१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पूर्वरक्षा सचिव राजापाक्षे नयाँ राष्ट्रपति निर्वाचित

गोताबय राजापाक्षे

कोलम्बो (बिबिसी) – श्रीलंकामा शनिबार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पूर्वरक्षा सचिव गोताबय राजापाक्षे निर्वाचित भएका छन्।

देशलाई जातीय रेखामा विभाजित गरेको श्रीलंकाली गृहयुद्धका बेला राजापाक्षे रक्षा सचिव रहेका थिए। निर्वाचनमा राजापाक्षेको पक्षमा ५२.२५ प्रतिशत मत खसेको थियो। निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुनुपूर्व नै राजापाक्षेका प्रमुख प्रतिद्वन्द्वी सजिथ प्रेमदासले पराजय स्वीकार गरेका छन्।

मतदानको आंशिक नतिजा सार्वजनिक हुँदा नै राजापाक्षेले जित हासिल गर्ने देखिएपछि प्रेमदासले सार्वजनिक रूपमै पराजय स्वीकार गरेका थिए।

‘जनताको निर्णय स्वीकार गर्न पाउनु मेरा लागि गौरवको विषय हो र श्रीलंकाको सातौं राष्ट्रपतिमा विजयी हुनु भएकोमा म गोताबय राजापाक्षेलाई बधाई ज्ञापन गर्दछु,’ प्रेमदासले बताएका छन्।

‘सबै श्रीलंकाली जनता यो यात्राको अंश हुन्’ भन्दै ट्विटरमार्फत् सार्वजनिक गरिएको एउटा विज्ञप्तिमा राजापाक्षेले सबैलाई राष्ट्रिय एकताका लागि आह्वान गरेका छन्।

‘जनताको निर्णय स्वीकार गर्न पाउनु मेरा लागि गौरवको विषय हो र श्रीलंकाको सातौं राष्ट्रपतिमा विजयी हुनु भएकोमा म गोताबय राजापाक्षेलाई बधाई ज्ञापन गर्दछु,’ प्रेमदासले बताएका छन्।

विश्लेषकहरुका अनुसार राजपाक्षेले सिन्हाला बहुल क्षेत्रबाट अत्यधिक मत ल्याएका छन् भने सजिथ प्रेमदासले तामिल बाहुल्यता रहेको दक्षिणी भेगमा राम्रो मत प्राप्त गरेका छन्।

गत अप्रिलमा दुई सय ५० भन्दा बढी व्यक्तिको ज्यान जानेगरी भएको आतंकवादी आक्रमणपछि श्रीलंकामा पहिलो पटक निर्वाचन भएको हो। इसाई धर्मावलम्बीहरुले इस्टर सन्डे पर्व मनाइरहेका बेला केही गिर्जाघर र होटलहरुमा इस्लामिक स्टेटआबद्ध लडाकु समूहले आतंकवादी आक्रमण गरेका थियो।

शनिबार सम्पन्न निर्वाचनमा राष्ट्रपति पदका लागि ३५ जना उम्मेदवार मैदानमा उत्रिएका थिए। मतगणना हुँदा सुरुदेखि नै राजापाक्षे अग्र स्थानमा रहेका थिए।

निर्वाचनमा ८३.७ प्रतिशत मतदाताले मतदान गरेको देशको निर्वाचन आयोगलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

नवनिर्वाचित राजापाक्षेको एउटा समारोहबीच सोमबार पद तथा गोपनियताको शपथ ग्रहण हुने निर्वाचन आयोगले जनाएको छ।

श्रीलंकामा दशकौं लामो गृहयुद्ध सन् २००९ मा समाप्त भएको थियो। गृहयुद्ध अन्त्यपछि श्रीलंकामा भएको यो तेस्रो राष्ट्रपतीय निर्वाचन हो। यस निर्वाचनमा वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भने प्रतिस्पर्धा गरेनन्। इस्टर पर्वका बेला देशमा भएको आतंकवादी आक्रमणका कारण चर्को आलोचना खेपेका कारण पनि सिरिसेनाले यस निर्वाचनमा सहभागिता नजनाएको बताइएको छ।

इसाई धर्मावलम्बीको इस्टर सन्डे पर्वका बेला गिर्जाघर र ठूला होटेलहरुमा आत्मघाती बम आक्रमण भएपछि सरकारले आफ्नो गुप्तचर संयन्त्र असफल भएको स्वीकार गरेको थियो। आत्मघाती आक्रमणपछि श्रीलंकाको अर्थतन्त्र खस्कँदै गएको छ। पर्यटनका लागि प्रख्यात श्रीलंकामा आतंकवादी आक्रमणपछि विशेषतः पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको बताइएको छ।

पूर्वराष्ट्रपति महिन्दा राजापाक्षे र नवनिर्वाचित राष्ट्रपति गोताबय राजापाक्षे दाजुभाइ हुन्। राजापाक्षे दाजुभाईलाई देशको दशकौं लामो गृहयुद्ध समाप्त गर्न विशेष भूमिका निर्वाह गरेको श्रेय दिने गरिन्छ।

पोडुजना पेरामुना (एसएलपिपी) पार्टीको तर्फबाट उम्मेदवार रहेका राजापाक्षेले तमिल विद्रोह अन्त्य गर्न खेलेको भूमिकाका कारण उनी राष्ट्रिय सुरक्षाको मामिलामा बलियो व्यक्ति रहेको बुझाई सिन्हाला समुदायको रहेको छ।

मत गणनाको सुरुदेखि नै अग्रता लिएका राजापाक्षेले निर्वाचन जित्ने निश्चित भएपछि निर्वाचनको औपचारिक मत परिणाम घोषणा हुनुअघि नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिएका थिए।

प्रकाशित: २ मंसिर २०७६ ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App