१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पत्रकार खसोग्जीको हत्यामा पाँचजनालाई मृत्युदण्ड

रियाद – पत्रकार जमाल खसोग्जीको हत्यामा संलग्न भएको ठहर गर्दै साउदी अरबस्थित एउटा अदालतले पाँचजनालाई मृत्युदण्डको फैसला सुनाएको छ। अदालतले उनको हत्यामा संलग्न रहेको ठहर गर्दै अन्य तीनजनालाई भने जेल सजाय तोकेको सरकारी अभियोजनकर्तालाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

साउदी सरकारका कडा आलोचकका रूपमा चिनिने पत्रकार खसोग्जीको सन् २०१८ को अक्टोबर २ मा टर्कीको राजधानी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो। प्रेमिकासँग विवाह गर्न पूर्वपत्नीसँग सम्बन्ध विच्छेद गरेको कागजात मिलाउन उनी टर्कीस्थित साउदी वाणिज्य दूतावास भित्र गएका थिए। दूतावासबाट बाहिर ननिस्किएपछि उनको प्रेमिकाले पत्रकार खसोग्जी साउदी वाणिज्य दूतावासबाटै हराएको भन्ने जानकारी दिएकी थिइन्। उनी भने दूतावासबाहिरै खसोग्जीलाई कुरेर बसेकी थिइन्।

साउदी सरकारका कडा आलोचकका रूपमा चिनिने पत्रकार खसोग्जीको सन् २०१८ को अक्टोबर २ मा टर्कीको राजधानी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो।

साउदी सरकारले सुरुमा पत्रकार खसोग्जीको हत्यामा आफ्नो संलग्नता अस्वीकार गरेको थियो। विश्वभरबाट साउदीको कडा आलोचना भएपछि मात्रै उसले आफ्ना खराब एजेन्टहरुले टर्कीस्थित वाणिज्य दूतावासभित्रै पत्रकार खसोग्जीको हत्या गरेको स्वीकार गरेको थियो।

संयुक्त राष्ट्रसंघका एक अनुसन्धानकर्ताले पत्रकार खसोग्जीको हत्यालाई ‘राज्यद्वारा गरिएको हत्या’ को संज्ञा दिएका थिए। राष्ट्रसंघका एक विशेष अनुसन्धानकर्ता अग्नेस कालामार्डले गत जुन महिनामा पत्रकार खसोग्जीको हत्याका लागि साउदीका युवराज मोहम्मद बिन सलमानसहित उच्च पदस्थ अधिकारी जिम्मेवार रहेकोबारे यथेष्ट र भरपर्दो प्रमाण रहेको र थप अनुसन्धान आवश्यक रहेको बताएका थिए। यद्यपि युवराज सलमानले भने पत्रकार खसोग्जी हत्यामा आफ्नो कुनै संलग्नता नरहेको बताए पनि गत अक्टोबर महिनामा भने उनले ‘साउदी अरबको नेताको हैसियतमा खसोग्जी हत्याको पूर्ण जिम्मेवारी लिने’ बताएका थिए। साउदी अरब सरकारका लागि काम गर्ने व्यक्तिहरुले नै पत्रकार खसोग्जीको हत्या गरेका कारणले आफूले जिम्मेवारी लिने युवराज सलमानले बताएका थिए।

सरकारका उच्च पदस्थ व्यक्ति साउद अल–क्हतानीलाई पत्रकार हत्याको आरोपमा पदबाट मुक्त गर्दै अनुसन्धान गरिए पनि उनीविरुद्ध मुद्दा भने चलाइएन। उनीविरुद्ध पर्याप्त प्रमाण नभेटिएका कारण मुद्दा नचलाइएको सरकारी अभियोजनकर्ताको दाबी छ। त्यसैगरी, साउदी गुप्तचरी निकायका पूर्व उपप्रमुख अहमद असिरीमाथि पनि अनुसन्धान गरिएको थियो। यद्यपि उनलाई पनि प्रमाणको अपर्याप्तता देखाउँदै मुद्दा भने चलाइएन।

साउदी अरबका अभियोजनकर्ताले नाम नखुलाइएका ११ जनामाथि पत्रकार खसोग्जीको हत्यामा संलग्न भएको आरोप लगाउँदै मुद्दा दायर गरेका थिए। पत्रकार खसोग्जी हत्यामा संलग्न रहेको भन्दै पाँचजनालाई मृत्युदण्ड र अन्य तीनजनालाई जेल सजाय तोकिए पनि बन्द ढोकाभित्र भएको सुनुवाइमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरिएको र साउदी प्रशासनले अर्थपूर्ण जवाफदेहितामा बाधा पु¥याएको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ‘ह्युमन राइट्स वाच’ले आरोप लगाएको छ।

को हुन् पत्रकार खसोग्जी ?
‘द वासिङ्टन पोस्ट’ का स्तम्भकार खसोग्जी कुनैबेला साउदी अरबको शक्तिशाली राजपरिवार निकट मानिन्थे र उनले सरकारको सल्लाहकारका रूपमा पनि काम गरेका थिए। तर पछि उनको साउदी राजपरिवारसँगको सम्बन्ध बिग्रियो र उनी संयुक्त राज्य अमेरिका निर्वासनमा गए। त्यसपछि उनी साउदी राजपरिवारको कडा आलोचकका रूपमा चिनिए। अमेरिका बसेर उनले साउदी राजकुमार मोहम्मद बिन सलमानका नीतिहरुको आलोचना गरे।

‘द वासिङ्टन पोस्ट’ का लागि आफ्नो पहिलो स्तम्भमा नै पत्रकार खसोग्जीले विरोधी स्वरमाथि दमन गर्न लागेका राजकुमार मोहम्मदले आफूलाई गिरफ्तार गराउन सक्ने आशंका व्यक्त गरेका थिए। खसोग्जी एक चर्चित पत्रकार थिए। उनले अफगानिस्तानमा सोभियत संघको अतिक्रमणदेखि ओसामा बिन लादेनको उदयसम्मका कैयौं विषयमा साउदी समाचार संस्थाका लागि समाचार लेखेका थिए।

प्रकाशित: ८ पुस २०७६ ०१:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App