२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनमा कोरोना भाइरस संक्रमणबाट १३० को मृत्यु

बेइजिङ (बिबिसी) – चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३० भन्दा बढी पुगेको छ। चीनको मध्य सहर वुहानबाट सुरू भएको भाइरसको संक्रमण विश्वका विभिन्न १५ मुलुकमा फैलिएको छ। बुधबारसम्ममा झण्डै ६ हजार व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको चीनले बताएको छ।

संक्रमण नियन्त्रण जारी रहेका समय विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयसससँगको भेटवार्तामा राष्ट्रपति सीले कोरोना भाइरस संक्रमण फैलन रोक्ने कामको निर्देशन आफ्नै अगुवाइमा भइरहेको बताएका छन्।

चिनियाँ राष्ट्रपति सी जिन्पिङले चीनले दुष्ट भाइरससँग लडिरहेको भन्दै सो लडाइँ आफ्नो देशले छिट्टै जित्नेमा आफू विश्वस्त रहेको बताएका छन्।

चीनका एकजना अत्यन्त सम्मानित स्वास्थ्य विज्ञ जोङ नान्सानले सरकारी सञ्चारमाध्यममा अबको दश दिनमा संक्रमण उच्च तहमा पुग्ने बताएका छन्। त्यसपछि सामान्य नागरिकले कल्पना गरेको भन्दा निकै छिटो भाइरसको संक्रमण नियन्त्रणमा आउने उनको धारणा छ। यसको अर्थ संक्रमण घट्दै जाने भन्ने हो।

कोरोना भाइरस संक्रमणको केन्द्रमा रहेको हुबेई प्रान्तका अधिकारीहरूले मंगलबार र बुधबार दिउँसोसम्ममा त्यहाँ थप २५ जनाको ज्यान गएको र थप आठ सय व्यक्तिमा संक्रमण भएको आँकडा दिएका छन्।

यसैबीच, हुबेइको वुहान सहरबाट विदेशीलाई उद्धार गर्न थालिएको छ। दुई सय यात्रुसहित जापानी विमान र अमेरिकी चार्टर्ड विमान पनि बुधबार उडेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले त्यहाँ चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय विज्ञ पठाउने विषयमा मंगलबार चीनले सहमति जनाएको छ। ती विज्ञले भाइरसबारे थप बुझ्न मद्दत गर्ने अनि अन्तर्राष्ट्रिय प्रतिक्रियालाई सघाउने छन्।

प्रकाशित: १६ माघ २०७६ ०४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App