२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियामा सैन्य अभ्यास

सैन्य अभ्यासमा कौशलता प्रस्तुत गर्दै उत्तर कोरियाली सेना। तस्बिर : एजेन्सी

सोल (एजेन्सी)– उत्तर कोरियाली नेता किम जोङ–उनले मुलुकको सेनालाई थप सुदृढ गर्ने उद्देश्यले आयोजित गरिएको भनिएको पारासुट सैन्य अभ्यासको अवलोकन गरेका छन्।

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कोरियाली द्वीपलाई नै आणविक निःशस्त्रीकरण गर्न कूटनीतिक वार्ता र संवाद गरिरहे पनि वासिङ्टनमाथि थप दबाब सिर्जना गर्न उत्तर कोरियाले हातहतियारको प्रदर्शन र सैन्य अभ्यासलाई निरन्तरता दिइरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमलाई ‘चाँडै भेटौंला’ भन्दै ट्विट गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले सैन्य अभ्यास गरेको तस्वीर सार्वजनिक गरेको हो। राष्ट्रपति ट्रम्पले ट्विटमा आणविक निःशस्त्रीकरणसम्बन्धी वार्तामा जतिसक्दो चाँडो सहमति भएको हेर्न चाहेको पनि बताएका थिए।

थाइल्यान्डको राजधानी बैंककमा आयोजित एसियाली रक्षामन्त्रीहरुको सम्मेलनका क्रममा अमेरिकी रक्षामन्त्री मार्क एस्परले पनि आइतबार अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धलाई सामान्यीकरण गर्न र वार्ताको वातावरण बनाउन दक्षिण कोरिया–अमेरिका संयुक्त सैन्य अभ्यास स्थगित गरिएको बताएका थिए।

उत्तर कोरियासँग जारी आणविक निःशस्त्रीकरण वार्तालाई सहजिकरण गर्न सो संयुक्त सैन्य अभ्यास स्थगित गरिएको अमेरिकी भनाइ छ।

उत्तर कोरियाले आफ्नो मुलुकमाथि आक्रमण गर्ने नियोजित षडयन्त्रस्वरूप संयुक्त सैन्य अभ्यास गरिएको भन्दै विरोध गर्दै आएको थियो। उत्तर कोरियाले अमेरिकालाई यस वर्षको अन्त्यसम्ममा दुवै मुलुकलाई स्वीकार्य हुने खालतको स्पष्ट योजनासहित वार्तामा आउन आग्रह गर्दै आएको छ। अर्को शब्दमा भन्नुपर्दा प्योङयाङले वासिङ्टनलाई यस वषको अन्त्यसम्मको समयसीमा दिएको छ।

एसिया प्रशान्त क्षेत्रका रक्षामन्त्रीहरुको बैठकमा सहभागी भएका अमेरिकी रक्षामन्त्री एस्परले उत्तर कोरिया पनि वार्ताको टेबुलमा चाँडै आउने विश्वास व्यक्त गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच एसियाली मुलुक सिंगापुरमा भएको ऐतिहासिक पहिलो शिखर वार्तापछि अमेरिका र दक्षिण कोरियाले गत वर्ष पनि धेरैवटा संयुक्त सैन्य अभ्यास रद्द गरेका थिए। तर यसै महिनाको अन्त्यतिर दुवै देशले संयुक्त हवाई अभ्यास गर्ने तयारी गरेका थिए। यद्यपि अमेरिकी रक्षामन्त्री एस्परले आइतबार संयुक्त सैन्य अभ्यास स्थगित गरिएको जानकारी दिएका थिए। ‘कोरियाली प्रायःद्वीपमा शान्ति स्थापना गर्ने र उपयुक्त वातावरण निर्माण गर्ने उद्देश्यले यो मित्रवत निर्णय गरिएको हो,’ रक्षामन्त्री एस्परले बताएका थिए।

