१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विकल्प रोज्न संसदमा मतदान

लन्डन – युरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमन ‘ब्रेक्जिट’ प्रक्रियालाई निकास दिनेबारे सोमबार बेलायतको तल्लो सदन ‘हाउस अफ कमन्स’मा मतदान भएको छ। ब्रेक्जिट प्रक्रियाको नियन्त्रण सदनको मातहत रहनेगरी सो मतदान भएको बिबिसीले उल्लेख गरेको छ। 

सोमबार भएको मतदानमा अनपेक्षित रूपमा सरकार २७ मतले पराजित भएको थियो भने सरकारको पक्षमा मात्र ३०२ मत र विपक्षमा ३२९ मत परेका थियो। संसद्मा सोमबार भएको निर्वाचनपछि सरकार पराजित भएपछि सांसदहरुले ब्रेक्जिटको विकल्पमा बहुमत खोज्नेगरी अगाडि बढ्ने मार्ग प्रशस्त भएको बिबिसीले उल्लेख गरेको छ। कस्तो किसिमको ब्रेक्जिटलाई समर्थन गर्ने भनेर बुधबार बेलायतको संसद्मा चरणबद्ध मतदान हुने बताइएको छ। 

प्रधानमन्त्री थेरेसा मेले भने सांसदहरूले गर्ने निर्णय आफूले मान्ने सुनिश्चित नभएको बताएकी छन्। सांसद्हरूलाई देशको तल्लो सदन ‘हाउस अफ कमन्स’को अजेन्डामाथि नियन्त्रण गर्न दिँदा अप्रिय स्थिति उत्पन्न हुने र नयाँ प्रक्रियाबाट प्रजातान्त्रिक संस्थामा असन्तुलन हुने नजिर बस्न सक्ने उनको तर्क छ। सोमबार मतदान हुनुअघि उनले संसद्मा तेस्रो मतदानमा लागि जानेगरी सम्झौताको पक्षमा मत नरहेको स्वीकारेकी थिइन्। ‘म अझै पनि के कुरामा विश्वस्त छु भने बेलायतको लागि सही बाटो भनेको यथासक्य चाँडो अर्थात् अहिलेका लागि मे २२ का दिन सम्झौतासहित इयू छाड्नु हुनेछ,’ उनले आफ्नो पुरानै अडान दोहोर्याउँदै भनेकी थिइन्। 

सोमबारको मतदानमा सहभागी हुनकै लागि तीन बेलायती मन्त्रीले पदत्याग गरेका थिए। यस्तो संशोधन प्रस्ताव सत्तारूढ कन्जर्भेटिभ पार्टीकै सांसद सर ओलिभर लेट्विनले संसद्मा दर्ता गराएका थिए। उनकै पार्टीका केही सांसदले पनि यसको पक्षमा मतदान गरेका थिए।

प्रस्तावको समर्थन गरेका विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले यस प्रक्रियालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। ‘सांसदहरू निर्वाचन जितेर आएको सरकारलाई उत्तरदायी बनाउन नै हो। संसद्को अस्तित्व पनि त्यसकै लागि हो,’ विपक्षी नेता कोर्बिनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। ब्रेक्जिट प्रक्रियामा भइरहेको असफलताले ‘राष्ट्रिय लज्जा’ सिर्जना गरेको बताएका उनको सरकार असफल भएको भन्दै सदनले निकास दिने जिकिर गरेका छन्। 

यसैबीच आफ्नै दलका सांसदले आफ्नो योजनाविरुद्ध संसद्लाई शक्तिशाली बनाउने खालको प्रस्ताव ल्याउँदै सरकारलाई पराजित गरेपछि प्रधानमन्त्री मेले बुधबार कन्जरभेटिभ दलका सांसदहरुलाई सम्बोधन गर्ने भएकी छन्। 

बुधबारको सम्बोधनमा उनले संसद्द्वारा दुईपटक अस्वीकृत भएको आफ्नो ब्रेक्जिट सम्झौता प्रस्तावलाई पारित गराउन दबाब दिनका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिने मिति घोषणासमेत गर्न सक्ने अनुमान गरिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। 

नाम उल्लेख नगर्ने शर्तमा एक कन्जरभेटिभ सांसदले रोयटर्सलाई बताएअनुसार बुधबारको सम्बोधनमा प्रधानमन्त्री मेले सम्भवतः राजीनामाको मिति घोषणा गर्न सक्ने छिन्। ‘द सन न्युजपेपर’ का राजनीतिक सम्पादकले पनि मेले प्रधानमन्त्री पद त्याग्ने मितिबारे बैकठमा घोषणा गर्न सक्ने बताएका छन्। 

इयूबाट हट्नेबारे जनमतसंग्रह भएको लगभग तीनवर्षपछि र बेलायतले इयू छोड्नका लागि तय भएको मिति सकिन चार दिन मात्र बाँकी भएको अवस्थामा पनि ब्रेक्जिट कसरी हुन्छ भन्नेबार अझै प्रष्ट भएको छैन। बेलायती संसद् र राज्य एकअर्कामा विभाजित भएका छन्। 

 

प्रकाशित: १३ चैत्र २०७५ ०२:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App