८ असार २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बारुदी सुरुङ बिस्फोट, ७ बालबालिकाको मृत्यु

दमास्कस – सिरियाको पूर्वी क्षेत्रमा बारुदी सुरुङ बिस्फोट हुँदा मंगलबार कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले जनाएको छ।

डायर अल–जउर प्रान्तको पूर्वमा रहेको डब्लान नगरमा उक्त घटना भएको हो। टेलिभिजनले सुरक्षा स्रोतलाई उद्धृत गर्दै उक्त बारुदी सुरुङ आतंकवादी संगठन इस्लामिक स्टेटले बेबारिसे अवस्थामा छाडेको जनाएको छ। इस्लामिक स्टेट समूह परास्त भएका सिरियाका धेरै भूभागमा बेबारिसे बारुदी सुरुङ, ग्रिनेड र बम भेटिने गरेका छन्।

यी बिस्फोटक पदार्थमा परेर सर्वसाधारणको नियमित झैं ज्यान गइरहेका खबर दिनहुँ आउने गरेको पनि टेलिभिजनले उल्लेख गरेको छ। गत अप्रिल ११ मा दक्षिणी सिरियामा जमिनमा बिछ्याइएको बारुदी सुरुङ पड्किएर तीन जना बालबालिकाको मृत्यु हुनुका साथै अर्का एक बालक घाइते भएका थिए। गत मार्च ६ र फेब्रुअरी २४ मा पनि बारुदी सुरुङ बिस्फोटबाट ३३ जनाको ज्यान गएको थियो। रासस

प्रकाशित: २५ असार २०७६ ०७:३० बुधबार

बारुदी_सुरुङ बिस्फोट