदवार मैदानमा उत्रिएका छन्। आम आद्मी पार्टी दोस्रोपटक पनि सत्तालाई निरन्तरता दिने कोसिसमा छ भने लगातार तीनपटक दिल्लीको सत्तामा रहेको कांग्रेस आम आद्मीबाट सत्ता खोस्ने दाउमा रहेको छ। केन्द्रीय सत्ताको नेतृत्व गरेको भाजपाले पनि सत्ता हत्याउन सम्पूर्ण शक्ति लगाएको देखिन्छ।

दिल्लीमा यसअघि सन् २०१३ को डिसेम्बरमा भएको विधानसभामा भने कुनै पनि पार्टीले बहुमत ल्याउन सकेका थिएनन्। तर, आम आद्मी पार्टी नै सबैभन्दा ठूलो दल बनेको थियो। शुरुमा कांग्रेससँग मिलेर सरकार बनाएको आम आद्मीले ४९ दिनपछि सरकारबाट बाहिरिएर नयाँ चुनावको माग गरेको थियो। राम्रा काम गर्न पूर्ण बहुमत सहितको सरकारको आवश्यकता पर्ने भएकाले साथ दिन आह्वान गरेको आम आद्मी पार्टीलाई जनताले अपेक्षा गरेभन्दा बढी साथ दिए।

ऐतिहासिक सफलतासहित पार्टीका नेता अरविन्द केजरिवालको नेतृत्वमा बनेको दिल्ली सरकारको कार्यकाल यही फेब्रुअरी २२ तारिखमा सकिँदैछ। नयाँ सरकारमा फेरि केजरिवालले मौका पाउनेछन् कि अन्य पार्टीको भाग्य खुल्ने छ भन्ने कुराको फैसला शनिबारको मतदानले गर्नेछ।

प्रमुख प्रतिस्पर्धी दलका बीचमा चुनाव प्रचारप्रसारका क्रममा एक अर्काप्रति चर्को आरोप¬–प्रत्यारोप चलिरहेको थियो। उनीहरूले विवादास्पद अभिव्यक्ति पनि दिएका थिए। केही नेताहरूलाई त निर्वाचन आयोगले केही समयका लागि निलम्बन र प्रतिबन्ध लगाउनु परेको थियो।

आम आदमीले दुई तिहाइ ल्याउने: एक्जिट पोल
शनिबार सार्वजनिक अधिकांश ‘एक्जिट पोल’ अनुसार दिल्लीको सत्ताधारी दल आम आदमी पार्टीले दुई तिहाई ल्याउने प्रक्षेपण गरेको छ। त्यस्तै केन्द्र सरकारको नेतृत्व गरेको भाजपा दोस्रो स्थानसहित अघिल्लो चुनावमा भन्दा सुधारिएको नतिजा ल्याउने बताइएको छ।

दिल्लीमा यसपाली पनि लामो समय सत्तामा बसेर  केही वर्षपहिले बाहिरिएको भारतीय कंग्रेसले निकै थोरै सिट ल्याउने अनुमान गरिएको छ। द टाइम्स नाओ–इपसोसले दिल्लीमा आपको ४७ र भाजपाको २३ सिट आउने र बाँकी सिट अन्य दलले जित्ने अनुमान गरेको छ।

प्रकाशित: २६ माघ २०७६ ०३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App