२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रदर्शनपछि मेट्रोमा प्रहरीको खानतलासी

हङकङमा शनिबार आयोजित सरकार विरोधी प्रदर्शनका सहभागी। तस्बिर ः एजेन्सी

हङकङ - सरकारी प्रतिबन्धको वेवास्ता गर्दै लाखौंले प्रदर्शन गरेपछि हङकङ प्रहरीले शंकास्पद प्रदर्शनकारीसँग हिंस्रक रूपमा सामना गरेको छ।   प्रहरीले हङकङको मेट्रो प्रणालीको रेलमा डण्डा र खुर्सानीको धुलोद्वारा सर्वसाधारणमाथि आक्रमण गरेका तस्बिर सार्वजनिक भएका छन्। 

‘अतिवादी प्रदर्शनकारी’ले हिंसा फैलाएपछि सर्वसाधारणले आफूहरुलाई बोलाएका कारण सो क्षेत्रमा पुगेको प्रहरीले दाबी गरेको छ।  यद्यपि मेट्रो प्रणालीमा घाइते भएका र पक्राउ परेका सबै प्रदर्शनमा संलग्न हुन् वा हैनन् भन्ने विषय भने प्रष्ट नभइसकेको बिबिसीले उल्लेख गरेको छ। 

बेइजिङले चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा पूर्ण प्रजातान्त्रिक निर्वाचनलाई प्रतिबन्ध लगाएको पाँच वर्ष पुगेको दिनको विरोध गर्नका लागि शनिबारको प्रदर्शन भएको थियो।   शनिबारको प्रदर्शनका क्रममा आक्रोशित प्रदर्शनकारीले दंगा प्रहरीलाई लक्षित गर्दै पेट्रोल बम प्रहार गरेका थिए भने ठाउँठाउँमा आगजनीसमेत गरेका थिए।  उनीहरुले सहरको संसद् भवनमा समेत आक्रमण गर्न थालेपछि प्रहरीले त्यसको प्रतिक्रियास्वरुप भीडलाई तितरवितर पार्नका लागि अश्रुग्यास, रबरका गोली र पानीको फोहोरा प्रहार गरेको थियो।  आक्रोशित भीडलाई पन्छ्याउनका लागि प्रहरीले चेतावनीस्वरुप गोलीसमेत हानेको बताइएको छ। 

कैयौं लोकतन्त्रवादी अभियन्ता र सांसदहरु पक्राउ परेको एक दिनपछि शनिबार चीनको विशेष प्रशासनिक केन्द्र हङकङमा विशाल प्रदर्शन आयोजना भएको थियो।  शुक्रबारै हङकङका प्रमुख प्रजातन्त्रवादी अभियन्ता र सांसदहरु पक्राउ परेका थिए।  सरकारले मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्ने व्यवस्थासहितको विधेयक ल्याउने तयारी गरेपछि हङकङमा प्रदर्शन सुरु भएको थियो।  विधेयकले हङकङको न्यायिक स्वतन्त्रतालाई निस्तेज गर्ने र चिनियाँ सरकारको विरोध गर्नेविरुद्ध विधेयकलक्षित हुनसक्ने भन्दै प्रदर्शन सुरु भएको थियो। 

कैयौं साताको विरोध प्रदर्शनपछि हङकङ सरकारले तत्कालका लागि सो विधेयक स्थगित गरिएको घोषणा गरेको थियो।  यद्यपि प्रदर्शनकारीले भने विधेयक स्थगन नभई पूर्ण रूपमा खारेज हुनुपर्ने भन्दै प्रदर्शनलाई जारी राखेका छन्।  प्रदर्शन जारी रहेपछि हङकङकी प्रमुख कार्यकारी क्यारी लामले माफीसमेत मागेकी थिइन्।  तर पछिल्लो समयको प्रदर्शन हङकङमा बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित हुन थालेको छ।  यति मात्रै नभई प्रदर्शनकारीले हङकङकी नेत्री लामको राजीनामाको मागसमेत गर्दै आएका छन्। 

एसियाली हब हङकङमा भइरहेको पछिल्लो प्रदर्शन स्वतन्त्रता र स्वायत्तताको मागतर्फ अघि बढिरहेको छ।  कुनैबेला बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महŒवपूर्ण अंगका रूपमा रहेको छ।  यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ।  विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ।  हङकङमा १३ सातादेखि लगातार प्रदर्शन भइरहेको छ। 

१३औं सप्ताहन्तको प्रदर्शनका दिन शनिबार लोकतन्त्र पक्षधरले ‘हङकङ सँगसँगै’ र ‘स्वतन्त्रताको लडाइँ’ जस्ता नारा लगाएको बिबिसीले उल्लेख गरेको छ। पानी परिरहेकै बेला शनिबार प्रदर्शन भएको थियो।  प्रदर्शनकारीले छाता बोकेका थिए र मुखमा मास्क पनि लगाएका थिए।  शनिबारको प्रदर्शन विशेषगरी वान चाई जिल्लामा भएको थियो भने अन्य प्रदर्शनकारीले कजवे बे सपिङ जिल्लामा पनि प्रदर्शन गरेका थिए। 

शनिबारको प्रदर्शन विशेषतः सरकारी कार्यालय बाहिर आयोजना गरिएको थियो।  प्रदर्शनकारीले चीनको जनमुक्ति सेनाको स्थानीय मुख्यालय र सहरको संसद् बाहिर प्रदर्शन गरेका थिए।

प्रकाशित: १६ भाद्र २०७६ ०३:२१ सोमबार

प्रदर्शन खानतलासी