एसिया प्रशान्त क्षेत्रका रक्षामन्त्रीहरुको बैठकका क्रममा पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी रक्षामन्त्री एस्परले उत्तर कोरिया पनि वार्ताको टेबुलमा चाँडै आउने विश्वास व्यक्तसमेत गरेका थिए। उनले संयुक्त सैन्य अभ्यासमा गरिएको ढिलाइले दुवै मुलुकका कूटनीतिज्ञबीच जारी वार्ता फलदायी हुन सहज बनाउने जिकिर पनि गरेका थिए।

स्विडेनमा गत अक्टोबरमा सुरु भएको दुवै मुलुकबीचको वार्ता एकाएक भंग भएको थियो। वार्तामा उत्तर कोरियाली प्रतिनिधिमण्डलले अमेरिकाबाट पुरानै प्रस्ताव आएको भन्दै असन्तुष्टि प्रकट गरेका थिए।

उत्तर कोरियाले तीन दिनको अन्तरालमा दुई वटा सैन्य अभ्यास गरेको विवरण दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले सार्वजनिक गरेको छ। शनिबार प्रकाशित एक रिपोर्टमा नेता किमले लडाकु विमानका चालकहरुलाई शत्रुका अखडामा जस्तोसुकै आक्रमणका लागि तयार रहन निर्देशनसमेत दिएको जनाइएको छ।

सन् १९५३ मा दक्षिण र उत्तर कोरिया विभाजित भएदेखि नै वासिङ्टन र प्योङयाङबीच कटुतापूर्ण सम्बन्ध रहँदै आएकोमा इतिहासमै पहिलो पटक सन् २०१७ को जुन १२ का दिन बहालवाला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच सिंगापुरमा पहिलो शिखर बैठक भएको थियो।

पहिलो शिखर बैठकमा उत्तर कोरियाले आफ्नो देशको सुरक्षाको प्रत्याभूति भए आफू कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरण गर्ने पक्षमा रहेको प्रतिबद्धता व्यक्त गरेको थियो। प्रतिउत्तरमा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको सुरक्षा प्रत्याभूतिका लागि नेता किमलाई विश्वस्त बनाउने प्रयास गरेका थिए।

सिंगापुर बैठकमा भएको सम्झौताबमोजिम नै उत्तर कोरियाले आफ्ना केही आणविक परीक्षणस्थल ध्वस्त गरेको दाबी गरेको थियो।

पहिलो बैठकबाट उत्साहित दुवै राष्ट्र प्रमुखको भेट गत वर्षको फेब्रुअरी २७ र २८ का दिन एसियाली मुलुक भियतनामको राजधानी हनोईमा भएको थियो। भियतनाम बैठक भने त्यति सौहार्दपूर्ण हुन सकेन। सो बैठकमा उत्तर कोरियाले आफ्नो देशमाथि लागेको अमेरिकी प्रतिबन्ध पूर्ण रूपमा हटे मात्रै आणविक निःशस्त्रीकरणका लागि अघि बढ्न सक्ने बताएपछि प्रतिउत्तरमा अमेरिकाले आणविक कार्यक्रम नत्यागेसम्म प्रतिबन्ध नहट्ने जिकिर ग-यो। दुवै देशका आ–आफ्ना दाबी रहेपछि वार्ता बिनानिष्कर्ष टुंगिएको थियो।

त्यसपछि अमेरिका र उत्तर कोरियाबीच प्रत्यक्ष वार्ता वा संवाद हुन सकिरहेको छैन। यद्यपि दक्षिण कोरियाले भने दुई देशबीचको सम्पर्क सुत्रका रूपमा काम गरिरहेको छ। यसैबीच केही महिनाअघि उत्तर कोरियाले अमेरिकालाई यसै वर्षको अन्त्यसम्ममा ठोस प्रस्तावसहित आउन समयसीमा तोकेको छ र छोटा दूरीका क्षेप्यास्त्र परीक्षणसहित सैन्य अभ्यासलाई पनि अघि बढाइरहेको छ।

प्रकाशित: ३ मंसिर २०७६ ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App