११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाँच विधाका नोबेल पुरस्कार विजेताको नाम घोषणा

स्वीडेन – विभिन्न पाँच विधामा यस वर्षको नोबेल पुरस्कार विजेताको नाम सार्वजनिक गरिएको छ। जसअनुसार भौतिकशास्त्रतर्फको सन् २०१९ को नोबेल पुरस्कार दुई स्वीस वैज्ञानिक र एक क्यानेडेली–अमेरिकी वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गर्ने घोषणा गरिएको छ।

ब्रह्माण्डका विषयमा महत्वपूर्ण तथ्य पत्ता लगाउने क्यानेडाली–अमेरिकी जेम्स पिबल्ससँगै स्वीट्जरल्यान्डका माइकल मेयर र डिडे क्वेलो यस वर्षका भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार विजेता भएको घोषणा गत साता स्टकहोममा आयोजित समारोहमा घोषणा गरिएको थियो।

‘दुवै स्वीस वैज्ञानिकले खगोल विज्ञानमा अद्भूत योगदान गरेका थिए। उनीहरुले वर्तमान सौर्यमण्डल बाहिर पनि अर्को ग्रह रहेको पहिलोपटक पत्ता लगाएका थिए। यो ग्रहको नाम ५१ पेगासी–बी राखिएको छ,’ समाचार एजेन्सी एपीले उल्लेख गरेको छ।

त्यसैगरी, सन् २०१९ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दुईजना अमेरिकी र एकजना बेलायती वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिएको छ।उनीहरुलाई मानव शरीरका कोषहरुले कसरी महसुस गर्छन् र अक्सिजनको उपलब्धता कसरी स्वीकार गर्छन् भन्ने खोज एवं अनुसन्धान गरेबापत उक्त पुरस्कार दिइएको हो। रक्त अल्पता, क्यान्सर र अरु प्राणघातक रोगहरुसँग लड्न नयाँ खोजले सघाउने नोबेल समितिले जनाएको छ।

यो पुरस्कार प्राप्त गर्नेहरुमा हार्वर्ड विश्वविद्यालयका डाक्टर विलियम जी काइलिन जुनियर, जोन्स हप्किन्स विश्वविद्यालयका ग्रेग एल सेमेन्जा र बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका पिटर जे राचक्लिफ रहेका छन्। सन् १९०१ यता यो पुरस्कार ११० औं पटक प्रदान गर्न लागिएको हो। त्यसैगरी रोयल स्वीडिस एकेडेमी अफ साइन्सेस्ले यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार पनि तीनजना वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ।

पुरस्कार संयुक्त राज्य अमेरिकाको टेक्सास विश्वविद्यालयका जोन बी गुडइनफ, बिङघामटन विश्वविद्यालयका एम स्टान्ले ह्विट्टिङघम र जापानको नागोयास्थित मेइजो विश्वविद्यालय र टोकियोस्थित असाही कासेई कर्पोरेसनमा कार्यरत अकिरा योसिनोलाई प्रदान गरिने भएको छ। उनीहरुलाई ‘लिथियम–आयन’ ब्याट्रीको विकास गरेबापत नोबेल पुरस्कार दिन लागिएको हो।

साहित्यतर्फ दुई वर्षको नोबेल पुरस्कार एकै पटक
त्यसैगरी गत वर्ष स्थगित साहित्यतर्फको नोबेल पुरस्कारसहित यस वषको नोबेल पुरस्कार विजेताको नाम पनि घोषणा गरिएको छ।

आफ्नो पुस्ताको नेतृत्वदायी उपन्यासकार भनेर चिनिने पोलिस लेखक ओल्गा तोकाचुकलाई सन् २०१८ को पुरस्कार प्रदान गर्न लागिएको हो भने अस्ट्रियन नाट्यकार पिटर हान्कलाई यस वर्षको साहित्यतर्फको नोबल पुरस्कार प्रदान गरिने भएको हो।

पुरस्कार प्रदान गर्ने स्वीडिस एकेडेमीमा भएको एउटा आर्थिक र यौन उत्पीडनसम्बन्धी विवादका कारण साहित्यतर्फको नोबेल पुरस्कार यस वर्षसम्मका लागि स्थगित गरिएको थियो। एकेडेमीकी एक सदस्य कट्रिना फ्रास्टेसनका पति ज्याँ क्लाँ अर्नाविरुद्ध यौन उत्पीडनको आरोप लागेपछि गत वर्षको साहित्यतर्फको नोबेल पुरस्कार स्थगित गरिएको थियो। बलात्कारको सो अभियोगमा दोषी प्रमाणित भएपछि उनलाई दुई वर्षको जेल सजाय सुनाइएको थियो।

नोबेल शान्ति पुरस्कार इथियोपियाली प्रधानमन्त्रीलाई
यसैबीच सन् २०१९ को नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीलाई प्रदान गरिने भएको छ। ‘शान्ति प्राप्ति र अन्तर्राष्ट्रिय सहकार्य’ जुटाउन उनले गरेको प्रयत्नका लागि यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको हो।

सन् १९९८ देखि २००० सम्म चलेको सीमा युद्धपछि २० वर्ष लामो सैनिक गतिरोध अन्त्य गर्दै इथियोपिया र इरिट्रियाबीच गत वर्ष शान्ति सम्झौता गराउन आबी अहमद अलीको महत्वपूर्ण भूमिका रहेको भन्दै उनलाई पुरस्कार दिने घोषणा गरिएको हो। ओस्लोमा सयौंं नोबेल शान्ति पुरस्कार विजेताका रूपमा आबी अहमदको नाम घोषणा गरिएको थियो।

यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि ७८ वटा संघसंस्था र दुईसय २३ व्यक्तिसहित तीन सय एकको मनोनयन परेको थियो। पुरस्कारस्वरूप आउँदो डिसेम्बरमा ओस्लोमा विजेतालाई करिब नौ लाख अमेरिकी डलरको पुरस्कार प्रदान गरिनेछ। आर्थिक विज्ञानका लागि यस वर्षको नोबेल पुरस्कारको विजेताको नाम भने आउँदो सोमबारमात्रै घोषणा गरिने बताइएको छ।

 भौतिकशास्त्र
माइकल मेयर, डिडे क्वेलो र जेम्स पिबल्स।
रसायनशास्त्र
अकिरा योसिनो, एम स्टान्ले ह्विट्टिङघम र जोन बी गुडइनफ

चिकित्साशास्त्र
पिटर जे राचक्लिफ, विलियम जी काइलिन जुनियर र ग्रेग एल सेमेन्जा
साहित्य
पिटर हान्क र ओल्गा तोकाचुक
शान्ति
आबी अहमद अली

प्रकाशित: २६ आश्विन २०७६ ०३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App