तेहरान– वर्तमान राजनीतिक अवस्थामा संयुक्त राज्य अमेरिकासँग वार्ता हुनसक्ने सम्भावना नरहेको इरानका राष्ट्रपति हसन रौहानीले बताएका छन्।
तस्निम समाचार एजेन्सीले राष्ट्रपति रौहानीलाई उद्धृत गर्दै मंगलबार जनाएअनुसार अमेरिकासँगको विवादास्पद विषयमा इरानी कूटनीतिक पहल भने जारी रहेको छ।
समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको भए पनि अमेरिकासँग यही अवस्थामा वार्ता गर्ने पक्षमा इरान नरहेको राष्ट्रपति रौहानीले बताएका छन्। ‘आजको वातावरण वार्ताका लागि अनुकुल छैन। अहिलेको अवस्थामा हाम्रो स्थिति प्रतिरोधी र दृढ रहने छ,’ राष्ट्रपति रौहानीलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। ‘सम्पूर्ण इरानी जनताबीचको एकता र धैर्यताले समिश्रण प्रयोग गर्दै वासिङ्टनका कारण सिर्जना भएको मुलुकमा आर्थिक चुनौतीलाई परास्त गर्नुपर्छ,’ उनले बताएका छन्। गत साता इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले पनि विवादास्पद विषयमा तत्काल अमेरिकासँग वार्ता नहुने बताएका थिए।
मध्यपूर्वमा रहेको अमेरिकी स्वार्थमाथि इरानले आक्रमण गरे उसले ठूलो क्षति बेहोर्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार चेतावनी दिएका छन्।
इरानको आणविक कार्यक्रम रोक्ने र उसविरुद्ध लागेको अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा गर्ने उद्देश्यसहित विश्वका छ शक्तिशाली राष्ट्र संयुक्त राज्य अमेरिका, चीन, रुस, बेलायत, फ्रान्स तथा जर्मनी र इरानबीच सन् २०१५ मा आणविक सम्झौता भएको थियो। अमेरिकाका तर्फबाट तत्कालीन राष्ट्रपति बाराक ओबामाले सो सम्झौतामा हस्ताक्षर गरेका थिए। तर सुरुदेखि नै सो सम्झौताको विरोध गर्दै आएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षअघि सो सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरेका थिए। राष्ट्रपति ट्रम्पले सन् २०१५ को सो सम्झौता धोखा भएको भन्दै नयाँ सम्झौतामा जोड दिँदै आएका छन्। सन् २०१५ को सो सम्झौताअनुसार इरानले आफ्नो युरेनियम प्रशोधनको कार्यलाई रोक्ने र त्यसको बदलामा उसविरुद्ध लागेको प्रतिबन्ध हटाउने विषय समावेश गरिएको थियो।
अमेरिका सम्झौताबाट बाहिरिए पनि अन्य राष्ट्रहरु भने सो सम्झौतामा नै अडिग रहेको बताउँदै आएका छन्। उनीहरुले पुरानै सम्झौतालाई जोगाउनु पर्ने बताउँदै आएका छन्।
इरानले भने सन् २०१५ को आणविक सम्झौताका केही बुँदा वा पक्षलाई आफूले तोडेको घोषणा गरिसकेको अवस्था छ।
आणविक सम्झौताबाट बाहिरिएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध पुनः प्रतिबन्धको घोषणा गरेका थिए। इरानले गर्दै आएको तेल निर्यातलाई शून्यमा पु-याउनु अमेरिकी प्रतिबन्धको प्रमुख उद्देश्य रहेको बताइएको छ। वासिङ्टले इरानलाई नयाँ सम्झौताका लागि बाध्य बनाउन पनि प्रतिबन्धको सहारा लिइरहेको बताइएको छ। इरानले सीमामा हुने हतियार व्यापार नियन्त्रण गरोस् भन्ने अमेरिकी इच्छा रहेको छ भने उसको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई पनि अमेरिकाले लक्षित गर्ने गरेको छ। उसले इरानको हतियारप्रतिको मोहका कारण मध्यपूर्वमा सुरक्षा चुनौती बढेको आरोप लगाउँदै आएको छ।
यसैबीच मध्यपूर्वमा रहेको अमेरिकी स्वार्थमाथि इरानले आक्रमण गरे उसले ठूलो क्षति बेहोर्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार चेतावनी दिएका छन्। उनले आइतबार इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावास नजिक रहेको ‘ग्रिन जोन’मा गराइएको आक्रमण इरानसँग सम्बन्धित लडाकु समूहको संलग्नता रहेको आशंका पनि गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। ‘यदि इरानले केही ग-यो भने मलाई लाग्छ उसको त्यो सबैभन्दा ठूलो भूल हुनेछ,’ राष्ट्रपति ट्रम्पले सोमबार पत्रकारहरुसँग बताएका छन्। ‘यदि उनीहरुले मध्यपूर्वमा रहेको अमेरिकी स्वार्थमा आक्रमण गर्न खोजे ठूलो मूल्य चुकाउनुपर्नेछ,’ उनले बताए।
प्रकाशित: ८ जेष्ठ २०७६ ०६:५० बुधबार