११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भिडियो गेमको व्यापार ४४ अर्ब डलर

सान फ्रान्सिस्को – संयुक्त राज्य अमेरिकामा भिडियो गेम उद्योगबाट सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ। यो कारोबार हालका वर्षकै सबैभन्दा उच्च हो। ‘फोर्टनाइट,’ ‘पोकेमोन गो’ समेतका लोकप्रिय भिडियो गेमको व्यापारबाट अमेरिकामा अर्बौं डलरको कारोबार भएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

इन्टरटेनमेन्ट सफ्टवेयर एसोसिएसन (इएसए) र बजार अनुसन्धाता एनपिडी समूहका अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा अमेरिकी गेमिङ उद्योगमा उपभोक्ताले गर्ने खर्चमा १८ प्रतिशतले वृद्धि भएको छ। ‘मोबाइलमा होस् वा घरका कम्प्युटरमा सबै उमेर समूहका उपभोक्ताले भर्चुअल खेल निकै मन पराएको पाइयो,’ एनपिडीका विश्लेषक म्याट पिस्काटेल्लालाई उद्धृत गर्दै एएफपीले जनाएको छ।

इएसए र एनपीडीका अनुसार अमेरिकामा भिडियो खेलका लागि आवश्यक विद्युतीय हार्डवेयरको बिक्रीमा पनि निकै सुधार आएको छ। अघिल्लो वर्ष करिब ६ दशमलव ५ अर्ब अमेरिकी डलरको हार्डवेयर बिक्री भएकामा गत वर्ष ७ दशमलव ५ अर्ब अमेरिकी डलरको सामान बिक्री भएको छ। गत वर्ष पश्चिमा मुलुकको काउब्वाई संस्कृति झल्कने भिडियो खेल ‘रेड डेड रिडेम्पसन २’ को बिक्री सर्वाधिक भएको थियो। दोस्रो र तेस्रो स्थानमा क्रमशः ‘ब्याक अप्स ४’ र ‘कल अफ ड्युटी’ रहेका थिए।

इएसएका कार्यवाहक अध्यक्ष स्टान्ले पियर–लुइसले अन्तरक्रियात्मक मनोरञ्जनयुक्त सामग्री अमेरिकी बजारमा खुबै लोकप्रिय भइरहेको बताए। अमेरिकामा करिब १५ करोड मानिसले भिडियो गेम खेल्छन्। यस उद्योगमार्फत् दुई लाख २० हजारभन्दा बढीले रोजगारी पाएका छन्।

प्रकाशित: १० माघ २०७५ ०६:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App