१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानी तेल ट्यांकर गन्तव्यतर्फ प्रस्थान, अमेरिकी माग अस्वीकार

जिब्राल्टर – नियन्त्रणमा लिएपछि कूटनीतिक विवादको केन्द्रमा परेको इरानी तेल ट्यांकर जिब्राल्टरले छाडेको छ। बेलायती उपनिवेश जिब्राल्टरले आफूलाई सो तेल ट्यांकर सुपुर्दगी गर्न अमेरिकाले गरेको अनुरोधलाई पनि अस्वीकार गरेको छ।

म्यारिन ट्राफिकका अनुसार जिब्राल्टरको तटीय इलाकाबाट गत जुलाई ४ मा नियन्त्रणमा लिइएको सो इरानी सुपर–ट्यांकरलाई आइतबार साँझ छाडिएको थियो। सो ट्यांकर दक्षिणतर्फ प्रस्थान गरेको थियो।

जिब्राल्टरका सरकारी अधिकारीले सो ट्यांकरको गन्तव्यका बारेमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन्। ‘ग्रेस वान’ नाम दिइएको सामुद्रिक तेल ट्यांकरलाई युरोपेली संघका प्रतिबन्ध उल्लंघन गरी सिरियातर्फ इन्धन लगेको आशंकामा जिब्राल्टरले नियन्त्रणमा लिएको थियो। जिब्राल्टरको सो कदमपछि बेलायत र इरानबीचको सम्बन्धमा गतिरोध आएको थियो। इरानले पटकपटक आफूले कुनै नियम उल्लंघन नगरेको दाबी गर्दै आएको थियो।

जिब्राल्टरको सर्वोच्च अदालतले गत बिहीबार तेल ट्यांकर छाड्न आदेश दिएको थियो। अदालतको आदेश लगत्तै इरानले नयाँ चालक दल जिब्राल्टर पठाएको थियो। हाल यस भिमकाय तेल ट्यांकरको नाम एड्रियन दरया राखिएको छ। यस ट्यांकरमा २१ लाख ब्यारेल तेल रहेको छ।
शुक्रबारनै अमेरिकी न्याय विभागले सो ट्यांकर नियन्त्रणमा लिन आदेश जारी गरेको थियो। अमेरिकाले सो ट्यांकरबाट इरानी तेल लुकिछिपी सिरियातर्फ लैजान खोजिएको आरोप लगाएको छ।

जिब्राल्टर सरकारले अमेरिकी अनुरोधलाई अस्वीकार गरेको थियो। युरोपेली संघभित्र इरानमाथिका अमेरिकी प्रतिबन्ध लागू नहुने जिब्राल्टर अदालतको आदेशमा उल्लेख छ। म्यारिन ट्राफिकका अनुसार सो ट्यांकर ग्रिसको कालामाटातर्फ प्रस्थान गरेको छ। ट्यांकर छाड्नुअघि इरानले युरोपेली संघका प्रतिबन्ध भएका मुलुकमा इरानी ट्यांकर नपठाउने लिखित प्रतिबद्धता जिब्राल्टर सरकार समक्ष व्यक्त गरेको थियो। जिब्राल्टरको कदमको विरोधमा इरानले बेलायती ध्वजावाहक स्टेना इम्पेरो नामको तेल ट्यांकर कब्जामा लिएको थियो।

प्रकाशित: ३ भाद्र २०७६ ०२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App