१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाँचौ कार्यकालका लागि नेतान्याहू विजयी

जेरुसेलम- इजरायलमा सम्पन्न आमनिर्वाचनमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पाँचौं कार्यकालका लागि विजयी भएका छन्। पाँचौं पटक पनि जित हासिल गर्दै रकेर्ड कायम गरेका नेतान्याहू दक्षिपन्थी गठबन्धनबाट विजयी भएको बिबिसीले जनाएको छ। पूर्व सेना प्रमुख बेन्नी गान्टजको मध्यपन्थी ब्लू र गोरा गठबन्धन र नेतान्याहूको लिकुड पार्टीले बराबर सिट संख्या जितेको बताइएको छ।

यद्यपि नेतान्याहूको लिकुड दल र दक्षिणपन्थी गठबन्धनको सिट संख्या जोड्दा कुल एक सय २० सिट रहेको इजरायलको संसद्मा ६५ सिट जितेको बताइएको छ। यसअघि चार कार्यकाल इजरायलको प्रधानमन्त्री पद सम्हालिसकेका ६९ वर्षीय नेतान्याहूलाई भ्रष्टाचारको आरोप लाग्ने गरेको छ। यद्यपि पछिल्लो निर्वाचनको मतपरिणामअनुसार यसै वर्षको अन्त्यसम्म उनी इजरायलकै इतिहासमा लामो समय शक्तिमा रहने प्रधानमन्त्री बन्ने छन्। यसअघि इजरायलका संस्थापक पिता डेभिड बेन–गुरिअन देशको शक्तिमा लामो समय रहने नेता थिए। मंगलबार सम्पन्न मतदानपछिको एक्जिट पोलअनुसार नेतान्याहू र ब्लू र गोरा नेता बेन्नी गान्टज दुवैले स्पष्ट बहुमत नल्याउने प्रक्षेपण गरिएको थियो भने दुवै नेताले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका थिए।‘दक्षिणपन्थी गठबन्धनको सरकार बने पनि म सबैको प्रधानमन्त्री बन्ने छु,’ नतिजा बाहिरिपछि खुसीयाली मनाइरहेका समर्थकबीच नेतान्याहूले भने।

‘इजरायलका जनताले यसअघिका भन्दा बढी मत दिएर पाँचौं कार्यकालका लागि मलाई जिताएको विषयले निकै नै छोएको छ,’ उनले बताए। ‘म दक्षिणपन्थी, वामपन्थी, युहदी वा गैर यहुदी सबै इजरायली नागरिकको प्रधानमन्त्री बन्न चाहन्छु। सबै इजरायलका नागरिक हुन्,’ जितपछि नेतान्याहूले आफ्ना समर्थकबीच बताए। एक सय २० सिट रहेको इजरायली संसद्मा हाल सम्म इतिहासमै कुनै पनि दलले बहुमत ल्याउन सकेको छैन र सधैं गठबन्धन सरकार बन्ने गरेको छ।

प्रकाशित: २८ चैत्र २०७५ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App